२०८१, ११ बैशाख मंगलवार

एमसीसी सम्बन्धमा नेताहरु: एकातिर बोलि, अर्कोतिर लोलि

श्रीराम नेपाल     माघ २४ २०७८ १०:२१


shreeram nepal editor nuwakot sandesh

मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) सम्बन्धमा चर्चा चुलिएको छ । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवानेकपा माओवादी अध्यक्ष प्रचण्डले एमसीसी मुख्यालयमा ‘संसदबाट पारित गर्न प्रतिबद्ध छौं‘ भन्ने आशयले पठाएको चिठी सार्वजनिक भएसँगै चर्चाले नयाँ मोड लिएको छ । स्थानीय चुनाव सार्न गठबन्धन दलहरुले दिईरहेको दवाव र प्रतिपक्षी एमालेले चुनाव समयमै गर्न दिईरहेको दवावका विचमा सार्वजनिक भएको पत्र पक्कैपनि अर्थपूर्ण छ र यसले चुनाव अघिसम्म नेपालको राजनीतिमा थुप्रै नयाँ परिदृष्य देखिने स्पष्ट पारेको छ । राजनीतिक घटनाक्रम कता मोडिएला त्यो समयले नै बताउला तर, यो पंक्तिकारले यहाँ उल्लेख गर्न चाहेको विषय भने एमसिसि सम्बन्धमा नेताहरुका विगतका बोली के–के थिए भन्नेमा केन्द्रित रहन्छ ।

एमसीसीको सम्बन्धमा नेताहरुले बेला अनुसारको बोली बोल्ने गरेको पाईन्छ । सत्तामा रहँदा र प्रतिपक्षमा रहँदा बोलि फेरिएका छन् । तत्कालिन नेकपा दल भएर रहँदा र हाल एमाले, माओवादी, समाजवादीको रुपमा रहँदा बोलि फेरिएको छ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा भने यस सन्दर्भमा स्पष्ट देखिन्छन् । सत्तामा रहँदा वा प्रतिपक्षमा हुृँदा, उनले स्पष्ट भन्दै आएका छन्– ‘एमसीसी पारित हुन्छ । तर, अन्य दलका प्रमुख नेताहरुको कुरा त्यति स्पष्ट छैन । कुनै शिर्ष नेताले पनि औंपचारिक रुपमा एमसीसी पारित नहुने बताएका छैनन् । उनीहरुले केहि शर्तमा संसोधनको कुरा भने उठाएका छन् ।

पारित हुन्छ: देउवा

प्रधानमन्त्री शेरवहादुर देउवाले एमसीसी पारित हुने बताएका छन् । उनको यो भनाई पटक–पटक आएको छ । पछिल्लो समय कोप–२६ मा सहभागी भएर कार्तिक दोश्रो साता स्वदेश फर्केका प्रधानमन्त्री देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै एमसीसी छिटै पारित हुने बताएका हुन्। कोप–२६ का क्रममा भेट हुँदा अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि यस विषयमा जिज्ञासा राखेको उनले बताए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले एमसीसी के हुन्छ भनेर सोध्नुभएको थियो,’ प्रधानमन्त्री देउवाले भने, ’एमसीसी छिटै पारित गर्छौं भनेको छु।’ राष्ट्रपति बाइडेनले संसद् अधिवेशन अन्त्य गरेको विषयमा समेत जिज्ञासा राखेको देउवाले सुनाए। ‘एमसीसीका कारणले नभई हाम्रो आन्तरिक कारणले संसद् अधिवेशन अन्त्य गरिएको हो, महत्वपूर्ण अध्यादेश ल्याउनुपर्ने भएकाले संसद् अधिवेशन अन्त्य गरिएको विषयमा पनि जानकारी गराएँ,’ देउवाले भने। यसपछि पनि उनले पटक पटक पारित हुने दोहोर्‍याएका छन् ।

छलफल गरेर टुङ्गाऔं: प्रचण्ड

एमसीसी सम्बन्धमा सत्ता साझदार नेकपा माओवादीका अध्यक्ष प्रचण्डको धारणा खोज्ने क्रममा यस पंक्तिकारले पुसको दोश्रो शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले राखेको विचार भेटेको छ । सोही दिन बिबिसी नेपाली सेवाले लेखेको छ – राजधानीमा शनिवार आयोजित एउटा अन्तरक्रिया कार्यक्रममा प्रचण्डले पूर्वाधार निर्माणमा मित्र देशहरूबाट प्राप्त सहयोग नलिने भन्ने नीति नरहेको भन्दै एमसीसी सम्झौताबारे विभिन्न दल, बौद्धिक समुदाय र नागरिक समाजसँग छलफल गरेर एउटा टुङ्गोमा पुगिने धारणा राखेका छन् ।

