२०८१, १० बैशाख सोमबार

पर्यटन उद्योगको सम्भावना र चुनौती

    माघ ७ २०७५ २२:३०

Udaya Ranamagar
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नेपाल प्राकृतिक स्रोतको हिसावले धनी देशको रुपमा विश्वमा चित्रित छ । यही अद्धितीय प्राकृतिक तथा सास्कृतिक सम्पदाहरु नै पर्यटन विकासका प्रमुख आधारहरुको रुपमा रहेकोछ । यहाँको जलस्रोत, प्राकृतिक स्रोत साधन, भौगोलिक बनावट जस्ता क्षेत्रहरुले पर्यटकहरुलाई आकषर्ण गरी रहेको छन् । यहाँको भू–वनोटको हिसावले ६० मिटर देखि ८ हजार ८ सय ४८ मिटरसम्मको उचाइ भएको भूबनोट रहेको छ भने २८ वटा हिमशृखंलाहरु पूर्व देखि पश्चिमसम्म फैलिएर रहेका छन् । यहाँ ५१६० प्रकारका फूल तथा १८५ जातका माछा पाइन्छ । यहाको हावापानी फरक फरक छ प्रत्येक १० किलोमिटरको अन्तरमा फरक फरक हावापानी पाइन्छ । यहा १ सय १८ वटा पारिस्थितिक प्रणालीहरु पाइन्छ । २३ वटा पारिस्थितिक प्रणालीहरु तराईमा, ५२ वटा मध्यपहाडमा छ भने ३८ प्रकारका पारिस्थितिक प्रणालीहरु हिमाली भागमा अवस्थित छ । त्यसैगरी सास्कृतिक रुपमा पनि धनी रहेको नेपालमा १२५ जातजाती र १ सय २३ भाषाभाषी छन् । यी क्षेत्रहरुको आधारमा हेर्दा नेपालमा पर्यटन व्यावसायको विकास र विस्तारको संभावना भने प्रशस्त छ ।

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्डको रुपमा रही आएको छ । यो उद्योगको माध्यमद्धारा देशको विकासको गतिलाई तिव्रता दिने महत्वपूर्ण औजारको रुपमा रहेकोछ । पर्यटन क्षेत्रमा भएको अध्ययनले समेत आर्थिक बृद्धि र पर्यटन उद्योग वीचमा सकारात्मक सहसम्वन्ध रहेको देखाएको सन्दर्भमा नेपालले पनि यस उद्योगको विकास र विस्तारले आर्थिक बृद्धि हुने पाइएको छ । नेपालमा सन् १९४९ देखि विदेशी नागरिकलाई खुल्ला गरेपछी सुरु भएको र तर यसको विकास तथा विस्तार भने वि.स २००७ सालको ऐतिहासिक परिवर्तन पछि नै भएको हो । पर्यटन नेपालको लागि लाभको क्षेत्र हो तर यस क्षेत्रमा पर्याप्त मात्रामा लगानी हुन सकेको छैन जसको कारणले यो क्षेत्रवाट आशातित रुपमा उपलव्धि हासिल भएको छैन । विश्व पर्यटन संगठनका अनुसार सन् २०१८ मा नेपालको कुल ग्रायस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ७.८ प्रतिशतको हाराहारीमा हुने अनुमान छ । तथापि यस क्षेत्रमा पर्याप्त लगानी हुन सकेको छैन । यो क्षेत्र भनेको रु १ खर्च गरेर रु ६०/– सम्म आम्दानी गर्न सकिने संभावना भएको क्षेत्र हो । ३ जना पर्यटक नेपालमा आउदा १ जनालाई रोजगारीको सिर्जना हुने अध्ययनले देखाएको छ । यसले नेपालको बेरोजगारीको समस्यालाई केही हदसम्म समाधान गर्न सघाउदै आएको छ । नेपालमा आउने पर्यटकको बसाई औसत १२.५७ दिन बस्ने र प्रतिदिन प्रतिव्यक्ति ४२.८ अमेरिकन डलर खर्च गर्ने गरेको छ । उता छिमिकी मुलुक भुटानले गुणस्तरीय पर्यटनलाई प्राथमिकतामा दिएकोले त्यहा प्रतिदिन प्रति पर्यटक २ सय अमेरिकन डलर खर्च गर्ने गरेको छ । नेपालले भने सख्यामा मात्र ध्यान दिएको कारण पर्यटकिय क्षेत्रको विकास र विस्तार प्रभावकारीता आउन सकेको छैन । नेपालमा आउने पर्यटनको सख्या भने उल्लेख्य रुपमा अहिले पनि बढ्न सकेको छैन । सन् २००० देखि २००८ सम्मको अवस्था हेर्दा पर्यटकको औसत बृद्धिदर मात्र ३.८ रहेको छ । सन् २००६ मा नेपालमा पर्यटक आगमन ३ लाख ८३ हजार ९ सय २६ थियो । सन २०१४ मा ४ लाख ४ हजार ५ सय २५, सन् २०१५ मा ५ लाख ३८ हजार ९ सय ७०, सन् २०१६ मा ७ लाख २९ हजार ५ सय ५० पर्यटक नेपाल आएको मा सन् २०१७ मा यो संख्या वृद्धि हुँदै ९ लाख ४० हजार २ सय १८ पुग्यो भने सन् २०१८ को अन्त्यसम्ममा नहुदै १० लाख भन्दा बढी पर्यटक आइसकेको छ र सन् २०२० मा २० लाख नेपाल भित्र्याउने लक्ष्य छ । नेपालमा आउने पर्यटक मध्ये पनि पदयात्री पर्यटकको सख्या बढी नै हुने गरेको छ । पदयात्री पयर्टकबाट राजस्व असुली पनि उल्ेलख्य छ । अध्यागमन विभागको रेकर्ड अनुसार आ.व २०७४।७५ मा पदयात्री पर्यटकबाट असुली १५.७३ प्रतिशत राजस्व छ । तर यो अंक आ.व २०७३।७४ मा १८.३१ प्रतिशत थियो । पर्यटन व्यवसायको लागि नेपाल उपयूक्त स्थानको रुपमा विकास हुदै आएको छ । सन् २००६ मा नेपाल ब्यवसाय गर्न सहज मुलुकको सूचीमा ९० औं स्थानमा रहेको थियो भने सन् २००७ मा १०० औं स्थानमा र सन् २०१७ मा ११० औं स्थानमा पुगेको छ । त्यसको साथै पर्यटन प्रतिस्पर्धात्मक मानकमा नेपाल १०३ औं स्थानमा छ । चीन र भारत जस्तो विशाल जनसख्या भएको मुलुकको वीचमा अवस्थित नेपालले यस अवसरको भरपुर सदुपयोग लिने संभावना त्यतिकै छ । यो सवै तत्थ्यले नेपालमा पर्यटन व्यवसायको लागि सहज बाताबरण बन्दै आएको छ भन्न सकिन्छ ।

