नुवाकोट – बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशका १० वटा सरकारी अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ ।प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा मंगलबार पौष ३ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको प्राविधिकसहित एक हजार ६६९ जना कर्मचारीहरूको संगठन संरचना स्वीकृतगर्दै हाल सञ्चालनमा रहेका प्रदेश अस्पतालहरूको स्तरोन्नति गर्ने निर्णय गरेको हो ।
त्रिशुली, धादिङ, सिन्धुली, बकुलर अस्पतालका १००/१०० श्यया स्तरोन्नति हुने भएको छ । हेटौडा र भक्तपुर अस्पतालमा ३००/३०० श्यया स्तरोन्नति हुने भएको छ । यस्तै, सिन्धुपाल्चोक, रामेछाप पशुपति चौलागाई र मेथिनकोट अस्पतालमा ५० श्यया स्तरोन्नति हुने भएको छ ।
बैठकले स्वास्थ्य मन्त्रालयतर्फको स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाको रिक्त दरबन्दी पदपूर्ति गर्न समेत प्रदेश लोकसेवा आयोगलाई अनुमति दिने निर्णय गरिएको छ । त्यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती सेवा नियमावली मस्यौदा परामर्शका लागि प्रदेश लोकसेवा आयोगमा पठाउन स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ ।
सोहि बैठकले प्रदेशको शैक्षिक विकासका लागि प्रदेश सार्वजनिक विश्वविद्यालय स्थापना गर्नका लागि संरचना तयार गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया