२०७८, ९ आश्विन शनिबार

३८औं वीपी स्मृती दिवसको सन्दर्भमा

हरिकृष्ण श्रेष्ठ     श्रावण ६ २०७७ ११:४३

bishweshwar prasad koirala 38th nepali congress nuwakot trishuli
tribhuwan trishuli secondary school admission open
bidur tax

२०३९ साल श्रावण ६ गते नेपालको समाजिक परिवेश सुहाउँदो समाजवाद स्थापनाको लागि जीवन भर संघर्ष गर्नुहुने समाजवादी परिकल्पनाकार जननायक विश्वेश्वर प्रसाद कोईरालाले देह त्याग गर्नु भयो । नेपाली काँग्रेसले उहाँको मरणोपरान्त सम्मान र उहाँको विचारलाई अक्ष्युण्ण राख्न यस दिनलाई विशेष रुपमा मनाउने गरेको छ । नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थालाई ध्यानमा राखेर उहाँले प्रतिपादन गर्नु भएको वैचारिक अवधारणा नेपाली काँग्रेसले अविच्छिन्न अंगिकार गरेको छ । समय अनुसार, विश्व राजनिती र अर्थ व्यवस्थामा आएको परिवर्तन एवं मुलुकमा आएको नयाँ चेतना र जागरणलाई समेत ध्यानमा राखेर वी पी कोईरालाद्वारा प्रतिपादित मुल आदर्श, सिद्धान्त र दर्शनलाई कायमै राखी समय अनुसार नेपाली काँग्रेस अघि बढि रहेको छ ।

दोश्रो विश्व युद्धको समाप्ती पछि साम्राज्यवादी शक्तिको पतन र सामन्ती व्यवस्थाको उन्मुलन हुँदै गई रहेको परिप्रेक्ष्यमा विश्वमा बढि रहेको कम्युनिष्ट साम्राज्य/शासनको प्रभावबाट नेपाललाई मुक्त राख्न वीपी कोईरालाले नेपालमा प्रजातान्त्रीक शासन व्यवस्था स्थापना गरी जन प्रतिनिधी मार्फत शासन सञ्चालन गर्ने परीपाटी बसाल्न सर्वप्रथम नेपाली काँग्रेस स्थापना गरी राणा शासन अन्त्य गर्ने कार्यमा सफल हुनुभयो ।

नेपाली काँग्रेसले स्वावलम्वी र न्यायपुर्ण राष्ट्र निर्माणको लागि स्थापनाकालदेखि नै तीन वटा मुलभूत मान्यता अघि सारेको छ । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद । एउटा स्वाबलम्वी र सार्वभौमसत्ता सम्पन्न र न्यायपुर्ण मुलुकको लागी आवश्यक पर्ने आधारभुत तत्व तिनै हुन् । वीपीले ति तीन तत्वलाई कहिल्यै छुट्टा छुट्टै राखेर विवेचना गर्नु भएन । तीनै तत्वको एक अर्कासँग अन्योन्यास्रित सम्बन्ध छ भनेर परिभाषित गर्नु भएको छ । ती तीन आधारभुत तत्वको अन्योन्यास्रित सम्बन्ध यसरी केलाउन सकिन्छ ।

१) प्रजातन्त्र – राष्ट्रियताको सम्बर्द्धन र उत्पादनमा जनताको उत्प्रेरणा मार्फत समाजवाद स्थापनाको लागि ।

२) राष्ट्रियता – आफ्नो भुगोल भित्रका मानव जातीलाई प्रजातान्त्रिक व्यवस्थाद्वारा न्याय पुर्ण ब्यबहार बहाली र तिनका आधारभुत आवश्यकतालाई राज्य र जनताको संयुक्त प्रयास बाट परिपूर्ति गर्ने उद्देश्य सहितका भुगोलका लागी ।

३) समाजवाद – मुलुकभित्रका जनतालाई एकताको शुत्रमा बाँधी राख्न जनताले स्वविवेकबाट आफ्नो प्रतिनिधी छानी जन हितकारी सरकार निर्माण गर्न पाउने व्यवस्था सुनिश्चित गरी आर्थिक र सामाजिक रुपमा सम्पन्न मुलुक निर्माणका लागि ।

