नुवाकोट – खानेपानी तथा सरसफाइ डिभिजन नं. ६ को कार्यालय नुवाकोटमा पुनर्स्थापना भएको छ ।
आईतबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले एक कार्यक्रमकाबीच पुनर्स्थापना गरेका हुन् । राज्य पुनःसंरचना पश्चात् गाभिएका कार्यालयको कार्यक्षेत्र धेरै हुँदा योजना तथा कार्यक्रम गुणस्तरीय हुन नसकेको महसुश गरी कार्यालय विस्तार गरिएको मुख्यमन्त्री लामाले बताए ।
प्रदेश सरकारको गत असोज १९ गतेको निर्णयअनुसार विगतमा डिभिजन नं. २ धादिङको कार्यक्षेत्रअन्तर्गत नुवाकोट र रसुवा रहेका थिए । हाल रसुवाको लागि विदुरमा कार्यालय स्थापना गरिएको डिभिजन प्रमुख दिलीपकुमार शाहले जानकारी दिए ।
कार्यालय पुनर्स्थापनासँगै नुवाकोट र रसुवाका लागि चालु आर्थिक वर्ष २०८१/०८२ देखि कार्यान्वयन गर्न लागिएका ३२ वटा योजना तथा कार्यक्रम, बजेट र कर्मचारी सुनिश्चित गरिएको प्रदेशको ऊर्जा तथा सिँचाइ सचिव मोहनकुमार शाक्यले जानकारी दिए । योजनाको लागि एक करोड ७५ लाख रुपैयाँ र प्रदेश सरकारबाट दुई सय २३ वटा योजनाका लागि २४ करोड ५६ लाख ६० हजार रुपैयाँ बजेटसहित डिभिजन कार्यालयलाई जिम्मेवारी हस्तान्तरण गरिएको उनले जानकारी दिए ।
रसुवाका लागि सङ्घीय सरकारबाट प्राप्त नौ वटा योजनाका लागि रु ५३ लाख र प्रदेश सरकारबाट ८९ वटा योजनाका लागि रु आठ करोड ४० लाख बजेट डिभिजन नं. ६ विदुरलाई जिम्मेवारीसहित हस्तान्तरण गरिएको छ ।
प्रतिक्रिया