विदुर – धार्मिक पर्यटकीयस्थल गोसाईँकुण्ड जाने वैकल्पिक पदमार्ग पुनःनिर्माण भएको छ । नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका समुन्द्रटारदेखि गोसाइँकुण्ड पुग्ने पदमार्ग पुननिर्माण गरिएको दुप्चेश्वर गाउँपालिका-६ का वडा अध्यक्ष किशोर आचार्यले जानकारी दिए ।
दोस्रो पशुपतिनाथ दुप्चेश्वर मन्दिर हुँदै सिसिपु, तालु, फेदी, सूर्यकुण्ड र दुधकुण्डको अवलोकन एवं स्नान गर्दै गोसाईँँकुण्ड पुग्न सकिन्छ । तालुबाट एकै दिन गोसाईँथान पुग्न सकिने यो छोटो मार्ग हो ।
दुप्चेश्वर महादेवको दर्शन गर्दै गोसाइँकुण्ड जाने वैकल्पिक पदमार्गमा धर्मालम्बीहरुको चहलपहल सुरू भएको छ । गत वर्षदेखि तालुबाट फेदीसम्मका जङ्गलमा ढुङ्गाको सिँढी निर्माण सुरु गरिएको थियो । अहिले सिँढी बनेसँगै अब गोसाइँकुण्ड आवतजावत गर्न पैदलमार्गीलाई सहज भएको वडा अध्यक्ष आचार्यले बताए ।
यात्रुको सत्कार, खाना एवं बासका लागि घरबास व्यवस्थापन तालिम पनि सञ्चालन गरिएको सहकार्य समाज नेपालका अध्यक्ष नीलकण्ठ आचार्यले बताए ।
अहिले घ्याङ्फेदी, सिसिपु र तालुमा आवास तथा खानाका लागि घरबास सञ्चालनमा रहेको समेत जनाइएको छ ।
प्रतिक्रिया