२०८०, १६ चैत्र शुक्रबार

संकटउन्मुख अर्थतन्त्र र नयाँ अर्थमन्त्री डा. महतका केही चुनौती

श्रीराम श्रेष्ठ     चैत्र २० २०७९ ०९:१९

shreeram shrestha prakash sharan mahat 2023 nepal finance minister
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

देशको अर्थतन्त्र संकटउन्मुख देखिएको छ । केही समययता अर्थतन्त्रका महत्वपूर्ण आँकडाहरू अपेक्षाकृत रुपमा सकारात्मक देखिन सकेका छैनन् । यसले देशको आर्थिक अवस्थालाई लिएर जनमानसमा चासो र चिन्ता उत्पन्न गराएको देखिन्छ । बैंकहरू पैसा नभएर मागअनुरूप ऋण दिने अवस्थामा छैनन् । विदेशी मुद्रा सञ्चिति करिव छ–सात महिनाको आयात धान्न सक्ने स्थितिमा आइपुगेको छ । देशमा आयातको अवस्था उच्च विन्दूमा पुगेको छ भने निर्यातको अवस्था न्युन जत्तिकै छ । विगतमा लगातार बढेको रेमिटेन्स आम्दानी पनि स्थिर रहँदै आएको देखिन्छ । कुनै कुनै महिना त रेमिटेन्स वृद्धिदर समेत घट्ने गरेको अवस्था छ । आर्थिक संकट समाधान गर्न केही महिना अघि सरकारले आयातमा कडाइ गरिएकाले पछिल्लो अवस्थामा विदेशी मुद्रा सञ्चिति बढेर झिनो आशा पलाएको अवस्था हो । तर व्यावसायिक र वित्तिय क्षेत्र अझै सुधार हुन सकेको छैन । भूकम्पबाट ओरालो लाग्न शुरु गरेको अर्थतन्त्र कोरोना महामारी र विगत एक वर्षदेखि चलिरहेको रुस र युक्रेन युद्ध जस्ता आन्तरिक तथा बाह्य परिस्थितिहरुका कारण नेपालको अर्थतन्त्र क्रमश संकटउन्मुख बन्दै गइरहेको विद्यमान अवस्था देखिन्छ । पछिल्लो केही महिना यताको वित्तीय अवस्थामा झिनो सुधार आएकाले केही राहत मिल्ने आँकलन गरिएपनि चिन्ताजनक अवस्था समाधान भइसकेको छैन ।

देशको अर्थतन्त्र संकटउन्मुख कै अवस्थामा विद्यमान छ ।

पछिल्लो पटक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्क हेर्दा अर्थतन्त्र लयमा फर्कने र अर्थतन्त्रले सकारात्मक बाटो लिने तर्फ अपेक्षा भने गरिएको छ । विदेशी विनिमय सञ्चिति रु १४ खर्ब नजिक पुगेको छ । व्यापार घाटा १८ दशमलव सात प्रतिशतले घटेको र ‘रेमिट्यान्स’ २७ दशमलव एक प्रतिशतले वृद्धि भएको छ । पुस मसान्तमा रू ९७ अर्ब १० करोड रहेको शोधनान्तर बचत माघ महिनामा मात्रै रु ३६ अर्ब ११ करोडले वृद्धि भएको छ । अमेरिकी डलरमा शोधनान्तर बचत रु १ अर्ब १ करोड छ । गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब तीन करोडले घाटामा थियो । शोधनान्तर स्थितिमा मात्रै नभई चालु आवमा चालु खाता घाटामा पनि उल्लेख्य सुधार भएको छ । गत आर्थिक वर्षको सात महिनामा चार खर्ब ११ अर्ब ३४ करोड रहेको शोधनान्तर घाटा चालु आवको सोही अवधिमा २९ अर्ब ६४ करोडले मात्रै घाटामा छ । माघमा मात्रै रु १ खर्ब ४ अर्ब रेमिट्यान्स भित्रिएको छ भने चालु आवको सात महिनामा ६ खर्ब ८९ अर्ब ८८ करोड रेमिट्यान्स भित्रिएको छ । आयातमा संकुचन र रेमिट्यान्स वृद्धि हुँदा बाह्य क्षेत्र निरन्तर सुधार हुँदै गएको हो । चालु आव २०७९/८० को सुरुको दुई महिना साउन र भदौमा घाटामा रहेको शोधनान्तर स्थिति असोजपछि भने लगातार बचतमा देखिन्छ । आर्थिक वर्षको सात महिना सकिँदा माघमा शोधनान्तर बचत १ खर्ब ३३ अर्ब २१ करोड पुगेको स्थिति छ । तर मुलुकको समग्र आर्थिक परिस्थिति मूल्याङ्कन गर्ने हो भने उत्साहजनक अवस्था अझै देखिंदैन । देशको अर्थतन्त्र संकटउन्मुख कै अवस्थामा विद्यमान छ । चालु आवको सात महिनामा नेपालले रु ९३ अर्ब ४३ करोड बराबरको वस्तु निर्यात गर्दै गर्दा सोही अवधिमा रु नौ खर्ब १९ अर्ब १७ करोड बराबरको वस्तु तथा सेवा आयात गरेको तथ्याङ्कबाट यो कुरा स्पष्ट देखिन्छ ।