नेपालको परम्परागत सांस्कृतिक, ट्रेकिङ्ग र पर्वतीय पर्यटनलाई कसरी दिगो र थप आकर्षक बनाउनु भनेको साच्चै कै चूनौती छ । सघीय संरचनामा पर्यटन क्षेत्रको विकास र विस्तार गर्नको लागि साझा एजेण्डा तय गरेर अगाडि बढ्नु पर्ने हुन्छ । तर अहिले तीनै तहका सरकारबाट पर्यटन क्षेत्रमा लगाइने दोहोरो शुल्कको कारण पर्यटन उद्योग बढी नै मात्रामा प्रताडित हुदै आएको छ । यसको व्यवस्थापन र रयाल्टीको बांडफाड तथा लगानी व्यवस्थापनको विषय चूनौतीपूर्ण छ । सेवा, सुविधा र प्याकेज रेटमा समेत एकरुपक्ता छैन । निजी क्षेत्रबाट भएको लगानी लाई एकिकृत र सरकारी प्राथमिकताको आधारमा लगानी गर्ने कार्य अर्को जटिल विषय बनेको छ । पर्यटन क्षेत्रमा खपत भइरेहको खाद्यान्न लगायतका सामाग्रीहरु आयतित नै भएको हुदा आशातित रुपमा फाइदा लिन सकिएको छैन । पर्यटन क्षेत्रको विकासमा साहसिक खेल बन्जी जम्पीङ हाइकिङ जस्ता खेलको प्रयोग गरी पर्यटन आकर्षण गर्न, सकिएन । पर्यटन क्षेत्रका साझेदारहरु एवं लगानीकर्ताहरु पर्यटन विकास भन्दा प्रवद्धनात्मक कार्यमा संलग्न हुदा यस क्षेत्रको विकास हुन सकेन, स्थानिय निकायको संलग्नतामा पर्यटन सम्वन्धी नीति तय गर्न नसक्दा स्थानिय निकायले पर्यटन सम्बन्धी बन्ने नीतिमा अपनत्व भएन र प्रभावकारीता माथि प्रश्न उठ्यो, पूर्वाधार निर्माणमा प्रत्यक्ष संलग्न निकायहरु सडक, विद्युत, संचार, खानेपानीसंग समन्वयात्मक रुपमा क्रियाकलाव संचालन हुन सकेन ।

