sujim bazar advert

एसईई नतिजा झन् खस्कियो : शिक्षाविद् भन्छन्-ग्रेडिङ प्रणाली उल्टो गतिमा

    असार १२, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

काठमाडौँ । अनिवार्य गणित बाहेकका सबै विषयमा प्रयोगात्मक नम्बरको व्यवस्था गरिँदा पनि एसईईको नतिजा गतवर्षको भन्दा ६.४६ प्रतिशतले खस्किएको छ । गतवर्ष १.६५ देखि ४ जीपीए ल्याउने विद्यार्थी ८२.३८ प्रतिशत रहेकोमा यसवर्ष ७५.९२ प्रतिशतमा झरेको हो । तीन वर्षअघि यही समूहको जीपीए ल्याउने विद्यार्थी ८४.३३ प्रतिशत थिए । यसवर्षदेखि कक्षा १० मा गणितबाहेक अनिवार्य सबै विषयमा २५ प्रयोगात्मक नम्बरको व्यवस्था छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार ४ लाख ५१ हजार ५ सय ३२ नियमित विद्यार्थीले परीक्षा दिएकोमा २ देखि ४ जीपीए ल्याउने ३ लाख ४२ हजार ८ सय २६ जना (७५.९२ प्रतिशत) मात्रै छन् । तैपनि नतिजाबाट निरुत्साहित हुनुपर्ने अवस्था नरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए ।

लोकसेवा आयोगले २ जीपीए ल्याएका मात्रै निजामती सेवामा प्रवेश गर्न पाउने आधार तय गरेको छ । कक्षा ११ भर्ना हुन १.६ जीपीए अनिवार्य हुनुपर्ने व्यवस्था छ । १.६५ भन्दा बढी ल्याउने विद्यार्थीको नतिजा हेर्दा हरेक वर्ष खस्किएको देखिन्छ ।

त्यस्तै ०.८५ देखि १.२० जीपीए ल्याउने विद्यार्थीको संख्या ५८ हजार ६ सय ८८ छ । उनीहरू मानविकी, व्यवस्थापन, कानुन, विज्ञानलगायत अन्य कुनै पनि समूह अध्ययन गर्न अयोग्य हुन्छन् । तर उनीहरूले आउँदो साउन २३ देखि हुने ग्रेड वृद्धि परीक्षामा सहभागी भएर ग्रेड बढाउन भने सक्नेछन् । जुनसुकै विषयमा सी, डी प्लस, डी र ई ल्याउने विद्यार्थीले पुन: ग्रेड वृद्धि परीक्षा दिन पाउँछन् ।

११ कक्षा अध्ययन गर्न कम्तीमा १.६ जीपीए अनिवार्य ल्याएकै हुनुपर्ने प्रावधान छ । दुई वर्षअघि १.६५ देखि २ जीपीए ल्याउने विद्यार्थी २३.८४ प्रतिशत थिए । गतवर्ष बढेर २४.३४ पुग्यो । यसवर्ष यो प्रतिशत घटेर २२.३७ प्रतिशतमा झरेको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार ३.६५ देखि ४ जीपीए ल्याउने कुल विद्यार्थी ३.१५ प्रतिशत मात्रै छन् । यो समूहको जीपीए ल्याउनेमा गतवर्षभन्दा केही सुधार भएको छ । गतवर्ष २.७५ प्रतिशत मात्रै थियो । दुई वर्षअघिको नतिजाको तुलना गर्ने हो भने यो समूहको जीपीए प्राप्त गर्ने शून्य दशमलव ११ प्रतिशतले घटेको छ ।

त्यस्तै ३.२५ देखि ३.६० जीपीए ल्याउने विद्यार्थी गतवर्ष ९.५२ प्रतिशत थिए भने यसवर्ष १०.२१ प्रतिशत पुगेको छ । २.८५ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थी भने तीन वर्षकै कम देखिएको छ । तीन वर्षअघि यो समूहको जीपीए प्राप्त गर्ने ११.११ प्रतिशत रहेकोमा गतवर्ष ११.३६ प्रतिशत थिए भने यसवर्ष १०.८६ प्रतिशत मात्रै छन् ।

परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार ४ जीपीएमा ४ नै ल्याउने २४ जना छन् । ३.९६ जीपीए ल्याउने १० जना र ३.९५ जीपीए ल्याउने १ सय १३ जना छन् । २ जीपीए ल्याउनेले विज्ञान, १.६ ल्याउनेले मानविकी, कानुन, शिक्षा र व्यवस्थापन समूह अध्ययन गर्न पाउँछन् । तर निश्चित विषयमा पनि ग्रेड पूरा गरेको हुनुपर्छ । विज्ञान समूह अध्ययन गर्न २ जीपीए ल्याएका विद्यार्थी योग्य भए पनि अनिवार्य विज्ञान र गणितमा सी प्लस ल्याएकै हुनुपर्छ । नेपाली, अंग्रेजी र सामाजिकमा डी प्लस आएको हुनुपर्छ । व्यवस्थापन समूहका विषय अध्ययन गर्न १.६ जीपीए र विषय ग्रेडमा अंग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिकमा डी प्लस ल्याउनुपर्ने हुन्छ ।

