+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा प्रथम विदुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन सम्पन्न

पुरुष जोडी खुला विधामा धादिङको जोडी प्रथम

First Bidur Mayor Cup National Badminton Tournament concludes in Nuwakot
सुनील श्रेष्ठ
२ हप्ता अगाडी

५ वैशाख, विदुर । नुवाकोटको विदुरस्थित बट्टारमा रहेको कभर्डहलमा गत तीन दिनदेखि सञ्चालन भइरहेको “प्रथम विदुर मेयर कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता” आज शनिबार सम्पन्न भएको छ। विदुर नगरपालिकाको आयोजना र नुवाकोट जिल्ला ब्याडमिन्टन संघको समन्वयमा भएको प्रतियोगिताले राष्ट्रिय तथा स्थानीय स्तरका खेलाडीहरूलाई एउटै मञ्चमा उतारेको थियो।

प्रतियोगिताको सर्वाधिक प्रतिक्षित विधा पुरुष एकल खुलातर्फ क्षितिज खनालले प्रथम स्थान हासिल गर्दै उपाधि चुम्न सफल भएका छन्। फाइनल खेलमा कडा प्रतिस्पर्धा गर्दै उनले नगद रु ५० हजार नगद पुरस्कारसहित ट्रफी र मेडल प्राप्त गरे। सोही विधामा प्रफुल महर्जनले द्वितीय र विधान अधिकारीले तृतीय स्थान प्राप्त गर्दै क्रमशः नगद ३५ हजार र २० हजार प्राप्त गरेका छन्।

त्यस्तै, महिला जोडी खुलातर्फ अमिता गिरी र रसिला महर्जनको जोडीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान सुरक्षित गर्‍यो। उनीहरूले ५० हजार नगद पुरस्कार हात पारे भने रिहाना शेरचन र शेस्ना सिर्पालीको जोडी उपविजेतामा सीमित भयो। तेस्रो स्थानमा नविना राई र निम्सा हाङ्गमा सुब्बाको जोडी तथा दिलसा राना र तिलमाया रानाको टोली रहन सफल भए।

पुरुष जोडी खुला विधामा धादिङका राम मल्ल ठकुरी र सुजन थापाको जोडी प्रथम भएका छन्। निकै प्रतिस्पर्धात्मक रहेको खेलमा एपीएफका क्षितिज खनाल र देवराज रानाको जोडी दोस्रो भयो भने सुनिल कार्की, सुमित थोकर र ससिन डंगोल, सुमन शाक्यको टिमले तेस्रो स्थानमा चित्त बुझाए।

‘महिला पुरुष खुला तर्फको उपाधि विशाल खड्का र दिलासा रानाको पोल्टामा परेको छ। उनीहरूले फाइनलमा भोजबहादुर गुरुङ र रोजी राईको जोडीलाई पराजित गर्दै ४० हजार नगद पुरस्कार जिते। यस विधामा सुनिल कार्की, निशाम हाङ्गमा सुब्बा, सुजन थापा र तीलमाया रानाको जोडीले सान्त्वना पुरस्कार स्वरूप १५ हजार प्राप्त गरे।

प्रतियोगितामा खुला ‘बि’ लेभल तर्फ राम राई र श्याम रानाको जोडीले बाजी मारेका छन्। उनीहरूले प्रथम पुरस्कार ४० हजार प्राप्त गर्दा हरि के.सी. र समिर थापा मगरको जोडी द्वितीय भयो। त्यस्तै, विधान गुरुङ, कृष्ण सलामी र सुन्दर वि.क., विमल कुमालको टोलीले तृतीय स्थान हासिल गर्दै खेललाई रोचक बनाएका थिए।

४० वर्षभन्दा माथि उमेर समुहको विधामा विशाल खड्का र सुदिपकुमार योञ्जनको जोडीले सफलता पाएको छ। सञ्जय कपाली र इन्द्र महताको जोडी उपविजेता बनेको यस विधामा देव गुरुङ, शम्भुकुमार श्रेष्ठ र आकाश छन्त्याल अङ्कुसाङ शेर्पाको जोडी तेस्रो भए। भेट्रान्स तर्फको विजेताले ५० हजार नगद प्राप्त गरेका छन्।

स्थानीय प्रतिभालाई प्रोत्साहन गर्न आयोजित नुवाकोट जिल्लास्तरीय खुलातर्फ चन्दन घले र सुरज लामाको जोडी पहिलो भयो। सो विधामा विवेक जोशी र प्रोग्रेस श्रेष्ठ दोस्रो हुँदा राकेश गुरुङ, नविन श्रेष्ठ र सुशान्त श्रेष्ठ बसन्त तामाङ जोडी टिम तेस्रो स्थानमा रहन सफल भए। जिल्लास्तरीय खेलले नुवाकोटका उदीयमान खेलाडीहरूलाई ठूलो ऊर्जा प्रदान गरेको आयोजकले जनाएको छ।

यसैगरी नुवाकोट जिल्लास्तरीय खुला ‘बि’ तर्फ रोशन डंगोल र शम्भु पाण्डेको जोडी पहिलो भयो। सो विधामा सुशील अधिकारी र विनयप्रसाद लामिछाने दोस्रो हुँदा प्रविण गुरुङ, सोनु तामाङ र घनश्याम श्रेष्ठ, सजनकुमार श्रेष्ठको टिम तेस्रो स्थानमा रहन सफल भए।

विजेताहरूलाई विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, वडाध्यक्षहरु दिपक कायस्थ, निलमबाबु ढुंगेल, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ, पूर्व वरिष्ठ उपाध्यक्ष गीता अमात्य लगायतले पुरस्कार वितरण गरे ।

खेल संयोजक चन्दन घलेका अनुसार प्रतियोगितालाई मर्यादित र अनुशासित बनाउन प्राविधिक सहयोगका लागि नेपाल ब्याडमिन्टन महासंघले सहयोग गरेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

सुनील श्रेष्ठ

ट्रेन्डिङ