२०७९, ५ जेष्ठ बिहीबार

नुवाकोट जिल्ला र जिल्ला सहकारी संघ

राजेश श्रेष्ठ     पुष २७ २०७८ १७:२७

district cooperative union building nuwakot dabali khabar
nuwakot trishuli graphic web media service 2020

नेपाल राज्यको मानचित्रमा मध्य क्षेत्रको प्रदेश नं ३ अन्तरगत राजधानी काठमाडौंको उत्तर पश्चिम दिशामा अवस्थित एक ऐतिहासिक पृष्ठभुमिले सज्जित जिल्ला हो “नुवाकोट” यस जिल्लाको अवस्थिति २७० ४५’ देखि २८० २०’ उत्तरी अक्षांस सम्म र ८५० ०’ देखि ८५० ४५’ पुर्व देशान्तर सम्मको फैलावटमा रहेको छ । समुन्द्र तहबाट न्यूनतम ४५७ मि. (रातमाटे टार ) देखि अधिकतम ५१४४ मि. (राउचुलि डाँडा) र अन्य बजार क्षेत्र नुवाकोट बजार ९७० मि., रानीपौवा बजार १८२८ मि., त्रिशुली बजार ५२५ मि., बट्टार बजार ५२७ मि. शिवपुरी डाँडो २५०० मि., बुङताङ २१२४ मि. उचाईमा भु–धरातल रहेको यस जिल्लाको क्षेत्रफल ११२१ वर्ग कि.मि. छ । जिल्लाको समग्र भु–भागलाई धरातलिय हिसाबमा ३ भागमा विभाजन गर्न सकिन्छ ।

(क) २५०० मि. भन्दा माथिको उच्च पहाडी भागः यसभागमा भाल्चे, फिकुरी, साल्मे, किम्ताङ, वर्सुन्चेत, घ्याङफेदि, बेतिनि, आदी यस क्षेत्रमा पर्ने प्रमुख स्थानहरु हुन ।

(ख) पहाडी भू–भाग: समुन्द्र सतहबाट २५०० मि. भन्दा तलको पहाडी क्षेत्र यस भू–भाग अन्तरगत पर्दछ । जिल्लाको अधिकांश भू–भाग ओगटेको र प्राकृतिक तथा सांस्कृतिक रुपमा विविधताको धनी यस भू–भागमा जनसंख्याको सर्वाधिक हिस्सा बसोबास गर्दछ । यस क्षेत्रले जिल्लाको राजनैतिक तथा आर्थिक क्षेत्रमा समेत उल्लेख्य प्रभाव पारेको छ ।

(ग) बेसी तथा समथर प्रदेश, टारफाँट: समुन्द्री सतहबाट ४५७ मि. भन्दा माथि २५०० मि. भन्दा तलको पहाडी भु–भाग भित्र पहाडको कुना कन्दराहरुमा छरिएर रहेका समथर मैदान, बेसि, र टारहरुलाई यस प्रदेशमा समावेश गर्न सकिन्छ । उत्पादनको दृष्टिकोणले अत्यन्त उर्वर टार तथा बेसी र फाँटहरुले जिल्लाको खाद्यान्न, तरकारी आपुर्तीमा उल्लेखनीय योगदान पुर्‍याएका हुन । जस्तै: सामरी फाँट, कल्याणपूर, आंगापुटार, तुप्चे, गौरीवेसी, बुहुनिबेसि, चैनपूर, गेर्खुटार, सिमुटार, बट्टार, पिपलटार, रातमाटेटार, तारुकाटार, दर्शनटार, भैरुमटार, सहरेटार, रिठ्ठेटार, ताप्केटार, काशीटार, थानसिङफाँट, लिुखुफाँट, सिमराफाँट, कविलासफाँट, महादेवफाँट, ढिकुरेफाँट, चाँउथेफाँट, लब्धु, सुगुरेफाँट, छत्रेफाँट, बाहुनबेसि, शिखरबेसी आदी ।

trishuli web design

पुर्वमा सिन्धुपाल्चोक, दक्षिणमा काठमाडौ र धादिङ, उत्तरतर्फ रसुवा र पश्चिममा धादिङ जिल्लासंग सिमाना जोडिएको यस जिल्लाको चौतर्फी सिमानाले कनै पनि अञ्चलको सिमाना र अन्तरराष्ट्रिय सिमानालाई छोएको छैन् । नदी, खोलानाला, पहाड र बाटोले भौगोलिक सिमाना छुट्याउने काम गरेका छन् ।

