बेलकोटगढी – कोरोनाभाइरसको रोकथामको लागि सरकारले गरेको लकडाउनका कारण समस्या परेका नागरिकलाई बेलकोटगढी नगरपालिका-१० ले राहत वितरण गरेको छ ।
नगरको राहत वितरण मापदण्डमा रहेर वडा कार्यालयले वडाभित्रका मजदुर, श्रमिक तथा बिपन्न तथा खाद्य संकट भोगिरहेका ५४ परिवारलाई चामल, नुन, तेल, चिनी, दाल, सावुन वितरण गरेको हो । वडामा रहेको समन्वय तथा विपद् व्यवस्थापन समितिले छनौट गरेका ६७ जनालाई राहत प्रदान गर्न लागेको वडाध्यक्ष पूर्णबहादुर त्रिपाठीले बताए । दुई जनाभन्दा धेरै परिवार हुनेलाई ३० किलो चामल, तीन किलो दाल, दुई किलो चिनी, दुई लिटर तेल, दुई प्याकेट नुन, लुगा धुने र नुहाउने साबुन २/२ वटा प्रदान गरिएको छ । तीन भन्दा कम परिवार संख्या हुनेलाई १५ किलो चामल, एक लिटर तेल, एक किलो नुन, साबुन एक एक थान, डेढ किलो दाल प्रदान गरिएको छ ।
नगरका अन्य वडाहरुमा पनि राहत वितरणको लागि धमाधम सुची तयार भइरहेको छ ।
यसैबिच नेपाली काँग्रेसले चार सय ५० थान मास्क वडा कार्यालयलाई प्रदान गरेको छ । शुक्रबार बिहान आयोजित सर्वपक्षीय बैठकमा नेपाली काँग्रेस वडा नं. १० का सभापति दिपक तिवारीले वडाध्यक्ष पूर्णबहादुर त्रिपाठीलाई सर्जिकल मास्क प्रदान गरेका हुन् । वडा कार्यालयलाई प्राप्त भएको मास्क आवश्यकता हेरी प्रदान गरिने जनाएको छ । सो अवसरमा बेलकोट स्वास्थ्य चौकीले वडाका नागरिकहरुको स्वास्थ्य चेक जाँचसमेत गरिएको छ ।

प्रतिक्रिया