२०७९, २१ मंसिर बुधबार

२५ वर्ष अगाडि उल्टिएको त्यो निर्णय

विश्वामित्र खनाल     बैशाख १४ २०७९ ०७:१२

bishwomitra uml party nuwakot 2054
nuwakot health dengue
Diyo Pathshala Montessori
bidur tax
trishuli web design

२०५४ सालको स्थानीय निकाय निर्वाचनको परिणामले देशैभर एमालेको विजयी लहर नै ल्यायो । नुवाकोटमा पनि एमालेको बहुसंख्यक स्थानीय निकायमा विजय हासिल भयो । कतिपय गाविसमा त प्रतिपक्ष विहिन नै वनायो । ६१ मध्ये खानीगाउँ गाविसमा पुरै ४७ सिट नेकपा एमाले एक्लैले जितेर अरु दललाई शून्य बनायो ।

परिणाम जिल्ला सरकार अर्थात् तत्कालीन जिल्ला विकास समिति गठन गर्न एमालेको एक्लौटी बहुमत पुग्यो । एमाले केन्द्रले जिल्ला कमिटिलाई नै जिल्ला विकास समितिको सभापति र उपसभापति पदका उम्मेदवारहरुको नाम सिफारिस गर्न सर्कुलर गरेको थियो । यसै क्रममा, एमाले नुवाकोट जिल्ला कमिटिले पनि सभापति र उपसभापति पदमा क्रमशः भरतप्रसाद ढुङ्गाना र नारायणप्रसाद खतिवडालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरि पठाएको थियो ।

तत्कालिन समयमा नुवाकोट एमाले दुई ध्रुवमा विभाजित थियो । एकातिर, गणेश पण्डित सर्मथित एमालेहरु जो चौथो सम्मेलन (चौम)बाट एमाले भएकाहरु वामदेव गौतम समूहको प्रतिनिधित्व गर्दथे र एमाले फुटपछि यस समूहका अधिकांश नेता तथा कार्यकर्ताहरु मालेमा लागेका थिए ।

यसैगरि, अर्को समूहमा महेन्द्रबहादुर पाण्डे समर्थितहरु थिए, तत्कालिन समयमा उनीहरुलाइृ एनजिओ एमालेका नामको आरोप लाग्ने गरेको थियो । तत्कालिन समयमा माधवकुमार नेपाल र केपी शर्माओलीसँग नजिक थिए । जिल्लामा एमालेका जिल्ला तथा स्थानीयस्तरका बहुसंख्यक नेता तथा कार्यकर्ताहरु भने बामदेव समूहमा नजिक थिए ।

२०५४ को स्थानीय निकाय निर्वाचनमा नुवाकोट जिल्लामा एमालेले बहुमत स्थानमा निर्वाचन जितेको थियो । त्यस समय नेकपा एमाले जिल्ला सचिव भरतप्रसाद ढुगांना थिए । केन्द्रले जिल्ला सचिवहरुलाई स्थानीय निकायका उम्मेदवारको उम्मेदवारी फाराम (टिकट)मा पार्टीको तर्फबाट दस्तखत गर्ने अधिकार प्रत्यायोजन गरेको थियो ।

तत्कालिन समयमा एमालेले युवा पंक्ति र त्यो पनि ३० वर्षभन्दा कम उमेरका, पढेलखेका (स्नातक होल्डर) व्यक्तिहरुलाई स्थानीय चुनावमा उतारेको थियो । विजयी पनि भएका थिए । एमाले जिल्ला कमिटिले सभापति र उपसभापति पदमा क्रमशः भरतप्रसाद ढुङ्गाना र नारायणप्रसाद खतिवडालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरि केन्द्रमा पठाएको थियो ।

केन्द्रले जिल्लाको निर्णय उल्टाएको समाचार सदरमुकाम विदुरमा भुसको आगो जस्तै फैलियो ।

