साउन २६, नुवाकोट । विदुर नगरपालिकाले नगर क्षेत्रभित्र बढ्दो पहिरोको जोखिम र विपद् व्यवस्थापनलाई ध्यानमा राख्दै केही महत्वपूर्ण निर्णय गरेको छ।
नगरपालिकामा आज मङ्गलबार विदुर नगरपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकबाट गैरसंरक्षित बस्ती संरक्षण, पहिरो नियन्त्रण, विपद् प्रभावित क्षेत्रको पुनःनिर्माण तथा विपद् पूर्वतयारीसम्बन्धी प्रस्तावहरू पारित गरेको छ ।
गल्छी–त्रिशुली सडक खण्डअन्तर्गत विदुर नगरपालिका वडा नं. १० मा पर्ने तिरतिरे भिरमा राष्ट्रिय गौरवको आयोजना सुरु भएदेखि नै पर्याप्त पहिरो नियन्त्रण नगरी निर्माण कार्य भइरहेको विषय प्राथमिकतासाथ बैठकमा उठेको थियो। उक्त क्षेत्र वरपरका गैरसंरक्षित बस्तीहरू जोखिममा परेका, रुखबिरुवा ढलेका/बाँधिएका, बस्तीमुनिको भागमा पानीको मात्रा बढेको र धमिलो पानी बग्न थालेको अवस्था रहेको बैठकले जनाएको छ।
गत साउन २१ गते नगरप्रमुख श्रेष्ठसहित जिल्ला विपद व्यवस्थापन समितिको टोलीले स्थलगत निरीक्षण गर्दा उक्त बस्ती अत्यन्त जोखिमपूर्ण अवस्थामा रहेको देखिएको थियो। यसैलाई ध्यानमा राख्दै यस वर्षको मनसुन अवधिमा थप जोखिम बढ्नसक्ने भएकाले तत्काल भूगर्भविद्बाट स्थलगत अध्ययन गराई बस्ती संरक्षण वा आवश्यक परे स्थानान्तरणका लागि सम्बन्धित निकायहरूमा पहल गर्न जिल्ला विपद् व्यवस्थापन समिति तथा अन्य सम्बन्धित निकायहरूमा अनुरोध गर्ने निर्णय गरिएको छ।
बैठकमा नगरप्रमुख राजन श्रेष्ठले विपद् पूर्वतयारी, न्यूनीकरण, प्रतिकार्य र पुनःनिर्माणसम्बन्धी निर्णयमा यस वर्षको मनसुन सुरु भइसकेको अवस्थामा नगरपालिका क्षेत्रभित्र हुनसक्ने सम्भावित विपद्का घटनालाई मध्यनजर गर्दै नगरपालिकाका विपद् पूर्वतयारीका साधन तथा सामग्रीहरू तयारी अवस्थामा राख्ने, नपुग अति आवश्यक सामग्री खरिद गरी तयारी अवस्थामा राख्ने अनुरोध गर्ने बताए । नगरपालिकाले गर्न नसक्ने अवस्था जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सम्बन्धित निकायहरूमा अनुरोध गर्ने निर्णय गरिएको बताए ।
यसैगरी यस वर्षको मनसुनमा आएको बाढी–पहिरोका कारण नगरपालिकाभित्रका विभिन्न स्थानमा भएको क्षतिको पुनःनिर्माणका लागि जिल्ला विपद् व्यवस्थापन समिति मार्फत संघ र प्रदेश सरकारका सम्बन्धित निकायहरूमा अनुरोध गर्ने निर्णय पनि भएको छ।
नगरपालिकाले पोखरीडाँडा पहिरो नियन्त्रण (वडा नं. १० र ११), भट्टगाउँ पोखरीमुनी खेत पहिरो नियन्त्रण (वडा नं. १०), पदमखर्क पहिरो नियन्त्रण (वडा नं. ४), धारेखोला बाढी नियन्त्रण तथा खेत संरक्षण (वडा नं. १०), देवीघाट कुखुरा फार्मदेखि त्रिशुली पुलसम्म नदी नियन्त्रण (वडा नं. ५), महभिर सिम चौरेस्थान पहिरो नियन्त्रण (वडा नं. १०), कालापानी पहिरो नियन्त्रण (वडा नं. १०), चण्डी आधारभूत विद्यालय जाने सडक पहिरो नियन्त्रण, मैरिटार (वडा नं. ३) र खुर्सानीखोला (हरिराम अधिकारीको घर छेउ) पहिरो नियन्त्रण (वडा नं. ८) गरी पहिरो नियन्त्रणका नगरका विभिन्न क्षेत्रका स्थानहरूलाई प्राथमिकतामा राखेको छ।
साथै विपद् भएमा तत्काल न्यूनीकरण तथा प्रतिकार्यमा जुट्ने, आवश्यकताअनुसार पुनःनिर्माण र पुनर्स्थापनाका लागि नगरपालिकाले पहल गर्ने जनाएको छ।