साउन ११, नुवाकोट । लिखु खोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ (बालुवा) उत्खनन गरी लोड गरिरहेको अवस्थामा एक टिपरलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ।
लिखु गाउँपालिका वडा नम्बर ३ स्थित लिखु खोला क्षेत्रमा गैरकानुनी रूपमा बालुवा झिक्ने र ओसारपसार गर्ने क्रम बढेको निगरानीका आधारमा इलाका प्रहरी कार्यालय ढिकुरेबाट खटिएको प्रहरी टोलीले उक्त टिपरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सह-प्रवक्ता एवं प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरले जानकारी दिए । प्रहरी अधिकृतको कमान्डमा खटिएको टोलीले बा ४ ख ९९४६ नम्बरको टिपरलाई खोलाबाट अवैध बालुवा लोड गरिरहेकै अवस्थामा फेला पारी नियन्त्रणमा लिएको उनले जानकारी दिए ।
नदीजन्य पदार्थको अवैध दोहन नियन्त्रण तथा स्थानीय प्राकृतिक स्रोतको संरक्षण गर्ने उद्देश्यले नियन्त्रणमा लिइएको उक्त सवारी साधनलाई आवश्यक कानुनी कारबाहीका लागि लिखु गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय भलादमी डाँडा, नुवाकोटमा पठाइएको छ।
गाउँपालिकाले स्थानीय ऐन तथा नियम अनुसार अवैध उत्खननमा संलग्न उक्त टिपरलाई १५ हजार रुपैयाँ जरिवाना गराएको प्रहरी निरीक्षक बुढाऐरले जानकारी दिए ।
स्थानीय नदीनालाहरूबाट अवैध रूपमा गिट्टी, बालुवा तथा ढुङ्गा उत्खनन गर्दा वातावरणीय जोखिम बढ्नुका साथै प्राकृतिक स्रोतको असन्तुलित दोहन हुने भएकाले प्रहरीले यस्ता गैरकानुनी गतिविधिमाथि कडा निगरानी राख्दै आएको छ। स्थानीय तहहरूसँग समन्वय गरी खोला तथा नदी क्षेत्रमा हुने अवैध उत्खनन र चोरी-निकासीलाई पूर्ण रूपमा रोक्नका लागि नियमित गस्ती तथा कारबाही प्रक्रियालाई अझ सशक्त बनाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया