६ वैशाख, नुवाकोट । म्यागङ गाउँपालिकाको आयोजनामा बागमती प्रदेशस्तरीय अन्तरपालिका ‘अध्यक्ष कप’ पुरुष भलिबल प्रतियोगिताको चौथो संस्करण भोलिदेखि सुरु हुँदैछ।
खेलकुदको माध्यमबाट पालिका र प्रदेशस्तरमा भ्रातृत्व र प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको यस प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको पालिका अध्यक्ष आशा तामाङले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन भोलि वैशाख ७ गते बिहान ११ बजे एक विशेष समारोहका बीच गरिने तय भएको प्रतियोगिता संयोजक तथा ५ नम्बरका वडा अध्यक्ष जीतबहादुर तामाङले जानकारी दिए ।
प्रतियोगितामा बागमती प्रदेशका विभिन्न गाउँपालिका र नगरपालिकाहरूलाई आठ समूहमा विभाजन गरी ‘टाई-सिट’ सार्वजनिक गरिएको छ।
समूह (क) मा रुवीभ्याली र गल्छी, समूह (ख) मा लिखु र नौकुण्ड, समूह (ग) मा दुप्चेश्वर र गंगाजमुना, तथा समूह (घ) मा खनियाँबास र मेलुङ गाउँपालिका रहेका छन्। त्यसैगरी समूह (ङ) मा आयोजक म्यागङ (क) र विदुर नगरपालिका, समूह (च) मा नेत्रावती डबजोङ र शिवपुरी, समूह (छ) मा पञ्चकन्या र सिद्धलेख, र समूह (ज) मा तादी र म्यागङ (ख) बीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको पहिलो दिन उद्घाटन खेलसँगै विभिन्न समूहका रोमाञ्चक भिडन्तहरू हुनेछन्।
खेल तालिका अनुसार वैशाख ७ र ८ गते समूह चरणका खेलहरू सञ्चालन हुनेछन् भने वैशाख ९ गतेदेखि ‘प्रि-क्वार्टर’ फाइनलका खेलहरू सुरु हुनेछन्।
वैशाख १० गते क्वार्टर फाइनल र ११ गते सेमिफाइनलका खेलहरू सम्पन्न गरी वैशाख १२ गते प्रतियोगिताको फाइनल खेल र तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ।
प्रतिक्रिया