यसरी नुवाकोट जिल्ला नेपालको गौरवशाली ईतिहास, विविध धार्मिक तथा रमणीय पर्यटकिय स्थल सहितको महत्व बोकेका जिल्ला हो । यस जिल्लामा वि.सं. २०१७ कार्तिक ४ गते पश्चिम १ नं त्रिशुली बजार ठेगाना राखि सुगत सहकारी बिक्रि तथा ऋण संघ सहकारी विभाग, सिंहदरबार, काठमाडौमां दर्ता भई सञ्चालनमा आएपछि औपचारिक रुपमा सहकारी अभियान भित्रीएको देखिन्छ । जसलाई पछि जिल्ला साझा संघ लि. मा रुपान्तरण गरि सहकारी अभियानलाई निरन्तरता दिई प्रचलित सहकारी ऐन २०४८ अनुसार नेपाल सरकार कृषि तथा सहकारी मन्त्रालय सहकारी विभागमा मिति २०५० माघ २ को निर्णय अनुसार पुनः दर्ता कायम गराई सोही ऐन बमोजिम जिल्ला स्तरिय छाता संगठनका रुपमा जिल्ला सहकारी संघ लिमिटेड, नुवाकोट, विधिवत रुपमा दर्ता कायम भएको सहकारी संघ संस्थाहरुको साझा संगठन हो ।

जिल्लामा सहकारी संचालनका दौरानमा धेरै नै चुनौतिहरु देखिएका छन् जसमध्ये मुख्यतः सहकारीको अवधारणाबारे अल्पज्ञान र अस्पष्टता हुनु, व्यवस्थापकीय कार्यकुशलताको अभाव, नेतृत्वशैली कमजोर वा पदको लागि मात्र लोलुपता, संस्थाप्रति पूर्ण समपर्ण र विश्वासको कमी, व्यावसायिक बन्न नसक्नु, इमान्दिारिता, पारदर्शीता र जवाफदेहितामा कमी, सहकारी माथि सरकारी लगानी न्यून हुनु, दाहोरो सदस्यता, अस्वस्थ्य प्रतिस्पर्धा हुनु, नितीगत समस्याहरु रहनु आदी छन् । उपरोक्त चुनौतिहरु समाधानका लागि सहकारीहरु बीच एकता तथा एकिकरण, सघ संंस्था संचालनका लागि आबश्यक नीति निर्माण र त्यसको कार्यान्वयन, व्यापक रुपमा सहकारी शिक्षा तथा तालिमको व्यवस्था, सदस्यता विस्तार एंव संस्थाको उत्पादन तथा सेवाको गुणस्तर वृद्धिका लागि समय सापेक्ष कार्यक्रमहरु सञ्चालन, व्यवस्थापकीय क्षमता अभिवृद्धि एंव प्रविधिमा जोड, नेतृत्व विकास, व्यवसायिकतामा जोड, महिला तथा युवाहरुको सक्रिय सहभागिता आदि पर्दछन् ।

समाजमा छरिएर रहेको स्रोत साधन, पुंजीलाइ समूचित परिचालन गरी सदस्य संघ संस्थाहरु तथा तीनमा आबद्ध सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक अबस्थामा सुधार ल्याउने उदेश्यका साथ सहकारी ब्यवसाय, सहकारी मूल्य, मान्यता र सिद्धान्तमा आधारित रही दिगोरुपमा अगाडी बढाउन एक सबल र सक्षम नेतृत्वदायि निकायको आबश्यता महसुस भए पछि वि.सं.२०१७ साल कार्तिक ०४ गते सहकारी कार्यालय, सहकारी विभाग सिहंदरबारमा नं. १६-४-७/२०१७ मा दर्ता भई सबै सहकारी संघ/सस्थाहरुको अभिभावक संघ रुपमा क्रियाशिल रहेको छ । यस संघले सहकारी अभियानको संस्थागत विकास र संरक्षण गर्ने छाता संघको रुपमा काम गदै आफ्ना सदस्य संघ संस्थाहरुलाइ विकास, प्रबर्द्धन र परामर्श सेवा दिदै आएको छ ।

