४ चैत, विदुर । जिल्ला प्रहरी कार्यालयले गत वर्षको चैत महिनाको कार्यप्रगति विवरण सार्वजनिक गरेको छ । सो अवधिमा प्रहरी कार्यालयमा कुल ३५ वटा मुद्दा दर्ता भएकोमा १६ वटा फर्स्यौट भइसकेका छन् । १९ वटा मुद्दा अझै प्रक्रियामा रहेका छन् ।
जिल्लामा वित्तीय साक्षरताको अभाव र प्रविधिको दुरुपयोगका कारण बैंकिङ कसूरका घटनाहरू बढ्दै गएको देखिएको छ । चैत महिनामा पनि थप १ बैंकिङ कसूरसँग सम्बन्धित मुद्दा दर्ता भएका छन् । प्रहरीले उक्त कसूरमा संलग्न १ जनालाई पक्राउ गरेको छ भने १ जना अझै फरार रहेको छ ।
उक्त महिनाको तथ्याङ्कमा सबैभन्दा संवेदनशील पक्ष भनेको जघन्य अपराध र सामाजिक विकृति देखिएको छ । विशेषगरी जबरजस्तीकरणी र महिला हिंसाविरुद्धका मुद्दाहरूमा प्रहरीले शून्य सहनशीलता अपनाएको दाबी गरेको छ ।
सवारी दुर्घटनातर्फ चैतमा कुल १० वटा सवारी दुर्घटना भएका छन् । तीन जनाले ज्यान गुमाएका छन् भने १५ जना गम्भीर घाइते भएका छन्। सवारी दुर्घटनाको मुख्य कारणहरूमा मादक पदार्थ सेवन, तीव्र गति र सडकको नाजुक अवस्थालाई मानिएको छ। ट्राफिक नियम उल्लंघन गर्ने ४०१ सवारी साधनलाई कारबाही गरी ४ लाख ४३ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ।
विपद व्यवस्थापन र उद्धार कार्यमा पनि प्रहरीले शिवपुरी र म्यागङ गाउँपालिकामा भएका भीषण आगलागी र पहिरोका घटनामा प्रहरीले जनशक्ति परिचालन गरी धनजनको क्षति न्यूनीकरण गर्न प्रयास गरेको छ। पहिरोमा पुरिएका व्यक्तिको उद्धारका लागि ‘डग स्निफिङ’ समेत प्रयोग गरिएको थियो।
यो पनि हेर्नुहोला:
१५ जना प्रतिवादीहरू पक्राउ
चैत महिनामा ६ जना महिला, ३ जना बालक र १ जना बालिका हराएको निवेदन परेकोमा प्रहरीको सक्रियताले सबै १० जनालाई फेला पारी परिवारको जिम्मा लगाइएको छ। ज्येष्ठ नागरिक र बालबालिकाको सुरक्षाका लागि प्रहरीले विशेष ‘सेफ्टी पिन’ अभियान र बालबालिका माथि हुने हिंसा विरुद्धको जनचेतनालाई समुदायका तल्लो तहसम्म पुर्याएको छ। यसले समाजमा हराएका व्यक्तिहरूको खोजीमा प्रहरीको प्रभावकारिता बढाएको छ।
विभिन्न मुद्दामा सजाय तोकिएर फरार रहेका ३९ जना प्रतिवादीहरूलाई पक्राउ गरिएको छ। उनीहरूबाट १ वर्ष १ महिना ६ दिन कैद भुक्तान र १४ लाख ९० हजार ७४१ रुपैयाँ जरिवाना असुल उपर गरिएको छ। प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विक्रम लामाका अनुसार आगामी महिनाहरूमा अपराध नियन्त्रण र सामाजिक सचेतनालाई अझै आक्रामक रूपमा अगाडि बढाइनेछ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महिनाभर १५९ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन् । महिला हिंसा न्यूनीकरणका लागि मात्रै ७ पटक विशेष सत्रहरू चलाइएको थियो। यद्यपि, महिला र बालबालिका माथि हुने हिंसाका घटनाहरू पूर्ण रूपमा नियन्त्रण हुन नसक्नुले थप कडा कानुनी र सामाजिक अभियानको आवश्यकता औंल्याएको छ।