+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली अस्पतालको स्वास्थ्य सुधारमा नगरप्रमुखको ऐक्यबद्धता

डबली खबर
१ महिना अगाडी

२२ चैत, नुवाकोट । विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले त्रिशूली अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नगरपालिकाले सधैं सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार अस्पतालमा आयोजित सामाजिक परीक्षण कार्यक्रममा बोल्दै उनले मानव जीवनमा स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएको उल्लेख गर्दै यस क्षेत्रको सुधारका लागि नगरपालिकाले जुनसुकै कदम चाल्न तयार रहेको बताए ।

अस्पतालमा बिरामीको चाप दैनिक पाँच सयदेखि नौसयसम्म पुग्ने गरेको तर सोही अनुसारको कर्मचारी र भौतिक संरचनाको अभाव रहेको तथ्यलाई उनले स्वीकार गरेका छन् । बिरामीको यो ठूलो संख्यालाई व्यवस्थापन गर्नु चुनौतीपूर्ण रहेको भन्दै उनले सेवालाई गुणस्तरीय बनाउन प्रशासन र सरोकारवाला सबै एकमत भएर लाग्नुपर्नेमा जोड दिए ।

नगरप्रमुख श्रेष्ठले नगरपालिकाले विगतदेखि नै अस्पताललाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको स्मरण गराउँदै उनले सामाजिक सेवा एकाइमा तीन लाख रुपैयाँ सहयोग गरेको, विपन्न नागरिकका लागि बीमा कार्यक्रमको प्रिमियम तिरिदिएर करिब ३५ देखि ४० हजार जनतालाई प्रत्यक्ष लाभ पुर्‍याएको र टेलिमेडिसिनका लागि आवश्यक उपकरणहरू प्रदान गरेको जानकारी दिए । यस्तै, अस्पतालमा हुने भिडभाड नियन्त्रणका लागि नगरपालिकाले स्वयंसेवकहरू समेत खटाएको उनले बताए ।

अस्पतालको स्तरोन्नतिका लागि प्रदेश सरकारसँग पनि समन्वय भइरहेको र संरचना निर्माणका लागि बजेट सुनिश्चित गर्न पहल भइरहेको उनको भनाइ थियो । हिजोका दिनमा सामान्य औषधि मात्र पाइने यस अस्पतालमा अहिले सिटी स्क्यान जस्ता आधुनिक सुविधाहरू उपलब्ध हुनु ठूलो उपलब्धि भएको उनले उल्लेख गरे ।

नगरपालिकाले अस्पतालसँगको सहकार्यमा रेबिज विरुद्धको खोप, सुत्केरीलाई न्यानो झोला र क्याल्सियम वितरण जस्ता नियमित कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । साथै, नगरबासीको सुविधाका लागि अस्पतालमा निःशुल्क शव वाहन सेवा समेत प्रदान गरिएको छ ।

त्रिशूली अस्पतालले एम.एस.एस. मा ८६ प्रतिशत अंक ल्याएर प्रादेशिक तहमा उत्कृष्ट अस्पतालको रूपमा स्थापित भएकोमा खुसी व्यक्त गर्दै नगरप्रमुख श्रेष्ठले देखिएका कमजोरीहरूलाई सबै मिलेर सुधार गर्दै जानुपर्ने बताए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