नुवाकोट – नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कलाई आधार मान्दा गत असार मसान्तसम्म नेपालमा २८ लाख घरदुरीमा फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट जडान भएको छ । यो बजारलाई अझै विस्तार गर्नका लागि सेवाप्रदायकले यसपटको चाडपर्वका लागि लक्षित गर्र्दै निम्न अफरहरु सार्वजनिक गरेका छन् ।
वर्ल्डलिंकको ‘फेस्टिभ कार निभल’
हाल इन्टरनेट सेवाप्रदायकमध्ये सबैभन्दा बढी ग्राहक भएको सेवाप्रदाय वर्ल्डलिंक हो । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकलाई आधार मान्दा गत असारसम्म यसको कनेक्सन संख्या ९ लाख १८ हजार ७ सय ३३ छ । कम्पनीले नेपालमा फिक्स्ड ब्रोडब्याण्ड सेवामा ३२ प्रतिशत हिस्सा ओगटेको छ । यसर्थ यो कम्पनी नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवाप्रदायक हो । कम्पनीले यसपालीको दशैँ, तिहार र छठलाई लक्षित गर्दै फेस्टिभ कार निभल अफर सार्वजनिक गरेको छ ।
कम्पनीले उक्त अफरअन्तर्गत बम्पर प्राइजको रुपमा ३६ लाख रुपैयाँ पर्ने नामी ०१ इथ्री नामको विद्युतीय गाडी राखेको छ । यस्तै यसै अफर अन्तर्गत कम्पनीले २ सय एमबीपीएस इन्टरनेट ३ महिनाका लागि ३३ सय रुपैयाँमै उपलब्ध गराउने पनि जानकारी दिएको छ । यस्तै कमपनीले इन्टरनेटको प्याकेज खरिदमा बोट कम्पनीका इयरपड, स्पिकर र स्मार्टवाच ५३ प्रतिशत छुट र सामसंगका घरायसी उपकरणहरु ३९ प्रतिशत छुटमा उपलब्ध गराउने बताएको छ ।
‘डिसहोम खुसीको सेलिब्रेसन’
डिसमिडिया प्रालिको डिसहोम फाइबरनेट नेपालमा ग्राहकका हिसावले दोस्रो ठुलो इन्टरनेट सेवाप्रदायक कम्पनी हो । प्राधिकरणका अनुसार कम्पनीले हाल नेपालभर ३ लाख १९ हजार ६ सय कनेक्सन विस्तार गरेको छ । यसपल्टको चाडपर्वलाई लक्षित गरी कम्पनीले ‘डिसहोम खुसीको सेलिब्रेसन’ अफर सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गत कम्पनीले २ सय र ३ सय एमबीपीएस गतिको इन्टरनेट प्याकेज बार्षिक रुपमा खरिद गर्दा थप ३ महिना बोनस दिने बताएको छ ।
कम्पनीले यससँगै इन्टरनेट प्याकेज खरिद गरेका १२ जनालाई हरेक हप्ता लक्की ड्रमार्फत विभिन्न पुरस्कार पाउने पनि बताएको छ । जसमा हरेक हप्ता ३ जनालाई मिवी ब्राण्डको इयरपड, ४ जनालाई डीएचआइएका घरायसी सामग्री, २ जनालाई आइटेल स्मार्टफोन र ३ जनालार्य फोरकै स्ट्रीमर उपलब्ध गराउने बताएको छ । साथै कम्पनीले बम्पर प्राइजमा एक जनालाई डिएचआइको वासिङ मेसिन पनि उपलब्ध गराउने जानकारी दिएको छ ।
नेपाल टेलिकमको ‘बडा दशैंको बडा अफर’
