विदुर, नुवाकोट – नुवाकोटमा सुरक्षा सतर्कता र अपराधिक क्रियाकलाप घट्दै गएको जिल्ला प्रहरीको तथ्यांकले देखाएको छ।
जिल्ला प्रहरी कार्यालयले बुधबार आयोजित वार्षिक प्रगति विवरण तथा भावी योजना कार्यक्रममा प्रहरी प्रमुख अविनारायण काफ्लेले विगतका वर्षभन्दा आव २०७६/७७ मा अपराधिक क्रियाकलाप घटेको बताए। उनले शान्ति सुरक्षाको सवालमा कसैसँग पनि सम्झौता नहुने बताए ।
सफल अनुसन्धान
आव २०७६/७७ मा दुई स्थानमा गाई काट्ने कार्यमा संलग्न ३ जनालाई पक्राउ गरि गौवध कसूर अन्तर्गत मुद्दा चलाईएको थियो । दुई नाल अवैध हतियार र ४४ पिस गोली सहित तीन जनालाई नियन्त्रणमा लिएको थियो ।
लागूऔषध ब्राउन सुगर १.७ ग्राम, डाईजेपाम-७१ पिस एम्पुल, नाईट्राभेट-५२ एम्पुल, प्रोमेथोजाईम-४३, ब्रुपरेनोफेन-४३, एम्पुल एस्पासमो-७ र ट्रमा-३ पिस गरी जम्मा दुई सय १९ एम्पुल, सिरिन्स-२ पिस र पाँच सय ४५ ग्राम गाजाँसहित १३ जनालाई पक्राउ गरेको थियो ।
चोरी कार्यमा संलग्न २४ जना पुरुष र १ जना महिला समेतलाई पक्राउ गरिएको । कर्तव्य ज्यान अपराधमा संलग्न ८ जना पुरुष र ५ जना महिलालाई पक्राउ गरेको थियो ।
जवरजस्ती करणीमा तथा देह व्यापारमा संलग्न सहित २६ जनालाई नियन्त्रणमा लिइएको थियो ।
जिल्लामा वहुविवाह ७ वटा तथा बाल बिबाह ५ वटा समेत संलग्नता रहेको १२ जना पुरुष र १२ जना महिला तथा बालबालिका समेतलाई पक्राउ गरिएको थियो ।
पोलीग्राफीको प्रयोगबाट अपराध अनुसन्धान
मुद्दा दर्ता रही पक्राउ परेका प्रतिवादीहरुले घटनामा बयान फेरेकै आधारमा पोलिग्राफीको प्रयोगबाट गत आव २०७६/७७ मा चार किसीमका अपराधहरुमा नुवाकोट प्रहरीले थप सोधपुछ गरि सफलता प्राप्त गरेको छ ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा एक जना र कर्तव्य ज्यानका ६ वटा मुद्दामा ५ जना पुरुष र ३ जना महिला गरी ८ जनालाई पक्राउ गरी मुद्दा अनुसन्धान पश्चात् कारागार चलान भएको छ ।
यस्तै, लागु औषध ब्राउन सुगर मुद्दामा ४ जना र हातहतियार तथा खरखजाना मुद्दामा २ जनालाई कारागार चलान भएको छ ।
सात बिप्लब कार्यकर्ता पक्राउ
अपराधिक प्रवेश तथा अपराधिक उपद्रव सम्बन्धी कसुर, सार्वजनिक हित, स्वास्थ्य, नैतिकता र सुरक्षा शान्ति विरुद्ध, चन्दा सम्बन्धी कसुर र आगजनी कसुरमा नुवाकोट प्रहरीले जिल्लाबाट ६ जना र काठमाडौंबाट १ जनालाई पक्राउ गरेको थियो। पक्राउ परेकाहरुमा ६ जना धरौटीमा छुटेका र १ जना धरौटी बुझाउन नसकी जिल्ला कारागार चलान भएको छ।
फरार अपराधी पक्राउ
नुवाकोट प्रहरीले सवारी ज्यान, ज्यान मार्ने र लागुऔषध अपराधमा १/१ जनालाई पक्राउ सफल भएका थिए। अदालतबाट फैसला भइ फरार रहेका अपराधीहरुलाई नुवाकोटका २ र धादिङका १ जनालाई पक्राउ गरेको थियो।
यस्तै, कर्तव्य ज्यान मुद्दामा ५ र मानव बेचबिखनमा १ जनालाई पक्रन सफल भएको थियो। कर्तव्य ज्यान मुद्दामा २०५६ सालदेखि फरार रहेका भरत सुनुवार र २०६१ सालदेखि फरार अभियुक्तहरु सन्त बहादुर तामाङ, केशव तामाङ, प्रेम लामा र परी लामालाई पक्राउ गरि जिल्ला अदालतको फैसला अनुसार कारागार चलान गरेको थियो।
मानव बेचबिखनमा २०७१ सालदेखि फरार रहेकी सरस्वती तामाङ भनिने सारिका जेर्कु मेन्दो तामाङलाई काठमाण्डौ काभ्रेस्थलीबाट पक्राउ गरी लागि कारागार चलान गरेको थियो ।
आवेशमा आत्महत्याग गर्ने बढी

