मङ्सिर १, नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटले चालु आर्थिवर्ष २०८३/८४ को कार्तिक महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ ।
विदुरमा आयोजित पत्रकार सम्मेलन जिल्लामा पछिल्लो समय बैंकिङ कसुर जस्ता आर्थिक अपराधका घटनाहरू बढ्दै गईरहेको कार्यालयका प्रवक्ता इकवाल हवारीले जानकारी बताए । आधुनिक प्रविधिको दुरूपयोग र चेक अनादर जस्ता वित्तीय बेथितिहरूका कारण सर्वसाधारण तथा वित्तीय संस्थाहरू जोखिममा पर्दै गएका छन्। यस किसिमका अपराधले समाजको अर्थतन्त्रलाई नै गम्भीर असर पार्ने उनले बताए ।
उक्त अवधिमा दुई बैंकिङ कसुरका घटनाहरू दर्ता भएका थिए। घटनामा संलग्न अभियुक्तहरूको खोजी तथा कानूनी दायरामा ल्याउने क्रममा दुई जना पुरुषहरूलाई पक्राउ गरिएको उनले बताए ।
सामाजिक संजालमार्फत विभिन्न उपहार योजनाको लोभ, व्यवसायको बजार प्रवर्द्धनमा अग्रिम भुक्तानी, डिजिटल वालेटलगायतका साईबर अपराधका घटनाहरु पनि बढ्दै गएको उनले बताए ।
सो अवधिमा जिल्लाभर विभिन्न प्रकृतिका कुल २१ वटा आपराधिक मुद्दा दर्ता भएका छन्। दर्ता भएका मुद्दामध्ये ९ वटाको फर्छ्यौट भइसकेको छ । जसमा संलग्न १८ पुरुष र २ महिला गरी कुल २० जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
विवरणअनुसार उक्त अवधिमा अदालतबाट सजाय तोकिएका तर फरार रहेका ९ जना प्रतिवादीहरूलाई पक्राउ गरी कुल २८ हजार रुपैयाँ जरिवाना रकम असुल उपर गरिएको छ। यसले कानुनी राज्यको पालना गराउन र न्याय सम्पादनमा सहयोग पु¥याएको प्रहरीको दाबी छ।
त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी घरेलु हिंसाका १० वटा उजुरीहरू दर्ता भएकोमा ४ वटा उजुरी फर्छयौट भइसकेका छन् भने हराएका व्यक्तिहरूको खोजी कार्यमा समेत प्रहरी तल्लीन रहेको देखिन्छ।
सवारी दुर्घटना न्यूनीकरणतर्फ नुवाकोटमा कुल ८ वटा दुर्घटनाहरू भएका छन् । दुर्घटनामा ५ जनाको ज्यान गुमेको थियो । दुर्घटनामा परेका ९ जना घाइतेहरूको स्थानीय बासिन्दाहरूको सहयोगमा प्रहरी टोलीले समयमै उद्धार गरेको थियो।
ट्राफिक नियम उल्लङ्घन गर्ने १५५ वटा सवारी साधनहरूलाई कारबाहीको दायरामा ल्याउँदा एकलाख ६६ हजार पाँचसय रुपैयाँ राजश्व संकलन भएको छ। मादक पदार्थ सेवन र तीव्र गति दुर्घटनाको प्रमुख कारण रहेको प्रहरीको विश्लेषण छ ।