– दिनेश आचार्य
‘हाम्रा सभापतिले अघिल्लो दिन ‘माओवादीलाई भोट हाल्नुस’ भनेर प्रचण्डको छोरी जिताउनुभो । अनि भोलिपल्ट ‘कम्यूनिष्ट आयो भने रुन पनि पाईन्न है, भोट नहाल्नुस’ भन्नुभो । योभन्दा ठुलो सैद्धान्तिक विचलन के हुन्छ ?’
‘मेरो गाडीमा किशुनजी हिँड्नुहुन्थ्यो । कहिलेकाँही नुवाकोटका साथीहरु चढ्नुहुन्थ्यो । ति साथीहरु सम्झिन्छु, उहाँहरु गाडी चढेपछी ढोला लगाउन समेत जान्नुहुन्नथ्यो । अगाडी ‘डोर’ सिग्नल आएपछी ढोका राम्ररी नलागेको बनाउँदा उनीहरु भन्थे, यो खेमराजले कस्तो खतरा गाडी चढ्छ, पछाडीको ढोका नलागेको अगाडी सिटमा बसेरै थाहा पाउँछ । तर तिनै ढोका लाउन नजान्नेहरुसँग अहिले ४ वटा पजेरो र ४ वटा महल छन, तर मचाहिँ अझै मारुती चढेर हिड्छु ।’
काँग्रेसका पुराना नेता खेमराज सेँढाईले शनिवार काठमाडौंमा भएको प्रजातन्त्रवादी नुवाकोटे युवाहरुको एउटा भेलामा यस्तो सस्मरण सुनाउंदा एकाध जनाबाहेक सबैले ताली बजाए । उनले थपे, ‘कुनै पेशा व्यवशाय नभएका र सधैभरी हल्लेर हिँड्ने ति नेताहरुको करोडौं अर्बौंको सम्पत्ति कहाँबाट आयो सोध्नुभएको छ ? कि सधै तिनै नेताको ढोका कुरेर बसिरहनुहुन्छ ?’
सेढाईको भनाई त आम जनता र कार्यकर्ताको भावना हो । तर उनले जस्तो खुल्लमखुल्ला सभामा यत्तिको बोल्न सक्ने सायदै छन । सेढाईभन्दा अगाडी बोलेका बिद्यार्थी नेता जयराम दहालले पनि यस्तै भनेथे, ‘हामीले प्रश्न सोध्न सकेनौं । अब हामीले आफ्नै नेतालाई प्रश्न गर्नुपर्ने भएको छ । प्रश्न गर्न सक्ने काँग्रेस बनाउने हाम्रो अभियान हो ।
बिद्यार्थी राजनीतिमा राष्ट्रिय पहिचान बनाउने प्रयासमा रहेका नुवाकोटका केही युवाहरु नेबिसंघको विधान संशोधनसँगै अवकाश पाए । कहिले नेताका पछी लागेका र नेताहरुलाई ‘राम्रैसँग चिनेका’ उनीहरुस“ग विश्लेषण गर्नसक्ने दिमाग पनि थियो । त्यसैले होला केही युवाहरु नुवाकोटबाट एउटा अभियानको शुभारम्भ गर्ने जमर्को गरेछन ।
नुवाकोट हुँदै राष्ट्रियस्तरमा नै अभियान विस्तार गर्ने सोचका साथ उनीहरुले काँग्रेसमा रहेकामध्ये सबैभन्दा पुराना र वरिष्ठ नेता केबी गुरुङलाई अभियानको उद्घाटन गर्न बोलाए । २०३३ सालमा ईन्दिरा गान्धीसँग झगडा गरेर ‘भारतले बनाईदिने प्रधानमन्त्रीको पद खानुभन्दा नेपालमै मृत्यूदण्ड ब्यहोर्छु’ भन्दै नेपाल फर्किने निर्णय गरेका बीपी कोइरालाले केबी गुरुङसहितलाई आफुभन्दा अगाडी टेस्ट रिटर्न गराएका थिए । त्यतिबेला मृत्यूदण्डको सजायलाई आत्मैदेखि स्विकारेर नेपाल फर्किएका गुरुङ अहिले पनि कांग्रेसमा ‘वास्तविक काँग्रेस’को खोजि गरिरहेका छन । मन्तब्यमै उनले भने, ‘म काँग्रेस भएर, कांग्रेसहरुको बिचमा ‘काँग्रेस’ खोज्दैछु ।’
गुरुङले खोजिरहेको कांग्रेस जयरामजस्ता युवाहरुले पनि खोजेको काग्रेस हो । तर समय कहाँ उनीहरुले चाहेजस्तो सजिलो छ र । कुनै कार्यक्रममा बीपीको फोटो राख्दा ‘यी बुढा को हुन ? यी पनि काग्रेस नै हुन ?’ भनेर प्रश्न गर्नेहरु अहिले ठुला पदहरु ओगटेर बसिरहेको देख्न सकिन्छ ।
