+
Search

ताजा अपडेट +

पपुलर +

कालिकामा युवा नमुना गाउँसभाको अभ्यास

Practice of Youth Model Village Assembly in Kalika Rasuwa
डबली खबर
३ साल अगाडी

रसुवा – युवा पुस्तालाई गाउँपालिकाको नीतिगत व्यवस्थाबारे जानकारी गराउने उद्देश्यले कालिका गाउँपालिकामा नमुना युवा संसद अभ्यास अन्तर्गत गाउँसभा सञ्चालन गरिएको छ ।

‘समृद्ध नेपाल निर्माणका लागी स्वस्थ, कर्मठ र उद्यमी युवा’ भन्ने मुल नाराका साथ कालिका गाउँपालिकास्तरीय नमुना युवा गाउँसभा अभ्यास प्रशिक्षण कार्यक्रम गरिएको हो । युवाहरुले गत बिहिबार फाल्गुण ११ गते कालिका गाउँपालिकाको कार्यपालिका सभाहलमा गाउँसभाको अभ्यास गरेका हुन् ।

सभाहलको ड्यासमा अध्यक्षको बायाँतिर उपाध्यक्ष, दायाँतिर सचिव र अगाडी गाउँपालिकाका सदस्यहरु बसेका थिए भने देब्रेतिर सञ्चारकर्मीहरु लहरै बसेका थिए । गाउँसभा बैठकजस्तै देखिने यो दृश्य भने कालिका गाउँ कार्यपालिकाको कार्यालयले पहिलोपटक आयोजनामा गरेको नमुना युवा गाउँसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रमको हो ।

नवनिर्वाचित अध्यक्षमा कृतिका न्यौपाने र उपाध्यक्षमा सारुमगरले भूमिका निर्वाह गरेका थिए । यसैगरी कवितादास परियार, संजिता तामाङ, रोहित देवकोटा, बिमला तामाङ, वीरबहादुर तामाङ, रोजिना पौडेल, समिर न्यौपाने, पुजा तामाङ, समिर मोक्तान, आदित्य नगरकोटी, भक्तबहादुर तामाङलगायतले गाउँपालिकाको कार्यपालिका सदस्यको भूमिका निर्वाह गरेका थिए ।

गाउँसभा अभ्यासको क्रममा निर्वाचित सदस्यहरुले रसुवा जिल्ला पर्यटकीय क्षेत्रको विस्तारमा होमस्टे, पर्यटकीय मार्ग, जिल्लामै उत्पादित जडिबुटीको प्रशोधन र बजारको व्यवस्था, कृषिमा युवा जागरुक, स्वरोजगार, घरेलु व्यवसाय, वैदेशिक रोजगारलाई निरुत्साहित गरी स्वदेशमै रोजगारको सिर्जना लगायतका सुझाव राख्नुको साथै गाउँपालिकाको आर्थिक नीति, विधयेक, करलगायतका बारेमा संशोधन मागसहित सुझाव पेश गरेका थिए ।

गाउँसभामा सबैको प्रतिनिधित्व हुने गरी समावेशी कार्यपालिका सदस्य गठन गरिएको थियो । सहभागीहरुले मर्यादित भएर आफ्ना कुराहरु कसरी राख्ने लगायतका कुराहरु सिकाइ भएको र सबै पक्षलाई समेटेर कसरी टिमको नेतृत्व गर्ने भन्ने सिकाई भएको बताएका छन् ।

समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले युवा पुस्तामा यस्तो ज्ञान अति आवश्यक रहेको धारणा राखेका थिए । अध्यक्ष न्यौपानेले आफ्नो कर्तव्यमा युवालाई अग्रसर बनाउँदै गाउँपालिकालाई सुझाव दिन सक्ने युवा तयार पर्नाको लागि पालिकाले यो कार्यक्रम गरेको जानकारी दिए ।

भविष्यमा युवाहरुले नै नेतृत्व गर्ने भएकोले त्यो क्षमताको जग निर्माण गर्न पनि अभ्यास आवश्यक रहेको गाउँपालिकाकी शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख कुमारी सरिता जोशीले बताईन् ।

नमुना युवा संसद अभ्यासद्वारा कालिका गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित प्रितिका न्यौपानेले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन् । उनले युवा अवस्थामा यस्तो खाले तालीम प्रयोगात्मक हुदाँ युवालाई गाउँपालिकाको निति निमार्णमा समेत सहज भुमिका खेल्न सक्ने विश्वास व्यक्त गरिन् । यस्तै, सभामा गाउँपालिकाकाकी उपाध्यक्ष कञ्चना सारुमगरले वार्षिक बजेट वक्तव्य पेश गरेकी थिईन् ।

गाउँपालिकाभित्रका १६ वर्ष देखि २४ वर्ष उमेरका १५ जना तन्नेरी युवाहरुले फाल्गुण ८ गतेदेखि ११ गतेसम्म गाउँपालिका चलाउने गाउँसभा अभ्यास गरेका थिए ।

नमुना संसद अभ्यासमा गाउँपालिकाकी उपाध्यक्ष मीरा तामाङ, प्रमुख प्रशासकीय अधिकृत शितलबहादुर रावल, वडाध्यक्षहरु, विषयगत शाखाका प्रमुख, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