नुवाकोट – तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारीले एकलौटी मनोमानी ढङ्गले पालिका चलाएको र आर्थिक अनियमितता बढेको भन्दै नेकपा एमाले र माओवादी केन्द्रले ध्यानाकर्षण गराएको छ ।
मंगलबार गाउँपालिका कार्यालय दानसिङ्ग पुगेका एमाले र माओवादीका नेताहरुले अध्यक्ष अधिकारीलाई १७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
एमाले तारकेश्वर गाउँ पार्टी कमिटीका कार्यबाहक अध्यक्ष टेकबहादुर तामाङ र माओवादी केन्द्र तारकेश्वर गाउँ पार्टी कमिटी अध्यक्ष सोमबहादुर तामाङको नेतृत्वमा नेता कार्यकर्ताहरुको उपस्थितीमा ध्यानाकर्षण पत्र बुझाइएको एमाले नेता रमेश वस्तीले जानकारी दिए ।
पालिकामा गठबन्धनमा माओवादी केन्द्रबाट निर्वाचित उपाध्यक्ष हरीप्रसाद रिमालले पनि अध्यक्षले गरेको बेतिथिको अगाडी टुलुटुलु हेरेर बस्न बाध्य भएको बताए ।
चालुआर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकाको सवारी मर्मत खर्च १९ लाख भएको, इन्धन खर्चबापत् २३ लाख खर्च भन्दै एमाले र माओवादीले गाउँपालिकामा आर्थिक बेतिथि बढेको आरोप लगाएका छन् । उपाध्यक्ष रिमाल नै अध्यक्षले दुःख दिएको बेतिथि निम्त्याएको बताएका छन् ।
अध्यक्ष अधिकारीको नाम लिँदै उनि निकट एक काँग्रेस कार्यकर्ताले गुठीको जग्गामा व्यक्तिगत संरचना बनेको र सो मिलाईदिने भन्दै तीन जनासँग एक/एक लाखको दरले बुझाएको अडियो सार्वजनिक भएको थियो ।
त्यस्तै, गाउँपालिकाले नयाँ बजेट बनाउँदा एमालेबाट निर्वाचित भएको वडामा वडा सञ्चालन खर्च आन्तरिक स्रोतबाट राखीएको र काँग्रेसबाट निर्वाचित वडाहरुमा सङ्घ तथा प्रदेश सरकारको स्रोतबाट राखिएको प्रति एमालेका वडाध्यक्षहरुले विरोध जनाएका छन् ।
प्रतिक्रिया