+
Search

ताजा अपडेट +

पपुलर +

के हो दादुरा–रुबेला रोग?

dadura rubella vaccine
डबली खबर
६ साल अगाडी

मिजल्स भाइरसका कारण हुने दादुरा छिट्टै सर्ने संक्रामक रोग हो। रुबेला भाइरसका कारण हुने दादुरा जस्तै देखिने अर्को संक्रामक रोग हो रुबेला।

mr vaccine posterचाडै महामारीको रुप लिनसक्ने यी रोगहरु विशेषगरी ५ वर्षमुनिका बालबालिकालाई धेरै हुने गर्दछ।

दादुरा संक्रमण भएमा मृत्यु समेत हुनसक्छ। त्यसैगरी, रुबेला भाइरस दादुरा रोगको लक्षण भन्दा सामान्य किसिमको हुन्छ। तर, गर्भावस्थामा रुबेला संक्रमण भएमा विभिन्न जटिलताहरु देखिने छ । जस्तैः समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्मिने तथा गम्भीर प्रकारको जन्मजात हुने विकलांगहरू देखा पर्नसक्ने, गर्भपतन हुने।

यस्तो रोग लागेमा अरुलाई सर्नबाट जोगाउन बिरामीलाई अलग ठाउँमा राख्न आवश्यक हुन्छ। यससँगै चिकित्समको सल्लाहमा लक्षणअनुसार तत्काल उपचार गरिहाल्नुपर्छ।

कसरी सर्छ दादुरा
दादुरा रोग संक्रमित व्यक्तिको नाक तथा घाँटीबाट निस्किने तरल पदार्थको सम्पर्कमा आँउदा, हाच्छ्यूँ गर्दा, र खोक्दा विषाणु हावामा फैलिएर सर्छ।

दादुरा रोगको लक्षण देखिनु भन्दा अघि तथा लक्षण देखिइसकेपछि पनि धेरै दिनसम्म संक्रमितले दादुराका विषाणु सार्दछन्। बालबालिकाहरू समूहमा जम्मा हुने या भिड हुने स्थानहरूमा सजिलैसँग एकअर्कामा सर्नसक्छ।

 

प्रमुख चिन्ह-लक्षणहरू:

  • ज्वरो आउनु र शरीरमा राता विमीरा देखा पर्नु
  • रुघा खोकीको लक्षण चिन्हहरू (नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने आदि जस्ता)
  • रोगीको सम्पर्कमा आएको १०–१२ दिन पछि मात्र दादुराको लक्षण (ज्वरो) देखा पर्दछ भने १२ देखि २३ दिन पछि रुबेलाको लक्षण देखा पर्दछ

दादुरा–रुबेला रोगको भएमा के के जटिलता हुन सक्छ?

  • दादुराबाट हुने जटिलताः आँखाको अन्धोपना, पखाला लाग्ने, कानको संक्रमण, न्यूमोनिया, मस्तिष्कमा कडा खालको संक्रमण (encephalitis), कम्पन
  • रुवेलाबाट हुने जटिलता: हाडजोर्नीहरु सुन्निने वा दुख्ने, मस्तिष्कमा कडा खालको संक्रमण (encephalitis), गर्भपतन हुने वा मृत शिशु जन्मने, जन्मदै हुने विकलाङ्ग (CRS– अन्धोपना, बहिरोपना, मुटु र मस्तिष्कमा विकृति आदी), रगत जम्ने क्षमतामा कमि (रक्तस्राव) आदि

यस्ता जटिलताको कारण मृत्यु समेत हुन सक्छ ।

दादुरा–रुबेला रोगवाट बच्ने एक मात्र उपाय दादुरा–रुबेला विरुद्धको खोप लिनु नै हो ।

दादुरा रुबेला रोग लागे पछि यसको खास उपचार छैन । तर यस्तो रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग्ग राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै गई लक्षण अनुसार र जटिलताकोे उपचार गर्नु पर्दछ  । यसका साथै बिरामीलाई भिटामिन ए अनिवार्य रुपमा खुवाउनु पर्दछ ।

त्यसैले यो रोगबाट बचाउन नियमित खोप मार्फत बालबालिकालाई ९ र १५ महिनाको उमेरमा दादुरा–रुबेला खोपको दुई मात्रा लगाउनु पर्दछ ।

थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