२०१७ सालमा स्थापित यो संघ २०४८ साल सम्म सरकार नियन्त्रित रुपमा सञ्चालनमा रह्यो । सहकारी ऐन लागू भए पछि संघलाई क्रियाशिल बनाई यस क्षेत्रका सहकारी संस्थाहरुलाई एउटै छाता भित्र समेट्ने गरी तपसिल बमोजिमका ब्यक्तित्वहरुले अध्यक्षता ग्रहण गरी संघलाई अघि बढाउनयोगदान गरेको देखिन्छ ।

क्र.सं.नामथरअवधि (आ.व.)प्रतिनित्व गरेको संस्था/कार्यालय
१.श्री श्याम बहादुर शाही२०३५ देखि २०३७ सम्मजिल्ला पञ्चायत सभापति
२.श्री गोविन्द प्रसाद पाण्डे२०३७ देखि २०४२ सम्मजिल्ला पञ्चायत सभापति
३.श्री अर्जुन नरसिंह के.सि.२०४२ देखि २०४६ सम्मजिल्ला पञ्चायत सभापति
४.श्री प्रेमदिप थपलिया२०४९ देखि २०५६ सम्मदाङमाई
५.श्री पुर्णलाल श्रेष्ठ२०५६ देखि २०६३ सम्मविदुर कल्याणकारी बहुमुखि स. संस्था लि.
६.श्री बैकुण्ठ मिश्र२०६३ देखि २०७३ सम्मगोसाईकुण्ड बहुउद्देश्यिय स. संस्था लि.
७.श्री राजेश श्रेष्ठ२०७३ देखि २०७७ सम्मत्रिशुली बचत तथा ऋण स. संस्था लि.

बि.सं. २०४८ साल श्रावण महिनाबाट पुर्नगठन भई नुवाकोटको विदुर न.पा., विदुर–३ मा कार्यालय स्थापना गरी व्यवसायिक क्रियाकलाप संचालनमा रहेको यस संघको आर्थिक रुपमा ठूलो दायित्व कृषि विकाश बैंकको ऋण र भुक्तानी दिन पर्ने बांकि रकम रहेको थियो । जसलाई यस संघ संग आवद्ध संस्थाहरु मध्य ७ वटा संस्थाहरुको अथक प्रयाश र निरन्तर सहयोगले कृषि विकाश बैंकको ऋण भुक्तान गरि पूर्ण स्वामित्वमा संघ सञ्चालन गरिंदै आइरहेको छ ।

१. पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था लि.
२. त्रिशुली बचत तथा ऋण सहकारी संस्था लि.
३. मातृभुमि बहुउद्देश्यीय सहकारी संस्था लि.
४. बट्टार सहकारी संस्था लि.
५. श्यामलेश्वर बहुउद्देशिय सहकारी संस्था लि.
६. ॐ श्री गोसांईकुण्ड बहुउद्देशिय सहकारी संस्था लि.
७. सुलक्षणा बहुउद्देशिय सहकारी संस्था लि.

यद्यपि, यस संघको पुरानो धङधङ्तिको अवस्थामा रहेको भुक्तानि दिन पर्ने र पाउनु पर्ने रकम बांकी रहेको पाईएकोले २०६३ को सम्पन्न १४ औं वार्षिक साधारण सभा देखि लगातार रुपमामा लेखा समितिको प्रतिबेदनबाट २०५६ साल भन्दा अधिको पुरानो हिसाब किताबहरु राफसाफ गर्न सुझाव गरिएकोमा २०६६।०१।१७ मा पत्रपत्रिकामा सुचना प्रकाशित गरि २०६६/०३/२८ गतेको निर्णय बाट पुरानो हिसाब किताबहरु राफसाफ गरि मिति २०६६/०४/०१ देखि हरहिसाव चुस्त दुरुस्त राख्ने कार्य गरियो ।