मानविकी समूह अध्ययन गर्न पनि १.६ जीपीए अनिवार्य छ । तीन सय पूर्णाङ्कको विषय छनोट गर्दा एसईईमा अनिवार्य विषय अंग्रेजी, नेपाली, सामाजिकमा डी प्लस आएको हुनुपर्छ । अंग्रेजी, नेपाली, समाजशास्त्र, आमसञ्चार, ग्रामीण विकास रोज्दा जीपीए १.६ ल्याउनुपर्ने हुन्छ । अंग्रेजी, नेपाली र सामाजिकमा डी प्लस ल्याउनुपर्छ । विज्ञान र गणितमा ई ल्याए पनि अध्ययन गर्न पाइन्छ । शिक्षा समूह अध्ययन गर्न पनि अंग्रेजी, नेपाली र सामाजिकमा डी प्लस आएको हुनुपर्छ । शिक्षा समूहको विज्ञान अध्ययन गर्न चाहनेले एसईईमा विज्ञान र गणितमा डी प्लस ल्याउनुपर्ने हुन्छ । प्राविधिक धारबाट १० कक्षाको परीक्षा दिएका विद्यार्थीले साधारणतर्फ पनि कक्षा ११ मा भर्ना हुन पाउँछन् ।

शिक्षाविद् भन्छन्,‘ग्रेडिङ प्रणाली उल्टो गतिमा’
शिक्षाविद्ले कक्षा १० मा लागू गरिएको ‘लेटर ग्रेडिङ’ प्रणाली उल्टो गतिमा रहेको बताएका छन् । यसकै कारण तीन वर्षयता शैक्षिक गुणस्तरसमेत खस्किएको उनीहरूको दाबी छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार सार्वजनिक भएसँगै उनीहरूले यस्तो प्रतिक्रिया दिएका हुन् ।

शिक्षाविद् विद्यानाथ कोइराला एसईई नतिजाको गुणस्तरप्रति सरकार, राजनीतिक दल, कर्मचारी, शिक्षक कोही जिम्मेवार नरहेको बताउँछन् । ‘एसईईको नतिजाले शैक्षिक गुणस्तर बढाउनेमा पत्यार छैन किनकि यसमा नतिजाको जिम्मेवारी कसले लिने भन्ने नै छैन । यो गम्भीर पक्ष हो,’ उनले भने, ‘ग्रेडिङअनुसार विद्यार्थीले पढेको र सीप सिकेको क्रेडिट आवर गन्ती हुनुपर्छ । तर व्यवहारमा त्यस्तो छैन । सबै पास भयौ, अब जता जान्छौ जाऊ भनेजस्तो स्थिति छ ।’ कोइरालाका अनुसार अमेरिकामा एसईई नतिजाप्रति स्थानीय शिक्षा निकाय जिम्मेवार रहन्छ भने चीनमा राजनीतिक दलको पनि सरोकारको विषय हुन्छ ।

लेटर ग्रेडिङ प्रणाली विद्यार्थीको खुबी, क्षमता, दक्षताको निरन्तर मूल्यांकन पद्धति हो । यसमा सम्बन्धित विषयमा प्राप्त नतिजा तथा लगावका आधारमा ग्रेड प्वाइन्ट एभरेज (जीपीए) मूल्यांकन गरिन्छ । शिक्षाविद् मनप्रसाद वाग्ले दुई वर्षअघि ११ कक्षामा भर्ना हुन तय गरिएको गुणस्तरीय आधारलाई शिक्षा मन्त्रालयले १३ दिनभित्रै फेरेर फितलो निर्णय गरिदिएको बताउँछन् । ‘उक्त निर्णयले १ दशमलव ६ जीपीएसम्मकालाई कक्षा ११ को ढोका खोलिदियो,’ उनले भने, ‘यस्तो व्यवस्थाका कारण शैक्षिक गुणस्तरप्रतिको विश्वसनीयता गुम्न पुग्यो ।’

यसअघिको पूर्णाङ्क प्रणालीमा नतिजा विश्लेषण गर्ने आधार रहे पनि अहिले जसलाई पनि उत्तीर्ण मान्नुपर्ने अवस्था आएको वाग्लेले बताए । ‘लेटर ग्रेडिङ प्रणालीअनुसार पाठ्यक्रम र पाठ्यपुस्तकसमेत छैन । न त शिक्षण विधि र मूल्यांकन पद्धति छ । यी चारै पक्ष नसुधारी विद्यार्थीको शैक्षिकस्तर माथि उकास्न सकिँदैन,’ उनले भने । शिक्षाविद् वासुदेव काफ्ले मुलुक संघीय व्यवस्थामा गइसके पनि एसईई नतिजामा पुरानै ढर्रा र गैरजिम्मेवार परीक्षा प्रणाली हाबी हुँदा गुणस्तरमा आशंका बढेको बताउँछन् । ‘ग्रेडिङ सिस्टम सही मानेमा लागू भएकै छैन । तल्लो तहबाटै समन्वयात्मक रूपमा लागू हुनुपर्छ,’ उनले भने, ‘तर अहिलेको अभ्यासले यसमा बल दिँदैन ।’

अर्का शिक्षाविद् विनयकुमार कुसियत एसईईलाई शैक्षिक गुणस्तर बढाउने माध्यमका रूपमा अघि नबढाइँदा ग्रेडिङ प्रणाली उल्टो सावित भइरहेको उल्लेख गरे । ‘एसईई नतिजालाई प्रतिशतकै रूपमा व्याख्या गरिएको देखिन्छ, जुन गलत हो,’ उनी भन्छन्, ‘यसलाई अन्तर्राष्ट्रिय अभ्याससँग जोडेर अघि बढाउन जरुरी छ ।’ परीक्षा नियन्त्रण कार्यालयले एसईईको उत्तरपुस्तिका पूर्णाङ्कका आधारमा जाँच्ने गरेको छ । विषयगत अंकलाई पूर्णाङ्कमा जोड्ने र त्यसलाई ग्रेड प्वाइन्ट एभरेज (जीपीए) मा बदल्ने गरिएको छ । -परिवर्तन खबर

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top