पिपलटार – ‘धार्मिक ऐतिहासिक कला संस्कृतिको सम्बर्द्धन, दिगो आर्थिक विकासको लागि व्यवसायिक प्रवर्द्धन’ भन्ने नाराका साथ सातौँ नुवाकोट महोत्सव आजबाट शुरु भएको छ।
विदुर नगरपालिका-५ पिपलटारमा जारी महोत्सवको प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आज यहाँ उद्घाटन गर्दै ५०० रोपनी जग्गा जुटेमा नुवाकोटमा औद्योगिक क्षेत्र विकास गर्न आफु तत्पर रहेको बताए ।
उद्घाटन समारोहमा बोल्दै नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले महोत्सवमा स्थानीय उत्पादनका स्टललाई निःशुल्क र जिल्लाका व्यवसायीले राख्ने स्टललाई २० प्रतिशत छुटको व्यवस्था गरिएको बताए । जिल्लाको समग्र विकासका सम्भावनालाई उजागर गर्दा परम्परागत कला र संस्कृतिको जगेर्ना व्यवसायिक कृषि, जलविद्युत, पर्यटन, हस्तकला एवं व्यापार व्यवसायलाई प्रवद्धन गरी जिल्लामा आर्धिक तथा लगानीमैत्री वातावरणको सिर्जना तथा ब्राह्य लगानीलाई आकर्षण गर्ने महोत्सवको उद्देश्य रहेको बताए ।
कार्यक्रममा प्रदेश सांसद रमेशकुमार महत, नेपाली कांग्रेसका नेता जगदीश्वर नरसिंह केसी, जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठाकुरी, विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटी लगायतले महोत्सव सफलताको शुभकामना दिएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल र उपाध्यक्ष दीनेश श्रेष्ठले सरकारले गर्न नसकेको उद्योगको विकास निजी क्षेत्रले गरेको र केन्द्रको नीतिद्वारा स्थापना भएको देशका विभिन्न जिल्लामा स्थापित ईलम प्रशिक्षण केन्द्र नुवाकोटले मात्र निरन्तता दिएकोमा आभार व्यक्त गरेका छन् ।
महोत्सवमा विभिन्न जातीय झाँकी, नाच, भजन, भेषभुषा प्रदर्शन गरिएको थियो । नेवारको धिमे बाजा, लाखे नाच, मगरको घाटुनाच, किम्ताङको घोडानाच, तामाङको झाँक्रीनाच, कुमालको भेषभुषा, बाघभैरव समूहको भजन प्रस्तुत गरिएको थियो ।
महोत्सवमा प्रवेश टिकट प्रतिव्यक्ति एक सय, विद्यार्थीलाई परिचयपत्रको आधारमा ६० र ज्येष्ठ नागरिक, अपाङ्ग–अशक्तलाई सरकारले जारी गरेको परिचयपत्रको आधारमा निःशुल्क गरिएको संघको द्वितीय उपाध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिए । जिल्लामै उत्पादित घरेलु सामाग्रीदेखि लघु उद्यमीले उत्पादन गरेका सामाग्रीहरुलाई प्राथमिकतामा राखिएको उनले बताए ।
जिल्ला समन्वय समिति, विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र जिल्लाका अन्य १० गाउँपालिका सहआयोजक रहेको छ । महोत्सव नारायणी फेयर एक्जिबीसन नेपालको व्यवस्थापनमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन बोर्ड प्रबर्द्धक रहेको छ ।
नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा फागुन १० गतेसम्म सो महोत्सव चल्नेछ। उत्पादन, व्यापार तथा विभिन्न क्षेत्रका तीन सय स्टल रहेको महोत्सवबाट पाँच करोड बराबरको कारोबार हुने लक्ष्य राखिएको छ।
प्रतिक्रिया