जेठ १०, नुवाकोट । बेलकोटगढी नगरपालिकामा सवारीसाधनको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ।
बेलकोटगढी नपा वडा नं. १ भन्ज्याङ बस्ने अन्दाजी ६५ वर्षीय कृष्ण बहादुर तामाङलाई जेठ ९ गते दिउँसो साढे ३ बजेको समयमा एक सवारीसाधनले ठक्कर दिएको थियो। ठक्कर लगत्तै सवारी साधन फरार भए पनि प्रहरीले गरेको प्रारम्भिक अनुसन्धान र खोजतलासका क्रममा संलग्न चालकलाई गाडीसहित नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक विक्रम लामाले जानकारी दिए ।
दुर्घटना लगत्तै प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा खटिएको थियो। प्रहरी टोलीले घटनास्थलको लासजाँच तथा प्रकृति मुचुल्का लगायतका आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतकको शवलाई पोस्टमार्टमका लागि त्रिशुली अस्पताल नुवाकोट पठाएको छ। घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले तत्कालै ठक्कर दिएर फरार भएको सवारी साधनको खोजी तीव्र पारेको थियो।
अनुसन्धानका क्रममा सोही ठाउँ बस्ने ४३ वर्षीय भिमबहादुर तामाङले चलाएको बा ३ क २०३० नम्बरको आइचर गाडीले वृद्धलाई ठक्कर दिएको खुलेको छ। दुर्घटना लगत्तै फरार रहेका चालक भिम बहादुरलाई प्रहरीले सवारी साधनसहित फेला पारी पक्राउ गरिसकेको छ।
जिप्रका नुवाकोटका प्रवक्ता लामाका अनुसार पक्राउ परेका अभियुक्तमाथि सवारी ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ।

प्रतिक्रिया