लेखा समिति
संयोजक: श्री राजेश श्रेष्ठ
सदस्य: श्री बलराम प्याकुरेल
सदस्य: श्री रमेश कुमार श्रेष्ठ

अब उप्रान्त जिल्ला सहकारी संघ पूर्णरुपमा सदस्य केन्द्रित व्यवसाय तर्फ उन्मुख हुनु पर्छ भन्ने अवधारणाको परिणाम संघको २० औं वार्षिक साधारणसभाको स्वीकृत वार्षिक कार्यक्रम तथा बजेट अनुसार संघले २०६९ साल चैत्रमा सहकारी छापाखानको सञ्चालनको लागि जिल्ला प्रशासन कार्यालय नुवाकोटमा छापाखाना दर्ता, विदुर नगरपालिकामा व्यवसाय दर्ता र आयकरमा दर्ता गरि करिब २५ लाखको लागतमा स्थापना गरियो । हाल सहकारी छापाखानाको निरन्तर सञ्चालन हुदैं आएको छ । यस छापाखाना संचालनले प्रत्यक्ष अप्रत्यक्ष ६ जनालाई रोजगारी सिर्जना गराएको छ भने सदस्य संघ संस्था र सेवाग्राहीलाई गुणस्तरिय र सुलभ सेवा प्रदान गर्दै आएको छ । हाल उक्त सहकारी छापाखानाको संचालन व्यवस्थापन मौजुदा कर्मचारीहरुलाई लीज प्रक्रियामा दिईएको छ ।

नेपालमै पहिलोपटक उदाहरणीय हुने गरि सहकारी बजार प्रवद्र्धन तथा विकाश गर्न सहकारी संघसंस्थाहरुको शेयर लगानीमा निर्माण भएको व्यवसायिक भवन यस संघको व्यवसायिक ईकाइको रुपमा सञ्चालनमा रहेको छ । यसको अझ कुशल व्यवस्थापनको लागि विगतमा यस संघको विभिन्न वार्षिक साधारण सभाबाट पारित भए अनुसार संघको स्वामित्वमा रहेको विदुर ३ स्थित कि.न. ४८९ क्षेत्रफल ३–१५–३–२ को जग्गा मध्ये २ रोपनी जग्गाको मुल्य बराबर संघको शेयर कायम हुने गरि संघको र सदस्य संस्थाहरुको शेयर सहभागीतामा व्यवसायिक विशिष्टिकृत सहकारी संघको गठन वा सहकारी बहुउद्धेश्यीय व्यवसायिक ईकाइको गठन गर्ने प्रक्रिया सहकारी नियामावलि तथा कार्यविधि अनुसार हुनु पर्दछ । यसको प्रथम, दोस्रो र तेस्रो तल्लाहरुमा सहकारी संघ संस्थाहरु, बैंक तथा वित्तिय संस्थाहरु र विभिन्न कार्यालयहरु संचालनमा आइसकेको छ भने चौथो तल्ला अतिथि सदन र पा“चौ तल्लामा प्रदेश र स्थानिय निकायको सहयोग तथा शेयर सहभागितामा अत्याधुनिक सुविधा सम्पन्न सभा हलको रुपमा निर्माण गरिनु पर्दछ र बांकि रहेको जग्गामा जिल्ला सहकारी संघको व्यवस्थापनमा सहकारी बजार विकास कार्यक्रम अन्तरगत फलफूल तथा तरकारी बजार, सहकारी प्रबद्र्धन केन्द्र, सुपथ मुल्य पसल (Coop Fare Shop) र सहकारी सम्बद्र्धन केन्द्र स्थापना गर्न सहकारी बजार विकास कार्यक्रम (CMDP) संग ५० प्रतिशत लागत सहभागितामा भवन निमार्ण भईसकेको छ । उक्त फलफूल तथा तरकारी बजार, सहकारी प्रबद्र्धन केन्द्र, सुपथ मुल्य पसल (Coop Fare Shop) र सहकारी सम्बद्र्धन केन्द्र स्थापना गर्न सहकारी बजार विकास कार्यक्रम (CMDP) संग थप संम्झौता गरिनु आवश्यक देखिन्छ ।