यसै सन्दर्भमा नेता सेढाईले एउटा कथा पनि सुनाउन भ्याए, ‘बाटोमा हिडिरहेका २ जनाको भेट भएछ । परिचय गर्दा उनीहरु एकजना ‘सत्य’ र अर्को ‘असत्य’ रहेछन । गन्तब्य टाढा भएका कारण सँगै यात्रा गर्दा एउटा पोखरीछेउ पुगेछन । सल्लाहले दुवैजना नुहाउन पोखरीमा छिरे । नुहाउँदै थिए, तर असत्य चाँही पहिले नै निस्के र आफ्नो लुगा छाडेर सत्यको लुगा लगाएर हिँडेछन् । जब सत्य नुहाएर निस्किए, आफ्नो लुगा छैन । उनी त सत्य हुन, असत्यले छाडेर गएको लुगा लगाउन मिलेन । अनि उनी नाङ्गै हिँडे । त्यसैबेलादेखि नै नेपालमा असत्यले सधैं सत्यको लुगा ओढेर बसेको हुन्छ र सत्यचाहीं नाङ्गै हिडिरहेको छ ।
यही कथा जस्तै छ, वर्तमान । कुनै पेशा व्यवशाय, काम मेहनत नगरी अर्बौको सम्पत्ति जोड्ने नेताहरुलाई हामी प्रश्न गर्न सक्दैनौं । इमानदार भनिएका कार्यकर्ता समेत अलिकति केही सहयोग गर्लान की भनेर आशे आ“खाले हेरिरहेका देखिन्छ ।
अब त समय यस्तो उनीहरु आफ्नो सन्तान दरसन्तानका लागि सम्पत्ति जोड्ने ध्याउन्नामा यसरी लागे की पार्टीको सिद्धान्त, बिचार, आस्था र मुलुकका भविष्यसमेत बेचिदिए । तर कार्यकर्ताहरुले कुनै प्रश्न त सोधेनन नै, जिज्ञाशु आँखालेसम्म हेरेनन् । यस्तो प्रसङ्गमा जयरामले निकाले, ‘२०६२/६३ को आन्दोलनमा नेताहरुले गणतन्त्रको नारा लगाउ भने, हामी पनि जोशिलो बिद्यार्थी राजा फाल्ने भनेर हि“ड्यौं । तर अहिले धेरै महाराजाहरु बने, तर हामी चुपचाप सहिरहेका छौं ।’
त्यसो त शेरबहादुर देउवालाई सभापति बनाउनका लागि प्रस्तावक बनेका नेता गुरुङको बिचारमा कांग्रेसमा सैद्धान्तिक बिचलन आएको छ । ‘हाम्रा सभापतिले अघिल्लो दिन माओवादीलाई भोट हाल्नुस भनेर प्रचण्डको छोरी जिताउनुभो ।’ अनि भोलिपल्ट ‘कम्यूनिष्ट आयो भने रुन पनि पाईन्न है, भोट नहाल्नुस’ भन्नुभो । योभन्दा ठुलो सैद्धान्तिक विचलन के हुन्छ ?’
सैद्धान्तिक विचलनको अर्को उदाहरण जयरामले दिए । कांग्रेसको झण्डामा रहेको चारताराले चारवटा सिद्धान्त बोक्छ भनेर पढेको र पढाइएको थियो । प्रजातन्त्र, समाजवाद, वाक स्वतन्त्रता र धार्मिक स्वतन्त्रता । तर अहिले नेताहरुले झण्डाको एउटा तारा नै झिकिदिए र ‘धार्मिक स्वतन्त्रलाई बेचेर धार्मिक निरपेक्षता बनाईदिए ।
‘जनमत संग्रहताका डा. रामशरण महतले बीपी कोइरालालाई आर्थिक नीतिमा सुझाव दिन्थे । कोइराला ३३ बर्षे महतको कुरा सुन्थे । तर अहिले उनै महत युवा कार्यकर्तासँग सुझाव लिन त परै जाओस, बोल्न समेत गाह्रो मान्छन ।’ दहालले प्रश्न गरे,‘नेताहरुले हाम्रो सुझाव लिने कहिले ?’
तिनवटै चुनावमा कांग्रेस किन हा-यो ? भन्ने प्रश्न सबैले गर्ने गरेका छन । तर कांग्रेसले आफ्नो पहिचान गुमाएकोप्रति धेरैले नजरअन्दाज गरेका छन । आफ्नो मौलिकता छाडेर कम्यूनिष्टहरुले सबै नीतिको ठाडो नक्कल गर्दा कांग्रेस नराम्रोसँग चुकेको गुरुङको ठहर छ ।
त्यसो त काँग्रेसले बाटो बिराएकोमा बैंकुण्ठ खनाललाई सारै चित्त दुखेको रैछ । उनले प्रश्न गरे, ‘किसानको पार्टी भनेर चिनिएको काग्रेसस“ग अहिले किसानको समर्थन छैन । किसानको भोट बेचेर नेताहरु कति धनी भए, किसानको हालत के छ ?’