एमाले केन्द्रले जिल्ला विकास समितिको उम्मेदवारी दर्ताको अघिल्लो दिन मात्रै सभापति तथा उपसभापति पदको निर्णय ग-यो । केन्द्रले जिल्लाको निर्णयलाई उल्ट्याईदियो । उपसभापति पदमा सिफारिस भएका नारायणप्रसाद खतिवडालाई सभापति पदमा र सभापति पदमा सिफारिस भएका भरतप्रसाद ढुंगानालाई उपसभापति पदको उम्मेदवार वनाउने निर्णय ग-यो । केन्द्रले जिल्लाको निर्णय उल्टाएको समाचार सदरमुकाम विदुरमा भुसको आगो जस्तै फैलियो । तर, निर्णय आधिकारिक हो कि होइन भन्नेमा भने जिल्लास्थित नेताहरु नै अन्यौलमा रहे । तत्कालिन समयमा ल्याण्डलाईन टेलिफोन मात्रै थियो, अहिलेको जस्तो मोबाइल तथा सामाजिक सञ्जाल तथा अन्य सञ्चारमाध्यमको चलन थिएन ।

जिल्लामा रहेका एमालेका नेताहरु केन्द्रीय नेताहरुसँग सम्पर्क गर्न र समाचार पुष्ट्याउन खोजिरहेका थिए । तर, सकिरहेका थिएनन् । अन्ततः विदुर नगरका तत्कालिन मेयर ठाकुरप्रसाद गजुरेलले समाचार सत्य रहेका पुुष्टि तत्कालिन गृहमन्त्री बामदेव गौतमको सचिवालयबाट पाए । त्यसको केही वेरमा नै रेडियो नेपालको समाचारमा एमालेले टुङ्गाएको देशभरीका सभापति उपसभापतिहरुको नामावाली प्रशारण गर्यो, जसमा नुवाकोट जिल्ला कमिटिको निर्णय उल्टिएको थियो ।

जिविसको उम्मेदवारी दर्ताका अघिल्लो दिन भरत ढुगांना र नारायणप्रसाद खतिवडा दुवैजना जिल्ला मै थिए, दुवैजना जिल्ला कमिटीले गरेर पठाएको निर्णयमा खुसी नै थिए, संग–संगै हिड्दथे । तत्कालिन समयमा एमालेवाट चुनाव जितेका अधिकांश गाविसका जनप्रतिनिधिहरु ३० वर्षभन्दा कम उमेरका र पढेलखेका (स्नातक होल्डर) थिए, उनीहरु जिल्लाले पठाएको निर्णयमा खुसि थिए ।

अचानक केन्द्रले जिल्लाको टिकट परिर्वतन गरेपछि तल्लो तहका पार्टी पंक्तिहरु पनि असन्तुष्ट र विभक्त भए । रातभरमा जिल्लास्तरीय कार्यकर्ता, भरर्खरै निर्वाचित गाविस अध्यक्ष–उपाध्यक्षहरुले विभिन्न ठाँउमा छुट्टा–छुट्टै कोठे वैठकहरु गरे । भोलिपल्ट जिविसको उमेदवारी दर्ताको दिन थियो । एमाले पार्टी कार्यकर्ताहरु विहानैदेखि पार्टी कार्यालय विदुरमा जम्मा भए ।

केन्द्रको सिफारिस पत्र लिएर महेन्द्रवहादुर पाण्डेसहितका केही नेता कार्यकर्ताहरु काठमाडौवाट सदरमुकाम विदुर पुगे । उता, एमालेको उम्मेदवारी दर्ता जुलुस विदुर नगरपालिकावाट निकाल्ने भन्दै एमालेजनहरु विदुर नगरपालिका कार्यालयमा जम्मा भइसकेका थिए । जस्मा भर्खरै निर्वाचित स्थानीय निकायका जनप्रतिनिधिहरु र तल्लोतहका कार्यकर्ताहरु थिए, जो केन्द्रीय निर्णयप्रति असन्तुष्टि राख्दथे ।