हाल जिल्ला सहकारी संघ लिमिटेड, नुवाकोट वि.न.पा.–२ स्थित सुविधा सम्पन्न आफ्नै व्यवशायिक भवनमा विभिन्न व्यवशाय तथा सेवाका साथ दैनिक कार्य सञ्चालन गर्दै आई रहेको छ । यस अन्तरगत संघको व्यबस्थापक र कार्यालय सहयोगि सहित छापाखानामा ३ जना, व्यबशायिक भवनमा १ जना र सहकारी बजार विकाश कार्यक्रममा चालक सहित ३ जना गरि जम्मा ९ जना कर्मचारी कार्यरत छन ।

जिल्ला सहकारी संघको स्थिर सम्पत्तिहरुमा जिल्ला सहकारी संघ लि. विदुरमा जिल्ला सहकारी संघ लि. को नाममा दर्ता रहेको अचल संपत्ति २ वटा व्यवशायिक भवन (जि.नु.वि.न.पा. वडा नं. २ मा रहेको कि.नं. ४८९ को ३-१५-३-२ क्षेत्रफल) र नुवाकोटमा कि.नं. ४३१ को ४-७-१-२ क्षेत्रफलको जग्गा तथा सहकारी छापाखाना मेसिन, २ वटा कोल्ड च्याम्बर, चमेना गृह, टेवुल, कुर्चि, दराज, टेलिफोन, कम्प्युटर, फोटोकपी मेसिन, प्रिन्टर आदि रहेका छन् ।

संस्थाको आर्थिक कारोवार दोहोरो लेखा प्रणालि अनुसार लेखा राख्ने गरिएको छ । कम्प्युटराइज्ड लेखा प्रणालि अनुसार राख्ने गरिएको लेखाको सत्यता र एकिन गर्न भरपर्दो भएपनि कार्यान्वयन प्रभाबकारि रुपमा हुन सकेको छैन । न्यूनतम समयमा प्रतिबेदन तयार र विस्लेषण गरि समस्या पत्ता लगाउन र व्यापार संचालन विश्लेषण मार्फत समसामयिक निर्णय लिन उपयुक्त सुधारको आवश्यकता रहेको छ ।

आ. ब . २०७६/७७ सम्म यस सङ्घको कुल सम्पति करिब ४ करोड २ लाख रहेको छ । कुल सम्पति मध्य स्थिर सम्पतिको अंश ९२ प्रतिसत रहेको छ, जसको कारणले सङ्घको कुल खर्चमा ह्रास खर्चको (Depreciation) ठुलो अंश रहेको छ । आ. ब . २०७६/७७को खर्चको संरचनामा र्हास खर्चको अंश ३२ प्रतिसत रह्यो । ह्रास खर्चको लागि नगदको भुक्तानि गर्न नपर्ने भएतापनि लेखाको सिद्धान्त अनुसार गैर नगद खर्चको रुपमा लेखाङ्कन गर्नु पर्ने हुन्छ ।

सङ्घको बित्तिय संरचनामा करिब ५२ प्रतिसत अंश ब्याज तिर्नुपर्ने दायित्व (Interest Bearing Liabilities) देखिन्छ । हालको बित्तिय स्रोतको लागत १० देखि ११.५ प्रतिशत रहेको छ । यसको कारणले पनि सङ्घको कुल खर्चलाइ बढाएको देखिन्छ । कुल खर्चको अनुपातमा हेर्दा, ब्याज खर्चको अंश मात्रै ४४ प्रतिशत रहेको छ । यि माथि उल्लेखित कारणले गर्दा सङ्घको कुल सम्पति अघिल्लो बर्षको तुलनामा घटेको देखिन्छ ।

(लेखक जिल्ला सहकारी संघ नुवाकोटका निवर्तमान अध्यक्ष हुन् । यो लेख संगम बचत तथा ऋण सहकारी संस्थाको रजत महोत्सव स्मारिका २०७८ मा प्रकाशित छन् )

Diyo Pathshala Montessori
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top