असोज २३, नुवाकोट । नेपालका मौलिक लिपि संरक्षणमा सक्रिय क्यालिजात्रा फाउण्डेसनले रञ्जना लिपि सिक्नका लागि अन्तरक्रियात्मक अनलाइन प्लेटफर्म सञ्चालन गरेको छ।
फाउण्डेसनका अध्यक्ष आनन्दकुमार महर्जनका अनुसार वेबसाइटमा गएर प्रयोगकर्ताहरूले रञ्जना लिपिका अक्षर, मात्रा र संयुक्त अक्षरहरू सजिलै अभ्यास गर्न सक्छन्। यस प्लेटफर्ममा अक्षरहरूलाई क्यालिग्राफी आकारका आधारमा रङ छुट्याएर देखाइएको छ। सामान्य, शिरोरेखा नभएका, तलतिर फैलिएका र माथितिर फैलिएका अक्षर समूह छुट्टाछुट्टै अध्ययन गर्न मिल्ने उनले बताए ।
कुनै पनि व्यञ्जन अक्षरमा क्लिक गर्दा त्यससँग जोडिने मात्रा परिवार देखिन्छ। स्वर, व्यञ्जन र संयुक्त अक्षरहरूको अभ्यास पनि उपलब्ध छ। यसले रञ्जना लिपिको संरचना र लेखन नियम बुझ्न मद्दत गर्ने जनाएको छ ।
क्यालिजात्रा फाउण्डेसनले नेपाल लिपि र रञ्जना लिपिलाई डिजिटल माध्यमबाट संरक्षण र प्रवर्द्धन गर्दै आएको छ। यससँगै मोबाइल एप, दुर्गालाल श्रेष्ठ फन्ट, नेवा फन्ट, युनिकोड कन्भर्टर, रञ्जना वेबफन्ट, फन्ट स्विचर र ट्रान्सलिटरेसन जस्ता सुविधा पनि उपलब्ध छन्। यी उपकरणहरूले लिपि लेखन, रूपान्तरण र वेबमा प्रयोगलाई सहज बनाएका छन्।
रञ्जना लिपि ऐतिहासिक रूपमा संस्कृत र नेपाल भाषाका ग्रन्थ लेख्न प्रयोग हुने कलात्मक लिपि हो। डिजिटल उपकरण र अनलाइन सिकाइ सामग्रीले यस लिपिलाई नयाँ पुस्तासम्म पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।