मङ्सिर ३, नुवाकोट । नेपालका दुई युवा अनुसन्धानकर्ता शक्रिय पाण्डे र श्रीषा पाण्डेले वायु प्रदूषण र वातावरणीय असमानतासम्बन्धी गरेको नयाँ अनुसन्धान विश्व बैंकको प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुतिका लागि स्वीकृत भएको छ।
नेपाल र भारतलाई केन्द्रमा राखेर गरिएको उक्त अध्ययन आगामी डिसेम्बर ८–९, २०२६ मा अमेरिकाको वासिङ्टन डीसीस्थित विश्व बैंकको मुख्यालयमा आयोजना हुने ‘राम्रो जीवनका लागि राम्रो तथ्याङ्क: एआईको युगमा सर्वेक्षण मापनसम्बन्धी नवीनताहरू’ सम्मेलनमा प्रस्तुत गरिनेछ। यसले नेपाली युवा अनुसन्धानकर्ताको वैज्ञानिक कार्यलाई विश्वस्तरीय अनुसन्धान मञ्चसम्म पुर्याएको छ।
वायु प्रदूषणबाट वास्तवमा कुन समुदाय बढी प्रभावित छ? के प्रदूषण मापन गर्ने विधिले नै त्यसको निष्कर्ष बदल्न सक्छ? यिनै महत्वपूर्ण प्रश्नमा केन्द्रित अनुसन्धानले भूउपग्रहबाट प्राप्त पीएम २.५ सम्बन्धी तथ्यांक विश्लेषण गरी प्रदूषणको जोखिम मापन गर्ने समयावधि र स्थानको छनोटले वातावरणीय असमानताको मूल्यांकनमा पार्ने प्रभाव अध्ययन गरेको छ।
अनुसन्धानले प्रदूषणबाट बढी जोखिममा रहेका समुदायको सही पहिचान, जनस्वास्थ्य संरक्षण र वैज्ञानिक प्रमाणमा आधारित नीतिनिर्माणमा नयाँ दृष्टिकोण प्रदान गर्न सक्ने सम्भावना देखाएको छ। विशेषगरी पर्याप्त वायु गुणस्तर अनुगमन केन्द्र नभएका विकासशील मुलुकका लागि यसको महत्व अझ बढी छ।
नेपालबाट सुरु भएको वातावरणीय प्रविधि संस्था वायुदृष्टिसँग आबद्ध यी दुई युवा अनुसन्धानकर्ता न्यून लागतका वायु गुणस्तर मापन उपकरण र वातावरणीय तथ्यांक प्रविधिको क्षेत्रमा सक्रिय छन्।
विश्व बैंकको ‘लिभिङ स्ट्यान्डर्ड्स मेजरमेन्ट स्टडी’कार्यक्रम र अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयको सहकार्यमा आयोजना हुने सम्मेलनमा उनीहरूले भर्चुअल माध्यमबाट अनुसन्धान प्रस्तुत गर्नेछन्। यस उपलब्धिले सीमित स्रोतसाधनका बाबजुद नेपाली युवाले विश्वव्यापी चुनौतीका समाधान खोज्ने वैज्ञानिक अनुसन्धानमा योगदान दिन सक्ने सम्भावनालाई उजागर गरेको छ।