एमसीसीको विषयमा जे प्रश्न उठ्यो । त्यो पनि मूल सहमति र पछि ओली प्रधानमन्त्री भएर अर्थमन्त्री युवराज खतिवडाजी भएको बेला जे सम्झौता गरिएको छ भनिएको छ त्यसले शङ्का उत्पन्न गराइदिएको छ । अनि मानिसहरूले गहिरो अध्ययन गर्दा मूल सहमतिमा नै पनि केही विषयहरू अस्पष्ट रछन् भन्ने भएको छ,“ उनले भने । “त्यसकारण मैले यो विषयमा गठबन्धनभित्र र सर्वदलीय बैठक छलफल गर्न जरुरी छ भनेर हाम्रो पार्टीका तर्फबाट प्रधानमन्त्रीज्यूलाई भनेको छु ।’’

पार्टीको सम्मेलन सकिएपछि आफूले उक्त संवादका लागि पुनः पहल गर्ने प्रचण्डको भनाइ थियो । तर, पार्टीको सम्मेलनमा एमसीसी बहस नै भएन । त्यस यता पनि सत्ता साझेदारको रुपमा माओवादीले एमसीसीको बहस थालेन । एकै पटक आइतवार माओवादी अध्यक्ष प्रचण्ड र देउवाको संयुक्त हस्ताक्षरमा एमसीसीलाई पठाईएको चिठी सार्वजनिक भयो ।

निर्धक्क अनुमोदन गरौ: ओली

एमसीसी सम्बन्धमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक धारणा खोजी गर्दा उनले विभिन्न समयमा एमसीसी पारित गर्नुपर्ने वताएका छन् । हाल प्रतिपक्षमा रहेका ओलीले अमेरिकी आर्थिक सहायता परियोजना एमसीसी सम्झौताबारे सत्ता पक्षले स्पष्ट धारणा ल्याएपछि मात्रै आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन् । भदौ अन्तिम साता एमसीसी उपाध्यक्ष फातिमा सुमारसँगको भेटका क्रममा ओलीले सत्तामा हुँदा आफूहरु एमसीसी सम्झौता पास गर्ने पक्षमा स्पष्ट रहेपनि अहिलेको सत्ता पक्षले स्पष्ट धारणा नल्याएको बताए । भेटमा एमसीसी उपाध्यक्ष सुमारले एमसीसी सम्झौताबारे एमालेको पोजिसन र धारणाबारे जिज्ञासा राखेकी थिइन्, जवाफमा ओलीले आफूहरुले सरकारमा हुँदा एमसीसी सम्झौता संसद्बाट पारित गर्ने विषयमा स्पष्ट भएपनि अहिले सत्ता पक्षबाट स्पष्ट कुरा नआएको बताएका भेटवार्तामा सहभागी एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

सरकारका हुदाँ हामीले सार्वजनिक रुपमा एमसीसीबारे प्रष्ट भनेका थियौं,’ सुमारले एमसीसीबारे एमालेको धारणाबारे ओलीले दिएको जवाफ उद्धृत गर्दै भट्टराईले भने, ‘अहिले प्रतिपक्षमा छौं। सत्ता पक्षले प्रष्ट पारोस्, हामी प्रष्ट नै छौं ।’ भेटमा एमसीसी उपाध्यक्ष सुमारले सत्तामा रहँदा र बाहिर हुदाँ ‘पोजिसन’ फरक हुन्छ कि ? भनेर समेत जिज्ञासा राखेकी थिइन् । जवाफमा ओलीले सत्ता पक्षले छलफल गरेमा, प्रष्ट पार्नु परेपछि त्यस बारेमा धारणा बनाउने बताएका भट्टराईले जानकारी दिए । हालसम्म सत्ता गठवन्धनले एमसीसीबारे कुनै पनि छलफल नगरेको भन्दै ओलीले सत्ता गठवन्धनसँग बहुमत भएकाले उनीहरुले छलफल नै नगरेकाले अहिले प्रष्ट हुन आवश्यक नभएको जवाफ दिएका थिए । आफूहरु सरकारमा रहँदा पनि सभामुखसहितका केही व्यक्तिले एमसीसीलाई अघि बढ्न नदिएको विषयबारे समेत ओलीले सुमारको टोलीलाई ‘अवगत’ गराएका थिए । यसबाहेक तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक उद्घाटनका अवसरमा २०७६ माघ १५ मा ओलीले एमसीसी सम्बन्धमा दिएको मन्तव्यमा एमसीसी पास गर्नुपर्ने भन्ने भनाई स्पष्ट छ । तत्कालिन नेकपा अध्यक्षको रुपमा उनले एमसीसी निर्धक्क पास गरौं भन्ने उनको दस्तावेजमा हाल फरक दलमा रहेका प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनालहरुले फरक मत नराखेका कारण ओलीको त्यो धारणामा नेताहरुको सहमती नै रहेको देखिन्छ ।