यता फिक्स्ड ब्रोडब्याण्डतर्फ ग्राहकका आधारमा तेस्रो स्थानमा रहेको नेपाल टेलिकमले पनि फाईबर प्रयोगकर्ताका लागि चाडपर्व अफर सार्वजनिक गरेको छ । कम्पनीले असोज १३ देखि कार्तिक २३ गतेसम्म लागू हुनेगरी फाईबर इन्टरनेटमा बडा दशैंको बडा अफर सार्वजनिक गरेको हो । यसअन्तर्गत कम्पनीले नयाँ इन्टरनेट जडान गर्ने ग्राहकका लागि पुरानै मूल्यमा गति थपेर इन्टरनेट दिने बताएको छ । अर्थात हाल ५० एमबीपीएस गतिको इन्टरनेट दशैं अफरमा भने सोही मूल्यमा ७५ एमबीपीएस गतिको पाईने भएको छ ।
यस्तै कम्पनीका अनुसार ७५ एमबीपीएसको मूल्यमा १०० एमबीपीएस, १०० एमबीपीएसको मूल्यमा १२५ एमबीपीएस, १५० एमबीपीएसको मूल्यमा १७५ एमबीपीएस र २ सय एमबीपीएसको मूल्यमा २२५ एमबीपीएस गतिको इन्टरनेट दिईने कम्पनीले जानकारी दिएको छ । यसपल्ट ग्राहकले नयाँ टेलिकमको इन्टरनेट जोड्दा जडान शुल्क तिर्नुपर्ने छैन । कम्पनीले हाल देशभर ३ लाख १३ हजार ५ सय घरधुरीमा आफ्नो कनेक्सन पुर्याएको छ ।
सुबिसुको ‘दशैंको उपहार, सुबिसुसँग खुसीको बहार’
नेपालमा २ लाख ५० हजार कनेक्सनसहित चौथो ठुलो इन्टरनेट सेवाप्रदायक कम्पनी सुविसुले दशैं, तिहार र छठका लागि भन्दै ‘दशैंको उपहार, सुबिसुसँग खुसीको बहार’ योजना सार्वजनिक गरेको छ । कम्पनीले यसपल्टको चाडपर्वका लागि भन्दै फ्रेन्ड्स एण्ड फेमिली उपहार, अर्ली बर्ड्स उपहार र रिभरमा उपहार नै उपहार सार्वजनिक गरेको छ ।
जसअन्तर्गत २ सय एमबीपीएसको पैसामा ३ सय एमबीपीएसको इन्टरनेट जोड्न सकिने सुविधा राखिएको छ । यस्तै सुबिसुको अफर बुक गरेमा पहिलो १ सय जनालाई निशुल्क सरप्राइज गिफ्ट पनि दिने कम्पनीले जानकारी दिएको छ । यससँगै कम्पनीले अब कुनै ग्राहकले सेवा रिफर गरेमा १ महिना निशुल्क बोनस र ब्याण्डविथ बढाउने घोषणा गरेको छ ।
वेबसर्फरको ‘ह्याप्पी दशैं अफर’
नेपालको सातौ ठुलो इन्टरनेट सेवाप्रदायक कम्पनी वेबसर्फले चालु बर्षको चाडपर्वका लागि भन्दै ह्याप्पी दशैं अफर सार्वजनिक गरेको छ । कम्पनीले ७०, ८०, १००, २०० र ३०० एमबीपीएस गतिका इन्टरनेटमा ठुलो छुट दिनेगरी नयाँ अफर सार्वजनिक गरेको हो । जसअन्तर्गत कम्पनीले ७० एमबीपएिस गतिको इन्टरनेट प्रतिमहिना ५ सय ५५ रुपैयाँमै उपलब्ध गराउने अफर ल्याएको छ ।
यस्तै ८० एमबीपीएसलाई ६ सय ६६, १०० एमबीपीएसलाई ७ सय ७७ र २०० एमबीपीएस गतिको इन्टरनेटलाई ८ सय ८८ रुपैयाँमै उपलब्ध गराउने जानकारी दिएको छ । यस्तै कम्पनीले ३ सय एमबीपीएस गतिको इन्टरनेट प्याकेज प्रतिमहिना ९ सय ९९ रुपैयाँमा उपलब्ध गराउने बताएको छ । यी प्याकेजहरु कसैले १ बर्षकै लागि लिएको खण्डमा कम्पनीले २ हजार रुपैयाँ बराबरको आइपीटिभी सुविधा पनि उपलब्ध गराउने जानकारी दिएको छ । गत असारसम्म कम्पनीले नेपालभर १ लाख ३९ हजार कनेक्सन जोड्न सफल भएको नेपाल दूरसंचार प्राधिकरणले जानकारी दिएको छ ।
प्रतिक्रिया