२०८१, ११ बैशाख मंगलवार

नुवाकोट बहुमुखी क्याम्पस र प्रदेश विश्वविद्यालय

रामलाल श्रेष्ठ     श्रावण २९ २०७८ ०६:२१

ramlal shrestha nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट जिल्लाकै पुरानो क्याम्पस नुवाकोट आदर्श बहुमुखी क्याम्पस समुदायको सामुहिक प्रयत्‍नले २०४२ सालमा त्रिभुवन विश्वविद्यालयको सम्वधनमा स्थापना भएको एउटा आदर्श क्याम्पस हो। यो क्याम्पस ४० रोपनी जग्गामा आफ्नै भवन सहित विगत ३६ बर्षदेखि सञ्चालित छ। ब्यवस्थापन, मानविकी, शिक्षा संकायको अध्ययन अध्यापन हुने यो क्याम्पस विगत केही बर्षदेखि समुदायको चासोबाट अलग्गि रहेको छ।

त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालन हुदै आएको नुवाकोट आदर्श बहुमुखी क्याम्पसलाई २०७४ साल चैत २ गते सम्वन्धन नविकरणको लागि क्याम्पस विधानमा तिनवटा विषय स्पष्ट हुने गरी संसोधन गरी पठाउन आग्रह गरिएको थियो।

१. पुरानो बिधानमा ब्यवस्था गरिएको क्याम्पस सभाले आफ्नो पदावधी सकिनु एक महिना अगावै संचालक समितीको अगामी कार्यकालको लागि तिनजना अध्यक्षको उम्मेदवारको नाम सिफारिस गरी त्रिभुवन विश्वविद्यालय उपकुलपति समक्ष पठाउने ब्यवस्थाको ठाउँमा क्याम्पस सभाले सञ्चालक समितीको अध्यक्ष लगायत पदाधिकारी समेत क्याम्पस सभाले छनौट वा निर्वाचन गर्ने प्रावधान राख्नुपर्ने।

२. क्याम्पस विधानमा क्याम्पस विधटन भएको वा सञ्चालन हुन नसकेको अवस्थामा क्याम्पसको चल अचल सम्पत्ति सवै त्रिभुवन विश्वविद्यालय वा नेपाल सरकारको हुने भन्ने प्रावधान स्पष्ट उल्लेख हुनुपर्ने।

३. बिधानको प्रस्तावनामा स्पष्टरुपले समुदायीक क्याम्पसको हकमा गैरनाफामूलक सामुदायिक क्याम्पस हो भनेर उल्लेख हुनुपर्ने भन्ने ब्यबस्था हुनु पर्ने।

यी तिन बुँदा थप वा अन्यथा भए संसोधन गरी क्याम्पसको विधान निर्माण गरी जतिसके चाडो पठाउन २०७४ चैत २ गते सार्वजनिक सूचना मार्फत सबै सामुदायिक क्याम्पस लाइ सूचित गरिएको थियो। तत्कालीन अवस्थामा सञ्चालक समितीमा रहनुभएका अध्यक्ष लगायत सञ्चालक सदस्यहरुको यथेष्ट ध्यानाकर्षण त्रिवीको यो सूचनामा नपुगेको र उक्त सूचना बिधान विना सञ्चाललित नयाँ क्याम्पसहरुको लागी होला भन्ने मनासायले उक्त सूचनामा उल्लेखीत कार्यहरू गर्न आवश्यक नरहेको भान पर्न गइ उपरोक्त कार्यहरू गर्ने काम भएन।

पछिल्ला बर्षहरुमा त्रिभुवन विश्वविद्यालयबाट उल्लेखित कार्यहरु पुराना तथा नयाँ स्थापना भएका सवै सामुदायिक क्याम्पसहरूमा समेत अनिवार्य रहेको पटकपटकको सूचना तथा अनुगमनका बावजुद नुवाकोट क्याम्पसको विधान निर्माण हुन सकेन। गत बर्ष विधान निर्माण गर्ने कार्यमा तत्काल पदावधी समाप्त भैसकेका सञ्चालक समितिबाट दुईवटा विधान निर्माण भइ त्रिवी पदाधिकारी समक्ष पेस भएको अवस्थामा कुनै एउटा विधानलाई मान्यता दिन नसकिने हुदा सर्वसम्मत एउटै विधान निर्माण गरी पेश गर्न स्थानीय समाजसेवी र प्रबुद्धवर्गको समेत प्रतिनिधित्व हुनेगरी रामशरण प्याकुरेललाई संयोजक तोकी विधान मस्यौदा समिति निर्माण गर्ने, विधान मस्यौदा गरी त्रिवी पदाधिकारी समक्ष पेश गर्ने, स्वीकृत विधानअनुसार क्यापस सभा गठन गरी सञ्चालक समिति गठन गरी नुवाकोट आदर्श बहुमुखी क्याम्पस समुदायमा हस्तारण गर्ने जिम्मेवारी सहित कार्यस्थलमा हाल खटिरहेको अवस्था छ।

शिक्षा केन्द्रित समाज

नुवाकोट जिल्ला उच्च शिक्षाको लागि राज्यले लगानी गर्न नसकेको एक मात्र जिल्ला हो। पुरानो बागमती अञ्चलको आठ जिल्लामध्ये र आजको बागमती प्रदेशको तेह्र जिल्लामध्ये नुवाकोट उच्च शिक्षामा निकै नै पछाडि परेको जिल्ला हो। काठमाडौं उपत्यकापछि पछिल्लो समय काभ्रेपलाञ्चोक जिल्ला शिक्षामा निकै अब्बल ढंगले काठमाडौं विश्वविद्यालय स्थापनासहित निकै अगाडि छ भने चितवन जिल्ला कृषि तथा पशुपालन विश्वविद्यालय सहित निजी क्षेत्रको लगानिमा मेडिकल कलेजसहित शिक्षामा अब्बल जिल्लामा रुपान्तरण भैरहेको छ। प्रदेशकै राजधानी हेटौडा वन, विज्ञान अध्ययन संस्थान र मदन भण्डारी विश्वविद्यालयसहित आफूलाई अब्बल जिल्लामा रुपान्तरण गरिरहेको छ। यसरी काठमाडौं उपत्यकाको तिनतिरै काभ्रे, चितवन र मकवानपुरले शिक्षामा यति लामो फडको मारीसक्दा पनी नुवाकोटमा भएको एउटा सामुदायिक क्याम्पस पनी बैधानिक र नियम संगतढंगले सञ्चालन गर्न नसक्नु लाजमर्दो स्थिति नै हो। यसले स्पष्ट ढंगले नुवाकोट जिल्लाबासी वा समाज शिक्षा प्रति चासो नराख्ने र शिक्षित समाज निर्माण गर्न उदासिन रहने समाज हो भन्दा अतिशयोक्ति नहोला।

समाज रुपान्तरणको बाटो देखाउने राजनीतिक नेतृत्वले हो। समाज रुपान्तरणको पहिलो खुटकिलो शिक्षित मानिसहरुको निर्माण गर्नु हो। शिक्षित मानिस विना असल मानिसहरुको कल्पना गर्न सकिदैन। असल मानिसहरु विना असल समाजको निर्माण सम्भव नै हुदैन। नुवाकोट जिल्लाका राजनीतिक नेतृत्व र बौद्धिक बर्गसमेतले समाज रुपान्तरणको यो सामान्य सूत्र समेत बुझिरहेको अवस्था छैन। छिमेकी जिल्लाहरुले शिक्षामा यतिधेरै फटको मारीसक्दा पनी हामी सुतिरहेका छौ। राजनितीक नेतृत्वसंग नुवाकोट जिल्लामा उच्च शिक्षाको लागि एउटा गुणस्तरीय क्याम्पस वा विश्वविद्यालयको निर्माणमा पटक्कै चासो देखिएको छैन। भएको एउटा नुवाकोट आदर्श बहुमुखी सामुदायिक क्याम्पस समेत गुणस्तर प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामा समेत प्रवेश गर्न नसक्ने स्थितिमा पुगिसकेको छ। यो स्थिति भनेको नुवाकोटको बौद्धिकवर्ग र राजनीतिक नेतृत्व समेत मानिसको जिवनमा शिक्षाको महत्व नबुझ्ने समाजमा रुपान्तरण भैरहेको देखिन्छ।

यस्तो स्थिति किन भयो?

यो गभ्मीर समिक्षाको विषय हो। नुवाकोट जिल्ला वासीका नाताले प्रत्येक राजनीतिक नेतृत्व र बौद्धिक बर्गले आत्म समिक्षा गर्नु पर्ने देखिन्छ। बहुदलिय ब्यवस्थाको ३० बर्षको शासनकालमा राज्यको माथिल्लो निकायमा नुवाकोटको राजनीतिक नेतृत्व नपुगेको विरलै एकाध बर्षहरु होलान। तिस बर्षको लगातार शासन सत्तामा रहेर पनी नुवाकोट जिल्लाको राजनीतिक नेतृत्वले एउटा सामुदायिक क्याम्पसलाई त्रि वी को आंगिक क्याम्पस समेत बनाउने सोच राखेनन। त्यती मात्र होइन पुर्व एक नम्वर काभ्रे जिल्लाले शिक्षामा काठमाडौं उपत्यकालाइ चुनौति दिने गरी काठमाडौं विश्वविद्यालय स्थापना गर्दै गर्दा नुवाकोटमा पनि पस्चिम एक नम्वरको नुवाकोटमा एउटा विश्वविद्यालय स्थापना गर्नु पर्दछ भन्ने चेत कीन आएन।? यस्को उत्तर भावी पुस्ताले जरुर खोज्नेछ।

अव के गर्ने?