पास गरौं: भट्टराई

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसीसी नेपालले स्वीकार्नु पर्ने बताएका छन् । एक साता अगाडिको आइतबार राति सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले ‘यहि बहानामा प्रतिगमन विरोधी गठबन्धन टुट्न नहुनेमासमेत जोड दिएका छन्। सम्झौतालाई आककटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं’ सबै एकमुख भएर जनतालाई बुझाऊ यही वहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस् । यो प्रकरण नेपालका रूढिवादी कम्युनिष्टकालागि घाककटीको हाड नबनोस देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस शक्तिकेन्द्र हरूको चलखेलबाट देश बरबाद नहोस ।

विशुद्ध आर्थिक सहयोग हुनुपर्‍यो: नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्ने बताएका छन् । एमाले एमसीसी पास हुनु पर्ने लाईनमा रहँदा एमालेमै रहेर पनि त्यसको विरोध नगरेका नेपालले अहिले भने विरोध गरे जस्तै गरेर पास हुनुपर्ने नै अभिब्यक्ति दिएका छन् । पुसको पहिलो सोमबार समाजवादी प्रेस संगठन नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमसीसीको बारेमा सत्ता साझेदार ५ दलबीच छलफल गरेर साझा निस्कर्ष निकालिने बताए । अध्यक्ष नेपालले सेनासँग वा नेपालको सार्वभौम सत्तासँग एमसीसी जोडिनु नहुने बताए । उनले आफूले एमसीसीको अन्तर्वस्तुका बारेमा छलफल गरिरहेको र त्रुटी कमजोरी छन् भने सच्याएर मात्रै अघि बढ्ने बताए । अध्यक्ष नेपालले छिमेकी देशहरुमाथि कुनै किसिमबाट असर नपर्ने गरी एमसीसी अघि बढाइने बताए ।

एमसीसीबारे हामी छलफल गरिरहेका छौं । तीन जनाको कमिटी बनाइएको छ । त्यो कमिटीले पनि अध्ययन गरेर आफ्नो निस्कर्ष अघि सार्नेछ । हामी जनभावनालाई पनि हेरिरहेका छौं । नेपाललाई कुनै पनि किसिमको सैन्य गठबन्धनमा समावेश गर्ने कुरालाई हामी स्वीकार्न सक्दैनौं । अहिले एमसीसीसँग जोडिएकाहरुले यो गठबन्धनको अंग होइन भनेर हामीलाई प्रष्ट पार्ने कोसिस गरिरहेका छन् । यसलाई हामीले राम्रो वातावरणमा, सहज वातावरणमा अघि बढाउन चाहन्छौं । यो विशुद्ध आर्थिक सहयोगको विषय बनोस’–अध्यक्ष नेपालले भने, –’सेनासँग वा अन्य कुनै पनि कुराहरुसँग, नेपालको सार्वभौम सत्तासँग जोडिने कुरा नहोस् । छिमेकीहरु माथि कुनै किसिमबाट असर पर्ने कुरा नहोस् । ५ दलको बीचमा छलफल गरेर साझा निस्कर्ष निकालेर देशको हीतको रक्षा गर्ने कुरालाई सुनिश्चित गरेर नै अघि बढ्नेछौं ।

संसदमै नलैजाउः गजुरेल

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले एमसीसी संसदमा पुगेपछि पारित हुने सम्भावना रहेकाले संसदमै लैजान दिनु नहुने बताएका छन् । एक महिना अघि पुस १८ गते आइतबार माइतीघर मण्डलामा आयोजित बिरोध प्रदर्शनमा अध्यक्ष गजुरेलले एमसीसी संसदमै लैजान दिनु नहुने बतएका हुन् । उनले अमेरिकाले एमसीसी सम्झौतामार्फत् दिने भनिएको रकम भन्दाबढी रकम एनसीएलको कर उठाउँदा जम्मा हुने भन्दै रकम भन्दा पनि परिणाम घातक रहेको उल्लेख गरे । अध्यक्ष गजुरेलले अमेरिका नेपालमा आइसकेपछि पछि नहट्ने र रणनीतिक महत्वका ठाउँहरुमा आफ्नो अखडा खडा गर्ने भएकोले एमसीसी पास गर्नु नहुने बताए ।

