नुवाकोट – कृपाशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा ६५ लाखको लगानीमा उत्पादित कृपाधुन साबुन उद्योग सञ्चालनमा आएको छ ।
शनिबार एक कार्यक्रमकाबीच कृपाधुन साबुनको विधिवतरूपमा उत्पादनको उद्घाटन गर्दै राष्ट्रिय सहकारी सङ्घका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य डिबि बस्नेतले अहिलेको अवस्थामा सहकारीले उद्योग सञ्चालन गर्न धेरै नियमहरु विवादित छन्, यस्ता उद्योगहरुलाई स्थानीय सरकारको सहयोग अनिवार्य हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
विदुर नगरपालिका-६ का वडाध्यक्ष रामकृष्ण चालिसेले सहकारी उत्पादनसँग जोडिने हो भने युवा पलायन रोक्न सकिने बताए ।
नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले व्यापारीले गर्न नसकेको कार्य सहकारीले गरेको बताए ।
सहकारीका अध्यक्ष हस्तबहादुर राईले साबुन बोसोरहित र शुद्ध साकाहारी हुनुको साथै ग्रेड ‘ए’ मान्यता प्राप्त रहेको जानकारी दिए । सहकारीका अध्यक्ष राई स्वयम् साबुन उत्पादनको दक्ष प्राविधिक हुन् । अध्यक्ष राईले भने “बजारका साबुनभन्दा गुणस्तरीय रहेको छ । सहकारीको लगानीलाई आफु कटिबद्ध भएर लागेको छु ।”
सहकारीका सचिव नारायण नेपालले दैनिक उत्पादन चार टन क्षमता रहेकोमा सुरूवातमा साढे एक टन मात्रा उत्पादन गरिने बताए । उत्पादनलाई आवश्यक कच्चापदार्थ भारत देशबाट ल्याउनुपर्ने छ ।
उद्योगबाट १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । अहिले स्थानीय बजारको साथै कृषि र दुग्ध सहकारीका सदस्यहरूलाई लक्षित गरी बिक्रि गरिरहेको सहकारीका सचिव नेपालले बताए ।
विदुर नगरपालिका-६ मान्द्रेढुङ्गामा उद्योग रहेको साबुनको बजार खुद्रा थोक मूल्य प्रतिगोटा १५० ग्रामको ४० रूपैयाँ र २०० ग्रामको ५० रूपैयाँ रहेको छ । कार्टुन बाकस लिने उपभोक्ताले भने प्रतिगोटा ३० रूपैँया र ३९ रूपैँया पर्नेछ ।
प्रतिक्रिया