तीन वर्षको अवधिमा नुवाकोटमा एक सय ७२ जनाले आत्महत्या गरेका छन् । नुवाकोट प्रहरीको तथ्यांकअनुसार आव २०७४/७५ मा ६१ जना, २०७५/७६ मा ४६ जना र २०७६/७७ मा ६५ जनाले आत्महत्या गरेका छन् ।
अनुसन्धानको क्रममा तीन वर्षको अवधिमा ८८ जनाले आवेसको कारणले आत्महत्या गरेका छन् । यस्तै, गरिबिको कारण ४४, प्रेममा धोका खाएर ६, दीर्घरोगका कारण १०, मानसिक रोगका कारण २१ र अन्य कारणले ३ जनाले आत्महत्या गरेका छन् ।
सवारी दुर्घटना

गत आव २०७६/७७ मा ११ वटा सवारी दुर्घटना हुदाँ १३ जनाले ज्यान गुमाएका थिए भने ११ जना घाइते भएका छन् । आव २०७५/७६ मा १५ वटा सवारी दुर्घटना हुदाँ २३ जनाको ज्यान गएको थियो भने ३५ जना घाइते भएका थिए । आव २०७४/७५ मा १६ वटा सवारी दुर्घटना हुँदा ३५ जनाको ज्यान गएको र ५१ जना घाइते भएका थिए ।
राजश्व संकलनमा कमि

अघिल्लो दुई वर्षको तुलनामा जिल्ला ट्राफिक प्रहरी कार्यालयले गरेको चेकजाँच र कारवाहीबाट सवारीसाधन र राजस्व सङ्कलनमा कमी आएको छ । आव २०७४/७५ मा १९ हजार ९ सय १३ सवारी साधन कारवाहीबाट एक करोड २५ लाख ५४ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन भएको थियो।
आव २०७५/७६ मा २२ हजार ६ सय ५६ वटा सवारी साधन कारवाहीबाट १ करोड ५१ लाख २६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । गत वर्ष भने १४ हजार ७ सय ३१ वटा सवारी साधन कारवाहीमा पर्दा १ करोड ५८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
लकडाउनमा कारवाही

यस्तै लकडाउन समयमा सरकारद्वारा जारी गरेको निशेधाज्ञाको अवेज्ञा गर्ने एक हजार १० वटा सवारी साधन र चार हजार ९ सय ५ जना मानिसहरु कारवाहीमा परेको थिए ।
गत वर्ष जिल्लाका सात स्थानीय तहहरुबाट तीन हजार ५ सय १० लिटर अवैध घरेलु मदिरा बरामद गरी नस्ट गरिएको थियो भने लकडाउनको समयमा मात्र तीन हजार ६ सय २५ लिटर मदिरा बरामद गरेको थियो।
महिला तथा बालबालिका विरुद्धको अपराध