नुवाकोट आदर्श बहुमुखी क्याम्पसको नयाँ विधान निर्माण गर्ने जिम्मेवारी त्रिविले रामशरण प्याकुरेललाई दिइसकेको स्थिति छ। रामशरण प्याकुरेलबाट नुवाकोट जिल्लाको राजनीतिक नेतृत्व, बुद्धिजीवी र स्थानिय समाजसेवी सवैलाइ समेटेर १७ सदस्यीय विधान मस्यौदा समितिले काम गरिरहेको अवस्था छ। विधान मस्यौदा समितिले पाँच सदस्यीय विधान लेखन उपसमिति निर्माण गरी जिल्ला कै पुरानो र एक मात्र सामुदायिक क्याम्पसको विधान लेख्ने प्रयोजनको लागि सर्वपक्षिय छलफलहरु गर्दै सवैवाट राय सल्लाह तथा सुझाव लिने कार्य गरिरहेको छ। छलफलमा नुवाकोट आदर्श बहुमुखी क्याम्पसलाई प्रदेश विश्वविद्यालयमा स्तरउन्नती गर्ने चिन्तन पनि जोडतोडले उठेको छ। नुवाकोट आदर्श बहुमुखी क्याम्पसलाई बागमती प्रदेश विश्वविद्यालय बनाउन पहल गर्नुपर्ने आवाज घनिभूत रुपमा आएको छ। गण्डकी प्रदेशले प्रदेशस्तरीय विश्वविद्यालय निर्माण गरी उपकुलपति समेत नियुक्त गरेर काम अगाडी बढाइसकेको अवस्थामा बागमती प्रदेश उच्च शिक्षा विधेयक मस्यौदा गर्ने स्थितिमा मात्र छ। केही समयपछि बागमती प्रदेशले उच्च शिक्षा बिधेयक पारित हुनासाथ नुवाकोट जिल्लाले पहिलो अवश्यकताको आधारमा प्रदेश विश्वविद्यालयको दावी पेश गर्नुपर्ने हुन्छ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पसको बिधान निर्माण गर्दे गर्दा यो क्याम्पसको प्रमुख संरक्षक प्रदेश मूख्यमन्त्रीलाई राख्ने र संरक्षकमा विदुर नगरपालिकाको मेयरलाई राखी प्रदेश र स्थानीय सरकारको संरक्षणमा बागमती प्रदेश विश्वविद्यालय स्थापना गर्ने नयाँ अवधारणा अगाडि सार्ने सम्वन्धमा छलफल चलिरहेको छ। त्यसैगरी प्रदेस विश्वविद्यालयमा मुनाफारहित सर्वसाधारणको स्वामीत्व रहने गरी विश्वविद्यालय सभा वा सिनेटमा कम्तीमा पच्चिस हजार योगदान गर्न इच्छुक ब्यक्तिहरु विश्वविद्यालय सभासदको सदस्य हुने प्रावधानको समेत परिकल्पना गरिएको छ। कम्तीमा पच्चिस हजार मूनाफा रहित योगदान गर्न इच्छुक ब्यक्ति तथा संघसंस्थाहरू विश्वविद्यालय सभाको सदश्य बन्न योग्य हुने प्रावधान राखी शिक्षामा समुदायको मूनाफारहित योगदान र सञ्चालक समितिमा समेत प्रतिनिधित्व गराइ उच्च शिक्षामा समुदायको योगदान र चासो निरन्तर कायम राख्ने नयाँ अवधारणामा जाने की भन्ने सम्बन्धमा समेत छलफल जारी छ। त्यसैगरी सरकारी तथा सामुदायिक शिक्षण संस्थाहरूमा गुणस्तर सम्बन्धित प्रश्न उठिरहेको स्थितिलाइ अन्त्य गर्न क्याम्पस तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीकै अभिभावकलाइ विश्वविद्यालय सभामा ल्याउने र त्यसमार्फत कार्यकारी परिषदमा समेत अभिभावकको प्रतिनिधित्व गराउन २५ विद्यार्थी बराबर एक जना अभिभावकको क्याम्पस तथा विश्वविद्यालय सभामा प्रतिनिधित्व गराउने सम्वन्धमा समेत छलफल चलिरहेको छ।