पर्यटन उद्योगको विकास र विस्तार गर्न नयां गन्तव्य स्थलको खोजी गरी त्यसको विकास र विविधिकरण गर्ने, पर्यटकीय पूर्वाधारको विकास गर्न यस क्षेत्रमा लगानी बढाउने, पर्यटन उद्योगलाई ग्रामीण तहसम्म विकास र विस्तार गर्नुपर्दछ । पर्यटन क्षेत्रको विकासबाट राष्ट्रिय र्आिर्थक क्रियाकलापमा अभिवृद्धि गरी रोजगारी सिर्जना गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पर्यटन क्षेत्रको प्रर्वद्धन मार्फत संख्यात्मक तथा गुणात्मक रुपमा पर्यटक आगमनमा वृद्धि गरी प्राप्त लाभको समन्यायिक वितरण गर्ने कार्यको पनि थालनी गरिनु पर्छ । पर्यटकीय सेवा तथा सुविधाहरुको विकास, विस्तार एवं विविधीकरण गर्ने, पर्यटन प्रवद्र्धन र पर्यटन विकास गर्न निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यापर्यटनमा जोड दिदै नयाँ पर्यटकीय गन्तव्यस्थलहरुको एकीकृत र समन्वयात्मक रुपमा पूर्वाधारको विकास गरिनु आवश्यक छ । पर्यटनको विकासबाट राष्ट्रिय र्आिर्थक क्रियाकलापमा अभिवृद्धि गरी रोजगारी सिर्जना गरी गरीबी न्यूनीकरण गर्ने, क्षेत्रीय विकास तथा आर्थिक वृद्धि हासिल गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रर्वद्धन मार्फत संख्यात्मक तथा गुणात्मक रुपमा पर्यटक आगमनमा वृद्धि गर्नुपर्दछ । पर्यटन क्षेत्रबाट प्राप्त लाभको समन्यायिक वितरण गर्ने, पर्यटकीय सेवा तथा सुविधाहरुको विकास, विस्तार एवं विविधिकरण गर्ने, पर्यटन प्रर्वद्धन गर्न छिमेकी देशहरु चीन तथा भारतलाई केन्द्रीत गरी व्यापक रुपमा प्रचार प्रसार गरिनु पर्छ । पर्यटकहरुलाई उपलब्ध गराइने सेवा सुविधाको गुणस्तरको सुनिश्चितता गर्दै दिगो पर्यटन विकासको कार्यलाई प्राथमिकीकरण गर्नुपर्दछ ।

पर्यटन उद्योगमा देखिएको चुनौतीहरुको संवोधन गर्नको लागि सरकार, नीजि क्षेत्र, तथा गैर सरकारी क्षेत्र समेतको संयूक्त लगानी, तत्परता र सोचमा परिवर्तनको आवश्यक्ता हुन्छ । यसो हुन सकेको खण्डमा नेपाल रहेका सम्पदाहरुको संर्वद्धन संरक्षण, र प्रर्वद्धन गरी पर्यटक आगमन, पर्यटक बसाई र खर्चमा बृद्धि गराई रोजगारीका अवसरको गरी पर्यटन क्षेत्रको माध्यमद्धार आर्थिक विकासमा सहयोग पुग्दछ । तर त्यसको लागि यहा छरिएर रहेका प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरुको संरक्षण र सम्वद्धनमा स्थानीय सरकार, समुदाय तथा निजीक्षेत्र समेतको सहभागितामा चाहिन्छ । साथै पर्यटन क्षेत्रको विकास गरी प्राप्त प्रतिफललाई न्यायोचित तरिकाले वितरण गर्न संयन्त्र बनाएर कार्यान्वयन गरिनु पर्दछ । यसका लागि नयां पर्यटकीय गन्तव्यको पहिचान तथा पूर्वाधारहरुको विकास गरी कनेक्टीभिटी बढाउनु त्यतिकै आवश्यक हुनछ । यसको अतिरिक्त आन्तरिक पर्यटनले अहिले पनि कुल पर्यटन उद्योगको ८० देखि ८२ प्रतिशत योगदान गर्दै आएको सन्दर्भमा आन्तरिक पर्यटनलाई प्रवद्धन गर्ने कार्यमा समेत लाग्नुपर्ने हुन्छ । त्यसो गर्न सकिएकोखण्डमा पर्यटन उद्योगको माध्यमद्धारा देशको अर्थतन्त्रमा सुधार आई सम्वृद्ध नेपाल र सुखी नेपालीको गन्तव्यसम्म पुग्न सकिन्छ ।

लेखकः रुपन्देही जिल्लाको प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top