यहाँ एमसीसीको बहानामा अमेरिका नेपालभित्र पसिसकेपछि यहाँबाट पछि हट्ने छैन’ उनले भने–‘एमसीसी खारेजीको अभियान नेपालकै लागि चलाइएको हो । हामीले यसलाई संसदमा एजेण्डाको रुपमा लैजान दिनु हुँदैन । लग्ने र टेबुल गर्ने बित्तिकै पारित हुनेवाला छ ।’ अध्यक्ष गजुरेलले चीनसँग लड्नका लागि अमेरिकाले नेपाललाई अखडा बनाउन एमसीसी सम्झौंताका लागि दवाव दिएकाले आफूहरुले विरोध गर्नु परेको तर्क समेत गरे ।

नेपालको हितमा छैनः विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अमेरिकी साहायता परियोजना एमसीसी नेपालको राष्ट्रिय स्वाधिनता र सार्वभौमिकताविरुद्ध भएको दावी गरेका छन्। ‘एमसीसी सम्झौता जबरजस्ती लादिदै छ,’ राजधानीमा केहि साता अघि आयोजित विरोधसभालाई सम्बोधन गर्दै विप्लवले भने, ‘हामीमाथि प्रतिवन्ध लागेकै बेला हामीले त्यो सम्झौता पुरै पढ्यौं । एमसीसी नेपालको राष्ट्रिय स्वाधीनता, सर्वभौमिकताको विरुद्धमा छ ।’ सम्झौतामा एमसीसी नेपालको कानूनसँग बाँझिएमा एमसीसीमा लागू हुने उल्लेख भएको दावी गर्दै उनले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि यो लागिने लागेको बताए। ‘यो सम्झौता कसको हितमा गरिदै छ ?,’ उनको भनाइ छ, ‘अमेरिकाको राष्ट्रिय सुरक्षाका निम्ति यो लागू गरिदै छ । अमेरिकाको राष्ट्रिय सुरक्षा चुनौतीको संरक्षणका लागि एमसीसी अघि सारिएको हो।

विरोधमा नेमकिपा

एमसीसी खारेजको मागसहित नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले पुसको दोश्रो साता राजधानीमा विरोध प्रदर्शन गर्दै खबरदारी गरेको छ । एमसीसी देशघाती सम्झौता भएको भन्दै नेमकिपाले खबरदारी जुलुस गरेको हो । एमसीसी पारित नगराउन दबाब दिँदै सरकार र सांसदहरूलाई खबरदारी गरिएको नेमकिपाले जनाएको छ । कोटेश्वर, माइतीघर, पुरानो बानेश्वरलगायतका ठाउँबाट जुलुससहित आएका नेमकिपाका कार्यकर्ताहरू बानेश्वरको सभामा भेला भएका थिए ।

निष्कर्षमा:

प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुको उल्लेखित भनाईहरुमा एमसीसी कुनै हालतमा पास गरिदैन भन्ने कतै छैन । नेताहरुले कुनै बेला सार्वजनिक खपतका लागि एमसीसी राष्ट्रघाती छ भन्दिए, कार्यकर्ताले त्यहि पत्याए । अहिले एमसीसीकै कारण सत्ता छोडौ, ०५६ को आम चुनावमा मालेको जस्तो हालत होला, सत्ता नछाडौं, कार्यकर्ताको असन्तुष्टि ब्यापक छ, चेपुवामा छन् माओवादी केन्द्र र समाजवादी दलका नेता । अर्कातिर एमाले ‘जनतालाई एमसीसी राष्ट्रघाती छैन भनेर पछि बुझाउला, अहिले यसैलाई आधार बनाएर गठबन्धन भत्काउ र मिले सम्म कांग्रेससँग गठबन्धन गरी सरकार बनाउने देखि निर्वाचनमा जाने सम्म’ को रणनीतिमा केन्द्रित छ ।

(लेखक नेपाल नुवाकोटबाट हरेक शुक्रबार प्रकाशित हुने नुवाकोट सन्देश साप्ताहिकका सम्पादक हुन् । )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया



Top