आव ०७४/७५ को तुलनामा आव ०७५/०७६ मा बहुविवाहमा १६६.६६ % र मानब बेचबिखनमा १०० प्रतिशतले वृद्धि भएको थियो भने गत आव २०७६/०७७ मा कमि आएको थियो । महिला तथा बालबालिकामा भएका अपराधमा प्रलोभन, वैदेशिक रोजगार, हालको युवाहरुमा बढ्दो पश्चिमेली प्रभाव र जनजातिको बाहुल्यताको कारण बढी मात्रमा मनाउने मेला पर्व मुख्य कारण रहेको प्रहरी प्रमुख अविनारायण काफ्लेले बताए ।
अपराध नियन्त्रणमा आधुनिक प्रविधिको प्रयोग हुने
रोकियो नदिजन्य उत्खनन्
नदि उत्खनन् गर्ने २३ वटा स्काभेटरमा चेनलक द्वारा लक गरिएको र थप कारवाहीमा परेको ५ वटा गरी जम्मा २८ वटा स्काभेटर कारवाहीको लागि जिल्ला समन्वय समितिमा बुझाईएको छ । कारवाही भएकोमा जरिवाना बापत १० लाख ५० हजार रुपैंयाँ राजश्व संकलन भएको छ ।
गाँजा फडानी
विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, किस्पाङ गाउँपालिका, म्यागङ, शिवपुरी, लिखु, सुर्यगढी, र ककनी गाउँपालिकाका विभिन्न स्थानहरुमा रहेका करिब ३८० रोपनीमा लगाईएको गाँजाका विरुवा फडानी गरेको थियो।
अवैध काठ बरामद
आव २०७६/७७ मा विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, ककनी गाउँपालिका, तारकेश्वर, ककनी र तादी गाउँपालिकाका विभिन्न क्षेत्रबाट करिब ५३२ क्युफिटका साल र उतिसको काठ बरामद गरिएको थियो।
शान्ति सुरक्षा र अपराध नियन्त्रणमा एक्सन साथ उत्रिएका काफ्लेकै कारण वन तथा वन्यजन्तु चोरी तस्कर र अपराध नियन्त्रणमा खेलेको उल्लेख भूमिकाका कारण डिभिजन वन कार्यालय नुवाकोटले जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख अवीनारायण काफ्लेलाई १० हजार नगद पुरस्कारसहित सम्मान गरेको थियो ।
सामुदाय-प्रहरी साझेदारी
नुवाकोट प्रहरी सामुदायिक प्रहरी साझेदारीमार्फत विद्यार्थीलाई जनचेतना दिनको लागि विद्यालय सम्पर्क कार्यक्रम, डेंगु रोग नियन्त्रण सम्बन्धमा अन्तरक्रिया तथा प्रशिक्षण, लागुऔषध दुर्ब्यसनी बिरुद्धमा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम, लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान, मानब बेचबिखन तथा ओसार-पसार न्युनिकरण, कोरोना भाईरस सम्बन्धी सचेतनामुलक कार्यक्रम, सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धमा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम लगायतका ६ सय ९ गतिविधिहरु गरेको थियो।
९५ जना हराए, १६ अझै बेपत्ता
गत वर्ष जिल्लाको ९५ जना व्यक्ति हराएको उजुरी प्रहरी कार्यालयमा परेको थियो । जसमध्ये महिला ७०, बालक ९ र बालिका १६ जना रहेका छन् । ती मध्ये ५६ जना महिला, ८ बालक र १५ बालिका गरी ७९ जना फेला परिसकेको छ भने १४ जना महिला, १ बालक र १ बालिका अझै बेपत्ता भएका छन् ।
दरबन्दी अभाव
जिल्लालाई शान्ति सुरक्षा कायम गराउन ५ सय ५१ जना दर्जागत दरबन्दी भएता पनि हाल ३ सय २० जना मात्र कार्यरत रहेका छन् । जिल्लाको जनघनत्वको आधारमा एक जना प्रहरीले ८ सय ६८ जना नागरिकको सुरक्षाको जिम्मा लिनुपर्ने अवस्था रहेकोले जिल्लामा दरबन्दीको अभाव रहेको प्रहरी प्रमुख काफ्लेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया