बनेपा / नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि प्रदेश नं. ३ सरकारले गठन गरेको समितिप्रति होटल तथा पर्यटन व्यवसायी संघ, प्रदेश ३ ले विरोध जनाएको छ ।
संघको प्रथम ऐतिहासिक अधिवेशनबारे जानकारी दिन बनेपामा बुधबार आयोजित पत्रकार सम्मेलनका क्रममा निजी क्षेत्रबाट प्रदेश समितिमा रहेका पदाधिकारीप्रति होटल व्यवसायीले खुलेरै विरोध गरेका छन् ।
चुनाव हारेका व्यक्तिहरुलाई राजनीतिक आस्थाका आधारमा समितिमा ल्याइएको छ ।
‘१३ वटा जिल्ला रहेको प्रदेशमा ६ वटा उद्योग वाणिज्य संघका अध्यक्षलाई मात्रै सदस्य राखिएको छ । यस्तै, सदस्यमा पर्यटन प्रवद्र्धनमा लागिरहेका संघसंस्थाका प्रतिनिधिभन्दा पनि व्यक्तिलाई समितिमा राखिएको छ। यसमा हामीहरुलाई दुःख लागेको छ,’ प्रदेश ३ स्तरीय संघका संयोजक सन्तोष उप्रेतीले भन्नुभयो । समितिमा प्रदेश ३ सरकारका तर्फबाट मुख्य मन्त्री संरक्षक, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अध्यक्ष, प्रमुख सचिवलाई सहअध्यक्ष र प्रदेश मन्त्रालयका सचिवलाई सदस्य-सचिव बनाइएको छ। ‘प्रदेश सरकारबाहेक १५ जनाको समितिमा अधिकांश काठमाडौं, धादिङ, चितवन, दोलखा र मकवानपुरका व्यक्ति रहेका छन्। काभ्रे, रामेछाप, रसुवा, नुवाकोटजस्ता पर्यटकीय गन्तव्यका न त व्यवसायी न त संघसंंस्था नै समावेश गरिएको छ,’ उप्रेतीले भन्नुभयो, ‘अन्यत्र संघसंस्थामा भारी मतले चुनाव हारेका व्यक्तिहरुलाई राजनीतिक आस्थाका आधारमा समितिमा ल्याइएको छ । यसप्रति हाम्रो संघको आपत्ति छ,’ उप्रेतीको आक्रोश थियो ।
प्रदेश अधिवेशन बनेपामा
होटल तथा पर्यटन व्यवसायी संघ, प्रदेश ३ ले प्रथम अधिवेशन मध्यपहाडको व्यापारिक नगरी बनेपामा आयोजना गर्ने भएको छ। २०७४ फागुनमा नुवाकोटमा गठित संघको तदर्थ समितिले काभ्रे होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको व्यवस्थापनमा साउन ११ र १२ गते बनेपामा अधिवेशन गर्न लागेको प्रदेश अध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिनुभयो। ‘प्रदेश ३ को होटेल तथा पर्यटन क्षेत्रमा नयाँ लगानी भित्र्याउन र हाल सञ्चालनमा रहेका व्यवसायलाई अझ गुणस्तरीय बनाउनका लागि अधिवेशनमा पर्यटन क्षेत्रका विभिन्न विज्ञबाट कार्यपत्र प्रस्तुत हुनेछन्,’ उप्रेतीले भन्नुभयो । प्रदेश ३ का १३ वटै जिल्लाका होटल एवं पर्यटन व्यवयसायीलाई मध्यबिन्दु पर्ने भएकाले पनि अधिवेशनका निम्ति बनेपालाई छनौट गरिएको उप्रेतीको भनाइ रहेको छ ।
पछिल्लो समय गेस्ट हाउस भन्नेबित्तिकै आम जनमानसमा नकारात्मक छवि रहेको अवस्थालाई हटाउन प्रदेश संघमा रहेका जिल्ला सदस्यहरुमार्फत अनुगमन र निगरानी बढाउँदै लगिएको उप्रेतीले भन्नुभयो । ‘केही गेस्ट हाउसको बदमासीले गर्दा उत्कृष्ट सेवा दिइरहेका गेस्ट हाउसलाई मर्का परिरहेको छ । हामीसँग आवद्ध नेपाली होटल संघ, काठमाडौं जिल्ला होटल संघलगायत संस्थाको सक्रियतामा धेरै सुधार आइसकेको छ,’ उप्रेतीले भन्नुभयो ।
बनेपा अधिवेशनबाट स्वदेशमै व्यवसाय गर्न सकिने वातावरण र सम्भावना रहेको सन्देशसमेत प्रवाह हुने काभ्रेका अध्यक्ष श्यामकुमार श्रेष्ठको धारणा व्यक्त गर्नुभयो । ‘युवालाई होटेल तथा पर्यटन क्षेत्रमा कसरी आकर्षण गर्ने, कसरी टिकाउने र स्वरोजगार बनाउने भन्नमै कार्यपत्र र छलफल केन्द्रित रहनेछन्,’ श्रेष्ठले भन्नुभयो । प्रदेश ३ अन्तर्गत १३ वटै जिल्लामा आधिकारिक जिल्ला शाखा गठन भइसेकको हुँदा यीनै शाखाबाट अधिवेशनमा करिब साढे चार सय होटल तथा पर्यटन व्यवसायीको प्रतिनिधित्व रहने श्रेष्ठको भनाइ रहेको छ । -नागरिकन्युज

प्रतिक्रिया