क्याम्पस तथा विश्वविद्यालय प्राज्ञीक थलो भएको र प्राज्ञिक ब्यक्तित्वहरुलाइ बढी भन्दा बढी संख्यामा क्याम्पससभामा र सञ्चालक समितिमा प्रतिनिधित्व गराउने सम्बन्धमा समेत गम्भीर चिन्तन भैरहेको छ। बिगतका तितामिठा अनुभवबाट सिक्दै आगामी दिनमा प्राज्ञिक थलोमा प्राज्ञिक ब्यक्तिहरूकै नेतृत्व स्थापना गरी गुणस्तरीय शिक्षा दिने प्राज्ञिक थलो निर्माण गर्ने सम्वन्धमा समेत जिल्ला भरीका इच्छुक प्राज्ञिक ब्यक्तित्वलाइ आर्थिक योगदान सहित विश्वविद्यालय सभाको सदस्य बन्न आकर्षित गर्ने सम्वन्धमा समेत छलफल चलिरहेको छ। कम्तीमा स्नातक उतिर्ण विद्यालय तथा विश्वविद्यालयमातहमा रहेर १५ बर्ष अध्ययन अध्यापन गरेका प्राज्ञहरूलाइ कम्तीमा १५ हजार मुनाफा रहित आर्थिक सहयोग गरी वा २० बर्ष भन्दा लामो समयसम्म अध्यापन तथा विध्यालय प्रमुख रहेका प्राज्ञहरु विना लगानी सभाको सदस्य बन्न सक्ने प्रावधान सम्वन्धमा समेत छलफल चलिरहेको छ।

जिल्लाभरि नुवाकोट आदर्श बहुमुखी क्याम्पसवाट उच्च शिक्षा हासिल गरी विभीन्न पेशा तथा ब्यवसायमा संलग्न पुर्व विद्यार्थीहरुलाइ समेत क्याम्पस सभा तथा विश्वविद्यालय सभामा एथेष्ट संख्यामा मनोनीत गरी क्याम्पसमा योगदान गराउने सम्वन्धमा समेत छलफल चलिरहेको छ।
बिगतका दिनहरूमा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनमा निर्वाचीत स्ववियु सभापतिहरु सबैलाई क्याम्पस सभामा मनोनयन गरी क्याम्पसको आगामी दिनहरुमा महत्वपूर्ण योगदान गर्ने परिस्थिति निर्माण गराउने प्रावधान सम्वन्धमा चिन्तन भैरहेको छ। जिल्लामा क्रियाशील जिल्ला पत्रकार महासंघ, जिल्ला वार एसोसिएसन, जिल्ला चेम्बर अफ कमर्स एशोसियसन, उद्योग वाणिज्य संघ, जिल्ला शिक्षक एशोसियसन जस्ता संघ संस्थाका प्रतिनिधिहरुलाइ क्याम्पस सभा तथा विश्वविद्यालय सेनेटमा प्रतिनिधित्व गराउने ब्यबस्था समेत राखी क्याम्पस तथा विश्वविद्यालयलाइ प्राज्ञिक थलोको रुपमा विकास गर्ने नयाँ अवधारणा अगाडि सारीएको छ।

नुवाकोट जिल्लावासीले नुवाकोट बागमती प्रदेशको राजधानीको लागि उपयुक्त स्थल समेत हो भनेर नुवाकोट सरोकार समाजमार्फत आफ्नो अवधारणा सार्वजनिक गर्ने काम समेत गरेको सवैलाई सर्वविदितै छ। नुवाकोट जिल्ला शिक्षामा निकै पछाडि परेको आजको सन्दर्भमा प्रदेश विश्वविद्यालय स्थापनामा सबै राजनीतिक नेतृत्व, बुद्धिजीवी र समाजसेवी एकजुट भइ लाग्न जरुरी छ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पसको बिधान मस्यौदा समितिको छलफलमा सक्रिय सहभागिता जनाउदै शिक्षा केन्द्रीत समाज निर्माणमा सबैको सहयोगको हार्दिक अपेक्षा गर्दछौ।

नुवाकोटले प्रदेश राजधानी प्राप्त गर्न असफल रहेपनी आगामी दिनमा नुवाकोटमा नयाँ काठमाडौं बन्ने प्रशस्त संभावना छ। छहरे-टोखा-सुरुङ मार्ग खुल्नासाथ नुवाकोट नयाँ काठमाडौंमा रुपान्तरण हुनेछ। आजैदेखि शिक्षामा यथेष्ट ध्यान दिदै नुवाकोटमा नयाँ काठमाडौं निर्माणको पहिलो खुटकिलो नुवाकोट आदर्श बहुमुखी क्याम्पसलाई बागमती प्रदेश विश्वविद्यालयमा रुपान्तरण गर्न हाम्रो ध्यान केन्द्रित गरौ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top