असार १६, नुवाकोट । चैतदेखि जेठमसान्तसम्मको तीन महिनाको तथ्यांकले त्रिशूली अस्पतालको आपतकालीन विभागमा गैरबीमा बिरामीको संख्या निरन्तर बढिरहेको देखाएको छ ।
अस्पतालले चालुआर्थिक वर्ष २०८२/८३ को चैतदेखि जेठसम्मको अवधिको प्रतिवेदनअनुसार कुल बिरामीमध्ये औसत ५५ प्रतिशत गैरबीमा रहेका छन् भने बीमा भएकाहरू ४५ प्रतिशत मात्र छन् । चैतमा ४४ प्रतिशत, वैशाखमा ४६ प्रतिशत र जेठमा ४५ प्रतिशत बीमा गरेका बिरामीले स्वास्थ्य उपचार लिएका छन्। यसैगरी, बीमा नगरेका ५६ प्रतिशतले चैतमा, वैशाखमा ५४ प्रतिशत र जेठमा ५५ प्रतिशत उपचार गराएका छन् ।
अस्पतालका निमित्त निर्देशक डा. राजेन्द्र लामाकाअनुसार केहि स्थानीय तहले आर्थिक अवस्था कमजोर भएका नागरिकको बीमा गरेतापनि केहीले बीमा गर्न नसक्दा प्रत्यक्ष खर्च बेहोर्नुपर्ने बाध्यता, बीमा रकम सकिनु, समयमै नवीकरण नगर्नु, बीमामा उल्लेख गरिएको औषधि नपाउनुलगायतका कारणले गर्दा गैरबीमा बिरामीले उपचार सेवा लिईरहेको बताए ।
अस्पतालले गत महिनादेखि सुरु गरेको ‘इलेक्ट्रोनिक मेडिकल रेकर्ड’ले गर्दा उक्त समस्याको पहिचानमा सहज भएको उनले बताए । दैनिक रुपमा बिमारीको स्वास्थ्य अवस्थाबारे सहजै रुपमा जानकारी लिन सकिने सुविधाले उपचारमा समेत टेवा पुगेको बताए ।
पुरुष बढी रोगी, ६२ प्रतिशत श्यैया भरिभराउ
अस्पतालको सामान्य वार्डमा कुल ३६९ जना भर्ना भएका थिए । जसमा पुरुष बिरामीको संख्या महिलाभन्दा केही बढी छ । मेडिकल, सर्जिकल, अर्पोपेडिक जस्ता विभागहरूमा पुरुष बिरामीको चाप स्पष्ट देखिन्छ । सर्जिकल वार्डमा मात्र १३४ जना भर्ना भएका थिए । कुल श्यैया क्षमताको करिब ६२ प्रतिशत भरिभराउ रहेको अस्पताल प्रशासनले जनाएको छ ।
आईसीयूमा पनि तीन महिनामा १५२ जना बिरामीले उपचार पाए । जसमा ७४ जना पुरुष बिरामी रहेका थिए । चिकित्सकहरूका अनुसार सडक दुर्घटना, स्ट्रोक, विषाक्तता र हृदयरोगका पुरुष बिरामी बढी आउने गरेका छन् ।
मिर्गौला डायलायसिसमा २५ जना सेवाग्राहीमा १६ जना पुरुषले नियमति रुपमा उपचार लिईरहेका छन् । मधुमेह, उच्च रक्तचाप, आनुवंशिक र अन्य रोगका कारण पनि मिर्गौलाका रोगी बढ्ने हेमोडियालिसिस एकाइकी स्टाफ नर्स मुना पाण्डेले बताईन् ।
हाल नुवाकोटमा लिङ्गको आधारमा क्षयरोगका बिरामी हुनेमा उक्त अवधिमा नौ जना पुरुष रहेका छन्। यसैगरी, हाल एआरटी ग्राहकहरूमा एचआईभी भएका व्यक्तिहरूमा पनि पुरुषको संख्या ९९ जना रहेका छन् ।
शल्यक्रिया विभागमा ४४ जना पुरुष र महिला ३५ ले शल्यक्रिया गरेका छन् ।
पुरुष बिरामी बढी छन् तर ढिलो आउने प्रवृत्ति रहेको प्रतिवेदनले देखाएको छ ।
जेष्ठ नागरिक सेवामा पनि १२ पुरुषले सेवा लिएका छन्। लक्षित समूह अनुसार भ्रमण गरिएका बिरामीहरूको संख्या ५३ जना पुरुष रहेका छन् ।
११ शिशु: कम उमेरका आमाहरूबाट जन्म
सो अवधिमा प्रसूति वार्डमा कुल १४५ डेलिभरी भए । जसमध्ये ६८ नर्मल (४७ प्रतिशत) र ७४ सिजेरियन (५१ प्रतिशत) थिए ।
जटिल प्रसवका तीन ‘केस’ मात्र थिए । उमेर समूह (१९–४९ वर्ष) भन्दा कम उमेरका आमाहरूबाट ११ जना शिशु जन्मिएका छन् । यो तथ्यांकले जिल्लामा अझै पनि बालविवाह र कम उमेरमा गर्भधारणको समस्या कायम रहेको देखिएको छ ।
प्रसूति वार्ड इन्चार्ज बसन्ती पंचाका अनुसार धेरैजसो कम उमेरका आमाहरूमा रक्तअल्पता, पोषणको कमी र जटिलता देखिएको छ । यस्ता आमाहरूलाई थप सतर्कता अपनाउन सल्लाह दिन्छौं तर सामाजिक दबाब र जागरणको कमीले समस्या जटिल बन्दै गएको उनी बताउँछिन् ।
नातेदारबाटै ९२ प्रतिशत हिंसा
एकद्वार सङ्कट व्यवस्थापन केन्द्रको प्रतिवेदनअनुसार गत तीन महिना अवधिमा ५१ जनाले सेवा लिएका छन् । जसमा एक जना पुरुषले हिंसाको सामना गर्नुपरेको उल्लेख छ ।
९५ प्रतिशत पीडित महिला रहेकोमा ठूलो हिस्सा नातेदार (घरपरिवारका सदस्य) बाट हिंसित भएको प्रतिवेदनले देखाएको छ ।
शारीरिक र मानसिक उपचार लिने महिलाको संख्या उच्च छ । तीन महिनामा २५१ जनाले सेवा लिएका थिए ।

प्रतिक्रिया