२२ चैत, नुवाकोट । विदुर नगरपालिका-२ भुटोलमा गएराति भएको स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लिखु गाउँपालिका-१ खानीगाउँका ३५ वर्षीय इन्द्रबहादुर थापा रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता विक्रम लामाका अनुसार शनिबार राति साढे ११ बजेतिर भैरवी मन्दिरबाट खानीगाउँस्थित आफ्नो घरतर्फ फर्कने क्रममा थापा सवार प्रदेश ३–०२–००७ प ९७३३ नम्बरको स्कुटर दुर्घटनामा परेको हो।
स्कुटर आफैँ अनियन्त्रित भई सडकबाट करिब ३ मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै गम्भीर घाइते भएका थापालाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा आज (आइतबार) बिहान २ बजे उनको मृत्यु भएको प्रहरी प्रवक्ता लामाले जानकारी दिए ।
प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रतिक्रिया