sujim advert

पाँचथरमा चौँरी महोत्सव सम्पन्न

    बैशाख ४, २०७५

sizen education new intake 2025
ananda Jewellery shop

bidur tax consultancy services in nuwakot

पाँचथर, ४ वैशाख/नयाँ वर्षको अवसर पारेर फालेलुङ गाउँपालिकाको चाररातेमा दोस्रो पल्ट सञ्चालन गरिएको चौँरी महोत्सव सम्पन्न भएको छ । महोत्सवमा सयौँ चौँरी तथा घिउ, छुर्पीलगायत चौँरीजन्य सामग्रीको प्रदर्शन गरिएको छ ।

महोत्सवको प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले उद्घाटन गर्दै महोत्सवले संकटमा पर्न लागेको चौँरीपालन पेशाको संरक्षण संवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । फालेलुङ–४ चाररातेमा आयोजित महोत्सवमा सन्दकपुरदेखि चिवाभञ्ज्याङ क्षेत्रबाट २०० भन्दा बढी चौँरी प्रदर्शनीका लागि ल्याइएको थियो ।

युवा पलायन हुन थालेको र पुस्तौँदेखि गर्दै आएको चौँरीपालन पेशा युवा पुस्ताले सम्हाल्न नसक्दा चौँरी लोप हुन लागेका कारण महोत्सवको आयोजना गरिएको महोत्सव मूल समारोह समितिका अध्यक्ष डिल्ली केरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “चरिचरन क्षेत्रको अभावमा चौँरी र चौँरी गोठ लोप हुन लागेका छन्, चौँरीको संरक्षण गर्न तथा उत्पादनको बजार खोज्न महोत्सवको आयोजना गरिएको हो ।”

समुद्री सतहबाट तीन हजार ४०० मिटर उचाइमा अवस्थित चाररातेमा आयोजित महोत्सव फालेलुङ कञ्चनजंघा पर्या–पर्यटन विकास समितिले आयोजना गरेको हो । महोत्सवबाट नेपाल, भारत र भुटानको उच्च पहाडी क्षेत्र तथा चौँरीपालन व्यवसायमा रहेको सम्बन्धलाई प्रगाढ बनाउनसमेत मद्दत पुग्ने आयोजकले जनाएको छ । महोत्सवस्थलमा चौँरी लिएर आएका किसानले भारतको सिक्किम र पश्चिम बंगाल राज्यले आफ्नो भूमिमा चौँरी चराउन प्रतिबन्ध लगाएपछि चौँरीपालन व्यवसाय संकटमा पर्न थालेको गुनासो गरेका छन् ।

नेपालको पूर्व–पश्चिम दार्चुला, डोल्पा, हुम्ला, मुगु, जुम्ला, मुस्ताङ, मनाङ, लम्जुङ, गोरखा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सोलुखुम्बु, सखुवासभा, ताप्लेजुङ, पाँचथर, ओखलढुङा र रसुवाको हिमाली क्षेत्र चौँरीको पकेट क्षेत्र हो । नेपालमा चौँरीपालन व्यवसाय लोप हुने अवस्थामा पुगेको हुँदा यसको संरक्षण गर्न थालिएको छ । विगतमा भन्दा ६० देखि ७० प्रतिशतले चौँरीपालन व्यवसाय घटेको चौँरीपालक किसान बताउँछन् । युवा विदेश पलायन हुने र आफ्ना बाबु बाजेले अंगालेको पेशा युवा पुस्ताले अंगाल्न नसक्दा चौँरीपालन व्यवसाय घटेको चौँरीपालक किसानको भनाइ छ ।

पहाडी गाई र हिमाली याक गोरुबीच गर्भधारण गराउँदा, वा पहाडी गोरुसँग नाक गाईको प्रजनन भएर बसेको गर्भबाट चौँरीको जन्म हुन्छ । यो याक वा नाकभन्दा फरक प्रकृतिको जनावर हो । याक वा नाकलाई पनि चौँरीभन्दा उच्च प्रजातिमै समावेश गरिन्छ । पहाडी गाई र याकबीच गर्भधारण गराउँदा, अथवा पहाडी जोलाङ गोरुसित नाकको प्रजनन भएर बसेको गर्भबाट चौँरीको जन्म हुन्छ । याक र पहाडी गाई (किर्खो) बाट जन्मने चौँरीलाई ‘उराङ’ वा ‘झोप्क्यो’ र पहाडी जोलाङ गोरुसँग नाकको संसर्गबाट जन्मने सन्तानलाई ‘डिम्जो’ वा ‘झोप्क्यो’ भनिन्छ ।

नेपालमा उत्पादन हुने चौँरीगाईका याक चिज, छुर्पी, दुर्खा, घ्यू, मखन र पनिर कोशेलीका रुपमा देश तथा विदेशमा लैजाने गरेको पाइन्छ ।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top