वीपी ले यि तीन वटै कुरा एक साथ लागु नहुने अवस्थामा कसैसँग सम्झौता गर्नु भएन । बरु कारावास रोज्नु भयो । वीपी का विरोधीहरुले माथिका कुराहरुलाई अलग अलग ढंगले व्याख्या गर्ने दुश्प्रयास गर्दा आज हामि धेरै पछि परेका छौं । वीपीले जिवित छँदै एकपटक भन्नु भएको थियो – “यदी मैले राजा महेन्द्रसँग सम्झौता गरेको भए, आजसम्म मनै प्रधानमन्त्री भै रहने थिएँ ।” एकपटक राजा महेन्द्र र वीपी बिचको संवादमा, महेन्द्रले भनेका थियो रे – “अब तिमि प्रधानमन्त्री भै हाल्यौ, अब तिम्रो सारा ईच्छा पुरा भयो होला नी ?” जवाफमा वीपीले भन्नु भएको थियो रे, “महाराज, म प्रधानमन्त्री बन्नलाई मात्र राजनिती गरेको हैन । आम नेपालीको आर्थिकस्थिती मेरो जस्तै होओस् भन्ने हेतुले मैले राजनिति गरेको हुँ । मेरो उद्देश्य त्यही हो, मेरो प्रयास त्यही रहने छ ।” २०१५ सालमा प्रथमपटक जननिर्वाचित प्रधानमन्त्री हुनुहुदाँ उहाँले छोटो समयमा त्यस दिशामा धेरै दुरगामी महत्वको निर्णयहरु गर्नु भएको छ । पञ्चायती व्यवस्थाले समेत त्यसको अनुशरण गरेको पाईन्छ । यसैबाट बुझिन्छ, वीपी कति महान थिए भनेर ।

समाजवाद भन्ने वित्तिकै सर्वप्रथम आउंछ आम जनताको आर्थिक सम्पन्नता । त्यसको साथ साथै मानिस मानिस बिच हुने भेदभावको उन्मुलन । आर्थिक सम्पन्नताको लागी सरकारले भौतिक एवं ऐन, नियम र कानुनको निर्माण गरि दिएर जनतालाई उत्पादन कृयाकलापमा लाग्न प्रेरित गर्ने गरी आमदानीको वातावरण बनाई दिने कार्य प्रमुखताका साथ सम्पन्न गर्नु पर्ने हुन्छ । जनतालाई रोजगार उपलब्ध गराई दिने कार्यमा पनि सरकारले ध्यान दिनुपर्ने हुन्छ । यसको लागी औद्योगिकिकरणलाई प्रोत्साहन गर्ने निति पनि सरकारको कार्य क्षेत्रभित्र पर्न आउँछ । जनतालाई शिक्षा र स्वास्थ्य सेवाको उपलब्ध गराउने कर्तव्य पनि सरकारको हुन्छ । यसको लागी मुलुकमा जन उत्तरदायी सरकारको सख्त खाँचो पर्न जान्छ । जन उत्तरदायी सरकारको परिकल्पना पुरा हुन जनताले चुनेका प्रतिनिधि सरकारमा पुग्न जरुरी हुन्छ । त्यही सरकारलाई आफ्नो भुगोल भित्रका जनताको आर्थिक, भौतिक र सामाजिक विकासको लागी विविध कार्य गर्ने बाध्यता रहन जान्छ । समाजमा व्याप्त भेदभाव र शोषणको विरुद्धमा निर्मम ढंगले प्रस्तुत हुन सरकारलाई करै लाग्छ। फलस्वरुप आर्थिक र सामाजिक रुपमा समाजवादको आधार तयार हुँदै जान्छ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा जनताको पहुँच पुर्याउन सरकारको उत्तरदायित्व भुमिकाले त्यस क्षेत्रमा समेत विकास हुँदै जाने हुनाले एउटा निश्चित समयमा मुलुक एउटा विकसितस्तरमा अवश्य पुग्ने नै छ । राज्यको उज्यालो घामले आम जनतालाई न्यानो दिने अवस्थामा राज्य पुग्यो भने आफ्नो राष्ट्रप्रति जनताको माया बढ्दै जान्छ । त्यसपछि निश्चय नै राष्ट्रियताको जग मजबुत हुँदै जान्छ । कैयौं तानाशाह र अधिनायकवादी सत्ताले जनतालाई सन्तुष्टि दिन नसक्दा राष्ट्रियता बचाउने नाममा आफ्नै जनतालाई सैनिक दमन गरि राखेको दृष्टान्त हामिले देखेकै छौं । जनतालाई सरकारको मजदुर बनाएर चलेका शासनहरु पतन भै सकेको पनि देखेका छौं । जवरजस्ती संविधान र कानुन लादेर अधिनायकवादी सत्ता चलाइएका मुलुकहरु विखण्डन भएको देखेका छौं । यिनै प्रसँगमा वीपीले परिकल्पना गर्नु भएको विचार र दर्शन मुलुकको हित प्रति कति यथार्थ परक रहेछन भनेर बुझ्न सकिन्छ ।

स्व. वीपी प्रति हार्दिक श्रद्धाञ्जली ।

प्रकाशित: श्रावण ६ २०७७ ११:४३

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
Radio Langtang
Radio Sanjiwani



Top