आम निर्वाचन अघि देखिएको राजनीतिक अस्थिरताको निकास दिन निर्वाचन पछि बलियो सरकार गठन हुन नसक्दा पनि यसको असर अर्थतन्त्रमा परिरहेको छ । निर्वाचनमा कुनैपनि दलले बहुमत हासिल गर्न नसक्दा सरकार निर्माणमा अर्को संकटपूर्ण अवस्था देखिएको छ । नेपाली काँग्रेससहित एघार दलको समर्थनमा बनेको माओवादी केन्द्रका तर्फबाट बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार पुनः मन्त्रिपरिषद् पुनर्गठन गरेर नेपाली काँग्रेस र अन्य दलहरुलाई प्रतिनिधित्व गराएका छन् । मन्त्रिपरिषद विस्तारसँगै अप्ठेरो अवस्थामा पुगेको मुलुकको अर्थतन्त्रमा सुधार आउने अपेक्षा यतिबेला गरिएको छ । देशको अर्थतन्त्र संकटोन्मुख देखिएका बेला त्यसलाई सम्हाल्ने जिम्मेवारी लिएर नेपाली काँग्रेसका केन्द्रिय प्रवक्ता डा. प्रकाशशरण महत पुष्पकमल दाहाल नेतृत्व सरकारको अर्थमन्त्री बनेका छन् । डा.महत आर्थिक मामिलाका जानकार व्यक्ति हुन् । विगतमा अरू मन्त्रालयमा काम गरेका महतले यसपटक अर्थकै जिम्मेवारी पाएका छन् । यो सहित उनी चौथो पटक मन्त्रीको जिम्मेवारी सम्हालि रहेका छन् । यसअघि २०६१ सालमा परराष्ट्र राज्य मन्त्री बनेका थिए भने २०६६ सालमा ऊर्जा र २०७३ मा परराष्ट्र मन्त्री बनेर काम गरेको अनुभव उनीसँग छ । काँग्रेस सभापति शेरबहादुर देउवाका विश्वास पात्र मध्ये एक मानिने महतले अमेरिकाको साउदर्न इलिनोई युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् । उनले नीति अर्थशास्त्र (पोलिसी इकोनोमिक्स)मा स्नातकोत्तर तथा त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन पुरा गरेका छन् ।

विद्यार्थी संगठनबाटै राजनीतिमा लागेका डा.महत २०४२ सालमा नेपाल विद्यार्थी संघको महासचिव थिए । २०५९ देखि उनी नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य रहँदै आएका छन् । वि.सं. २०१६ साल कात्तिक १९ गते नुवाकोटमा जन्मिएका महतले आर्थिक, विकास, शान्ति र राजनीतिक मामिलासम्बन्धी विषयमा नीतिपत्र, लेख तथा प्रतिवेदन बनाउँदै आएका छन् । अध्ययन, अनुभव र राजनीतिक पहुँचमा समेत उच्चक्षमतामा रहेका महतसँग पटक पटक महत्वपूर्ण जिम्मेवारी सम्हालेको अनुभव छ । त्यसैले पनि डा. प्रकाशशरण महतले अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्नुलाई अर्थतन्त्र सुधारको अपेक्षा गर्न सकिन्छ । यतिबेला डा.महत अर्थमन्त्री हुँदा मुलुकका आर्थिक सूचक भने संकटोन्मुख अवस्थामा छन् । संकलित राजस्वभन्दा चालु खर्च बढी हुनु, मूल्यवृद्धि र ब्याजदर उच्च हुनु, अर्थतन्त्रमा मन्दी देखिनुजस्ता चुनौती यतिबेला अर्थतन्त्रमा देखिएका छन् । आर्थिक सूचक सुधार गर्दै अर्थतन्त्र चलायमान बनाउनुपर्ने चुनौती अर्थमन्त्रीलाई छ । यसअघि जनार्दन शर्मा अर्थमन्त्री हुँदा उनले गरेका कतिपय क्रियाकलाप विवादास्पद बन्नपुगे । त्यस्ता विवादास्पद क्रियाकलाप भन्दा माथि उठेर मुलुकको अर्थतन्त्रलाई उनले सही दिशामा लैजाने भूमिका निभाउने अवसर र चुनौती दुवै छ । कोरोना महामारी तथा युक्रेन रुस युद्धले निम्त्याएको मुलुकको अर्थतन्त्रको संकटलाई उनले सहज व्यवस्थापन गर्न सक्नुपर्छ । राजनीतिक समीकरण परिवर्तनसँगै काङ्ग्रेसको भागमा परेको अर्थमन्त्रालयको बागडोर सम्हाल्न आइपुगेका डा. महतलाई अर्थतन्त्र सुधार गर्ने चुनौति र अवसर दुवै मिलेको छ ।

आर्थिक क्षेत्रमा क्रियाशील उद्यमी, गैरआवासीय नेपाली, व्यवसायी सबैलाई समेटेर सकारात्मक वातावरण बनाउनुपर्ने आवश्यकता रहेको रहेकाले अर्थतन्त्रलाई उकास्नेतर्फ नै आफ्नो प्रमुख ध्येय रहेको भनाई अर्थमन्त्रीको जिम्मेवारी सम्हाली रहँदा डा.महतले राखेका छन् ।

अर्थमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै मन्त्री डा. महतले आर्थिक समस्याको निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्ने र अर्थतन्त्रलाई चलायमान गर्नको लागि आफू सक्रिय रुपमा लाग्ने प्रतिवद्धता जनाएका छन् । अहिले राजस्वले चालु खर्च समेत नधान्ने अवस्थामा राजस्व संकलनलाई उच्च प्राथमिकता दिने, साधारण खर्च कटौती गर्ने, प्राथमिकीकरण गरेर मात्रै सरकारले खर्च गर्ने तत्कालीन योजना अगाडि सारेका छन् । हाल सहकारी तथा लघुवित्तमा देखिएको समस्या समाधानका लागि राष्ट्र बैंकसँग सहकार्य गरेर अघि बढ्ने तथा अर्थतन्त्रका समस्या समाधानका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन समाधानका उपायहरु खोजेर अघि बढ्ने तयारी रहेको धारणा डा.महतले राखेका छन् । माइक्रोफाइनान्स तथा सहकारीमा देखिएका समस्या राष्ट्र बैंकसँग समन्वय गरी अघि बढ्नु आवश्यक रहेको, ब्याजदर उच्च भएका कारण सेयर बजार ओरालो लागेको जस्ता निराशालाई आशामा बदल्नुपर्ने अवस्था उनले औंल्याएका छन् । कर थपेर भन्दा पनि दायरा बढाएर राजस्व बढाउनुपर्ने उनले बताए । अर्थतन्त्रका समस्या समाधानका लागि आफू एक्लैले मात्रै नभई सम्पूर्ण रुपमा मन्त्रालयको टिमले साथ दिनुपर्ने पनि उनको भनाई छ । आर्थिक क्षेत्रमा क्रियाशील उद्यमी, गैरआवासीय नेपाली, व्यवसायी सबैलाई समेटेर सकारात्मक वातावरण बनाउनुपर्ने आवश्यकता रहेको रहेकाले अर्थतन्त्रलाई उकास्नेतर्फ नै आफ्नो प्रमुख ध्येय रहेको भनाई अर्थमन्त्रीको जिम्मेवारी सम्हाली रहँदा डा.महतले राखेका छन् ।

विद्यमान आर्थिक संकटसँग जुध्ने र समाधान निकाल्न अर्थमन्त्रीको दृष्टिकोणले डा.महतले औंल्याएका यी तमाम समस्याहरु पहिचान गर्नु सकारात्मक हो । तर यसलाई समाधान गरेर अघि बढ्नु उनको लागि ठूलै चुनौती छ । विद्यमान समस्या मात्र नभएर देशको अर्थतन्त्र दीर्घकालीन समस्या समाधान गर्नेतर्फ पनि ध्यान दिनु जरुरी छ । नेपालको अर्थव्यवस्था कृषि, उद्योग, पर्यटन, जलस्रोत लगायतका दृष्टिले सुदृढ हुने सम्भावना छन् । त्यसैले व्यावसायिक कृषि, उत्पादनशील उद्योग, पर्यटन आदि आधारभूत क्षेत्रमा ध्यान दिनका साथै कूल ग्रार्हस्थ्य उत्पादन बढाउन कृषिमा यान्त्रीकरण, आधुनिकीकरण र व्यवसायीकरण गर्न जोड दिने, प्राविधिक शिक्षा, विदेशमा रहेका युवालाई देश फर्काउने योजनासहितका कार्यक्रमहरू सरकारका तर्फबाट शीघ्र सञ्चालनमा ल्याउन जरुरी छ । समग्रमा आर्थिक समृद्धिका लागि राजनीतिक इच्छाशक्ति, राजश्व बढाउने तथा खर्च घटाउने, निर्यात बढाउने र आयात घटाउने, उत्पादनमूलक उद्योगको विस्तार गर्ने, प्रविधिको विकासमा जोड दिने र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने उद्योगी–व्यवसायीको सम्मान गर्ने परिपाटी विकास गर्न अत्यावश्यक छ । यसका लागि सरकार र निजी क्षेत्रको सहकार्य तथा हातेमालोकोे खाँचो देखिन्छ । यी समस्या, चुनौती र अवसरहरुलाई मनन् गरेर नयाँ अर्थमन्त्री डा.महतले अर्थतन्त्रमा अपेक्षाकृत सुधार ल्याउँनु र अर्थतन्त्रलाई उकास्ने र बलियो बनाउनेतर्फ अग्रसरता देखाउनु आवश्यक छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top