-पुरुषोतम लम्साल
बगिरहन्छ
नदी हेर्छ र रुन्छ बगर
दुखिरहन्छ
गाउँ हेर्छ र रुन्छ शहर
गुनासो
आगोसँग पानीको पनि छ
पानीसँग आगोको पनि छ।
चम्किरहन्छ
हिमाल हेर्छ र डाँडा रुन्छ
फूलिरहन्छ
फूल हेर्छ र काँडा रुन्छ।
गुनासो
फूल्ने र नफूल्ने दुबैलाइ छ।
भार छ
भारी हेर्छ र भरिया रुन्छ
भार छ
भरिया हेर्छ र भारी रुन्छ
भाग्यसँग कर्म गुनासो गर्छ
कर्मसँग भाग्य गुनासो गर्छ।
ताप छ
आकाश हेर्छ र धर्ती रुन्छ
चाप छ
धर्ती हेर्छ र आकाश रुन्छ
उत्पत्ति र ब्यूत्पत्ति गुनासोमै छन्।
योगमा
प्रेम हेर्छ र वियोग रुन्छ
वियोगमा
वियोग हेर्छ र प्रेम रुन्छ
जसरी
आँखा
मुटु हेर्दछ र रुन्छ
मुटु
आँखा हेर्दछ र रुन्छ
गुनासो
जीवनलाइ मृत्युसँग पनि छ
मृत्युलाइ पनि जीवनसँग छ।
मन्दिरमा छ
देउता हेर्छ र भक्त रुन्छ
मन्दिरमा छ
भक्त हेर्छ र देउता रुन्छ
जसरी
ईश्वर हेर्छ र ढुंगा रुन्छ
ढुंगा हेर्छ र ईश्वर रुन्छ
गुनासो
मन्दिरसँग भगवानको पनि छ
भगवानसँग मान्छेको पनि छ
र, भगवानसँग ढुंगाको पनि छ।
म सबै-सबै हेर्छु
पर्दा खोलेर मनको
श्वाशबाट निश्वाशमा जान्छु
निश्वाशबाट श्वाशमा जान्छु
सृष्टि
गुजुल्टो त रहेछ गुनासाहरुको ।
म जे छु ठीकै छु।
प्रतिक्रिया