नेपाल हुँदै चीन र भारतको दुरी २ सय ३० किमी
रसुवा — नेपाली सेनाले निर्माण गरिरहेको मैलुङदेखि स्याफ्रुबेंसीसम्मको सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ ।
नेपालको उत्तरी नाका जोड्ने बहुचर्चित राष्ट्रिय गौरवको आयोजको मैलुङ–स्याफ्रुवेसी खण्डको १७ किलोमिटर सिंगल लेनको ट्रयाक खोल्ने काम सकिएको छ । डबल लेन सडक निर्माण सकिने अब ६ सय मिटर बाँकी रहेको नेपाली सेनाले जनाएको छ ।
अबको ३ महिनामा सडक निर्माण सम्पन्न भइ गाडी गुड्ने नेपाली सेनाको विकास निर्माण निर्देशनालयका निर्देशक रामधर सिंहले बताए ।
उनका अनुसार नयाँ वर्षमा डबल लेनको १७ किलोमिटर सडक निर्माण पूरा गरी सरकारलाई हस्तान्तरण गरिने छ । अहिले सेनाले मैलुङ–स्याफ्रुबेंसी सडक खण्डको त्रिशूली खोलामा पर्ने चट्टाने भीर फोर्ने काम अन्तिम चरणमा गरिरहेको छ ।
सेनाले पाँच ठाउँमा क्याम्प राखेर ८ स्थानबाट काम गरिरहेको छ । १ सय ९० जना सेना र ३ सय ५० जना सिभिल कामदार परिचालन गरेर सडक निर्माणलाई युद्धस्तरमा अगाडि बढाइएको मैलुङ–स्याफ्रुबेंसी सडक निर्माण कार्यदलका मेजर सञ्जय केसीले बताए । गल्छी, बेत्रावती, मैलुङ, स्याफ्रुबेंसी रसुवागढी सडक बनेपछि उत्तर (चीनको केरुङ) र (दक्षिण (भारतको ठोरी) जोडिने सबैभन्दा छोटो त्रिदेशीय सडक हुनेछ । अहिले सञ्चालनमा रहेको पासाङ ल्हामुमार्गको बेत्रावती, कालिकास्थान, धुन्चे स्याफ्रुबेंसी सडकभन्दा बेत्रावती, मैलुङ, स्याफ्रुबेंसी सडकको दूरी २४ किमि कम छ ।
चीन सरकारले सन् २०२० सम्ममा सिगात्सेबाट केरुङसम्म रेल ल्याउने गरी तयारी गरेको छ । सेनाबाट सडक हस्तान्तरण गरेपछि सडक विभागले कालोपत्रेको काम अघि बढाउने छ । सडक निर्माण पूरा भएसँगै रसुवागढीदेखि धादिङको गल्छीसम्मको दूरी ८४ किलोमिटरको हुनेछ । गल्छीबाट काठमाडौंसम्मको दूरी ५० किलोमिटर छ । काठमाडौंबाट चीनको केरुङ करिब ४ घण्टामा पुग्न सकिने छ । पर्साको ठोरीबाट चितवनको भण्डारा–गल्छी हुँदै त्रिशूली बेत्रावती–मैलुङ–स्याफ्रबेंसी मार्ग सञ्चालन हुँदा चीन र भारतबीचको दूरी दुई सय ३० किलोमिटर हुनेछ ।
नेपाली सेनाले काम सम्पन्न गरेपछि थप स्तरोन्नतीको लागि गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेसी–रसुवागढी सडक योजनाले काम गर्ने जनाइएको छ । योजनाले अहिले गल्छीदेखि बेत्रावतीसम्मको सडक विस्तारको काम गरिरहेको छ ।
प्रतिक्रिया