रसुवा – यस वर्षको जनैपूर्णिमामा धार्मिक पर्यटकीय क्षेत्र आमाछाेदिङमाे अर्थात् पार्वतीकुण्डमा मेला लाग्ने भएकाे छ । समुन्द्री सतहदेखि २ हजार ६ सय ९० मिटरकाे उचाईमा रहेकाे स्थानमा सदाको वर्ष झैँ यस वर्ष पनि मेला लाग्ने भएकाे हो ।
पार्वतिकुण्ड संरक्षण समितिका अध्यक्ष चेरसिंह तामाङकाअनुसार स्थानीय भाषामा पार्वतीकुण्डलाई आमाछाेदिङमाे भनिन्छ । यसकाे अर्थ पानी जमेकाे ताल हाे । कुण्डकै नामबाट गाउँपालिकाकाे नाम आमाछाेदिङमाे राखिएकाे छ ।
साविककाे गत्लाङ गाविस हाल आमाछाेदिङमाे गाउँपालिका वडा नम्बर ३ मा पर्ने उक्त कुण्डमा जनैपूर्णिमाकाे दिन प्रकृतिको पुजा गर्ने र धामीझाँक्रिहरू आफ्नो तन्त्रमन्त्र, कला देखाएर पुजा गर्ने गरेकाे गाउँपालिकाकी उपाध्यक्ष चण्डिका तामाङ बताउँछन् ।
पौराणिक कथन अनुसार भगवान शिवले कालकुट विष सेवन गरेर पानीको खोजीमा गोसाईकुण्ड जाँदा पार्वती महिनावारी भएपछि महादेवलाई हेर्न र छुन नहुने भएपछि पार्वती भगवान शिवलाई नदेखिने पहाडको फेदमा अहिलेको कुण्डमा विराजमान रहेको भन्ने कथन रहेको छ ।
पार्वतीकुण्डमा सन्तान नहुने वा अन्य कुनै व्यक्तिले आफ्नो समस्या सामाधान गर्नको लागि जनैपूर्णिमाको मेलामा लामा झाँक्रीको मन्त्रबाट पूजा गरी वर माग्यो भने पाइन्छ र पार्वतीकुण्डले दिन्छिन् भनिन्छ, तर त्यो व्यक्तिले जनैपूर्णिमा या फाँगुन पुर्णिमाको दिन छोज्या गर्नुपर्दछ । छोज्या भनेको तीर्थमा आउने तीर्थालुहरूलाई खाना खाजा खुवाउने कार्य भन्ने बुझिन्छ ।
पार्वतीकुण्डको सम्बन्ध भारतको हिमालचलको बुद्वागयको छोपेमाकु्ण्डसँग र गोसाइँकुण्डसँग धार्मिक सम्बन्धसँग जोडिएको बिश्वास रहेको छ ।

प्रतिक्रिया