नाकाबन्दीदेखि निर्मला प्रकरणसम्ममा काग्रेस बोल्न नसक्दा ति एजेन्डा अरुले नै बोकेका छन । तर काग्रेसले प्रतिपक्षको धर्म समेत निर्वाह गर्न सकेको छैन । काँग्रेस भुइफुट्टाहरुको पार्टी बन्नबाट जोगाउन ठुलै अभियानको खा“चो रहेको मत उनीहरुको छ ।
नुवाकोटको समस्या त झनै ठुलो छ । तीनवटा ठुला नेताको घर चहार्ने र आफ्नै साथीको कुरा लगाउने धन्दा गर्ने कार्यकर्ताहरु थुप्रै रहेको उदाहरण भरत खड्काले दिए । उनी भन्दैथिए, ‘मैले कुनै नेतालाई कुरा लगाएको थाहा पाउनुभयो भने मेरा गाला चड्काईदिनुस ।’
काँग्रेसको गढ मानिएको नुवाकोटमा काँग्रेस हार्नुमा पार्टीभित्र मौलाएको परिवारवाद रहेकोमा कसैको आपत्ति रहेन । त्यसो त केन्द्रीय समितिको बैठकमा नै सभापति देउवाले नुवाकोटमा केसीको भाई र महतको भतिजालाई टिकेट दिनु हारको कारण भएको स्विकारेको खबर आएको छ ।
तर प्रवृत्ति मेटिने छाँट छैन । किनभने अहिले पनि नेताकै भाईभतिजालाई नै ठुला नेता मान्नेहरुको जमात ठुलो छ । ठगि, दलाली र ठेक्कापट्टा गरेर कुस्त कमाएकाहरुसँग बुद्धि पनि यथेष्ट हुन्छ भन्दै पछि लाग्नेहरु पनि प्रशस्तै छन । त्यो प्रवृत्तिलाई चिर्न एउटा अभियान शुरु भएको छ ।
युवा अभियन्ताहरु जयराम दहाल, दिपक लामा, अन्जना अर्याल, दिपक भण्डारी, रामजी पौडेल, शिव गुणी, जगदिश कुइकेल लगायतको सकृयता लोभलाग्दो देखियो । यस्ता अभियान बिचारले निर्देशित (गाइडेड) हुनुपर्छ । नत्र आज जुटेर अभियान चलाउन हिँडेकाहरु भोलि आफु नजिकका नेताको तानातानमा आफुआफु नै जुधिरहेका भेटिनेछन्।
जब विचारले निर्देशित भएर उद्देश्यमा प्रष्टता आउँछ तब नेताको पछी लाग्ने हैनकि विचारको पछी लाग्ने निर्णय गरिन्छ । बीपी कोइरालाको कथा दोषी चश्मामा जस्तै राणाहरुले ढोकामा घन्टौ कुराएर दर्शन दिँदै फ्याँकेको चौवन्नी टिप्न जानेहरुझैं महत र केसीहरुको ढोकामा लुगलुग काप्दै कुरिरहेका जमातलाई कस्तुरीको सुगन्ध बुझाउन सकियो भने विचार निर्देशित अभियान सफल हुनेमा द्विविधा छैन ।
मुख्य कुरा बिरालाको घाँटीमा घन्ट कसले बाँधे भन्ने हो । प्रधानमन्त्री र मुख्यमन्त्री उमेदवार भन्दै चुनावमा भिडेकाहरु दर्शौ हजार मतान्तरले हार्दा पनि निमुखा कार्यकर्तालाई धारेहात लगाउँदै कारवाहीको धम्की दिनेहरुलाई चोर औला ठड्याएर प्रश्न सोध्नेहरुको जमात तयार पार्नु चुनौति हुनेछ । नत्र यी चारजना ठेट्नाहरु केही नपाएर कराएका हुन, केही दिएपछी हराईहाल्छन नि भन्नेहरुको कामना पुरा हुन्छ ।
‘सधैंको काँग्रेस, सबैको काँग्रेस’ अभियान नुवाकोटमा मात्र हैन की देशैभर जरुरी छ । सिद्धान्तच्यूत भएको काँग्रेसका लागि जरैदेखि उपचारको खाँचो छ । नत्र नेताहरुले बुझ्ने बेलासम्म ढिला भैसकेको हुनेछ ।

प्रतिक्रिया