उनीहरुले जिल्ला नेतृत्व र केन्द्रवाट टिकट लिएर आएकाहरुलाई जिल्ला कमिटिको निर्णय वमोजिम गर्न दवाव दिए । विदुर नगरपालिका कार्यालय एमालेजनहरुको तनावग्रस्त र होहल्लास्थल नै वन्न गयो, केही धकेलाधकेल र एकले अर्कालाई धारे हात लगाउने स्थिती पनि श्रृजना भयो । सभापति पदका प्रत्यासी नारायणप्रसाद खतिवडाले केन्द्रले जे सुकै निर्णय गरेपनि आफुले एमालेजनहरुको भावनाका कदर गर्दै, आफुलाई जिल्ला कमिटिकै निर्णयलाई मान्न कुनै असजिलो नरहेको र कोही कसैलाई उम्मेदवार हुन ईच्छा भए आफुले त्याग गर्ने वताउदै परिस्थतीलाई धुमिल हुनवाट रोक्नुभयो ।

अन्ततः केन्द्रीय सिफरिस पत्र लिएर गएको टोलि जिल्ला कै निर्णयमा फर्कन वाध्य भयो । उम्मेदवारी मनोनयनको समय सिमा घर्किन एकघण्टा वाँकिमा एमाले जिल्ला कमिटि कै निर्णयानुसार सभापति पदमा भरतप्रसाद ढुंगाना र उपसभापति पदमा नारायणप्रसाद खतिवडाको उमेदवारी दर्ता भयो । यसरी नुवाकोट एमालेले केन्द्रका निर्णयलाई चुनौति पनि दियो, जिल्लास्तरका नेता कार्यकर्ताहरुले वेला मै संयमता अपनाएर परिस्थितीलाई कावु वाहिर जान दिएनन् । जिल्लामा एमालेको वहुमतका जिल्ला विकास समिति गठन भयो ।

२०५८ साल पछि भरतप्रसाद ढुंगाना तत्कालीन माओवादीमा भुमिगत भएपछि नारायणप्रसाद खतिवडाले कार्यवाहक सभापतिको भुमिकामा कार्य गर्नुभयो । २०५४ सालको स्थानीय निर्वाचनमा एमाले नुवाकोटका कार्यकर्ताहरुले केन्द्रीय नेतृत्वले गरेको निर्णयलाई चुनौती दिदै आमनेता तथा कार्यकताहरु माझ कायम गरेको भाइचारा इतिहासको कसिमा एक उदाहरणीय काम हो ।

यदी कार्यकर्ता पंक्ति एक भयो, लोभ–लालचमा फसेन र कसैको मुलाहिजामा फसेन भने स्थानीय स्तरको निर्णयलाई केन्द्रले रोक्न सक्दैन । केन्द्रले पनि वाध्य भएर भू–धरातलीय यर्थाथलाई स्विर्कानु पर्दछ भन्ने सन्देश यस घटनाले दिएको छ । यसर्थ, फुुटेर होइन जुटेर कार्यकर्ताले नेतृत्वलाई झुकाउन सक्दछ र पर्दछ अनि मात्रै कार्यकर्ता वनेको व्यक्ति भविष्यमा एउटा कुशल नेता वन्दै समाजलाइ हाँक्न सक्दछ भन्ने यो एउटा गतिलो उदाहरण हो ।

राजनीतिक व्यक्तिको परिक्षा स्थानीयस्तरबाटै सुरु हुन्छ । अहिलेको स्थानीय निर्वाचनमा सत्तापक्षले गठवन्धन गर्ने भनेका छन् । तर, जिल्ला तथा स्थानीय तहका नेता कार्यकर्ताहरु त्यसलाई अन्तरमनदेखि स्वीकार गर्न नसकिरहेको अवस्थामा २५ वर्ष अगाडिको त्यस समयमा स्मरण गरिएको हो ।

यो लेख नयाँ रुपरेखा साप्ताहिकमा पनि प्रकाशित छ । लेखकको अनुमतिमा यस डबली खबर अनलाईन पत्रिका प्रकाशन गरिएको हो

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top