२ चैत, विदुर । गर्मी मौसमसँगै बढ्न सक्ने वन डढेलोको जोखिमलाई न्यूनीकरण गर्न डिभिजन वन कार्यालय नुवाकोटले पूर्वतयारीका कार्यहरूलाई तीव्रता दिएको छ। वन डढेलो व्यवस्थापन सप्ताह अन्तर्गत यहि चैत १-७ गतेसम्मको अवसरमा कार्यालयले जनचेतना जगाउनेदेखि प्रयोगात्मक अभ्याससम्मका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।
डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख प्रदिपनाथ शर्माका अनुसार डढेलो नियन्त्रणका लागि जिल्लाका विभिन्न सामुदायिक वनहरूमा उपभोक्ताहरूको सक्रिय सहभागितामा करिब ९ किलोमिटर लामो अग्नि रेखा निर्माण गरिएको छ। विशेषगरी बस्ती र सडक नजिक रहेका वन क्षेत्रहरूमा डढेलो फैलन नदिन यस्तो रेखाले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
डढेलो नियन्त्रणका लागि कार्यालयले आवश्यक अग्नि नियन्त्रण उपकरणहरू खरिद गरी सुरक्षा निकायहरूलाई हस्तान्तरण गरिसकेको उनले बताए ।
“हामीले सुरक्षा निकायका ‘फ्रन्टलाइन’मा खटिने कर्मचारी, वन कर्मचारी र स्थानीय तहले तोकेका ‘फोकल पर्सन’हरूलाई लक्षित गरी अनुशिक्षण कार्यक्रम सञ्चालन गरेका छौँ,” उनले भने, “उपकरणको प्रयोग कसरी गर्ने र आगलागीका बेला कसरी सुरक्षित रहने भन्ने विषयमा प्रशिक्षण दिइएको छ।”
वन क्षेत्रमा रहेका सुकेका पात, पतिङ्गर र काठ दाउरा जस्ता प्रज्वलनशील पदार्थ व्यवस्थापनका लागि ती वस्तु संकलन गरी कम्पोस्ट बनाउने वा सुरक्षित रूपमा नष्ट गर्ने कार्य पनि गरिरहेको उनले बताए । साथै, एफएम रेडियो, माइकिङ र पर्चा वितरणमार्फत् डढेलो नलगाउन र लागेमा तुरुन्त खबर गर्न स्थानीय समुदायलाई आग्रह गरिने कार्य भईरहेको उनले बताए ।
सप्ताहकै अवसरमा सुरक्षा निकायहरूसँगको समन्वयमा आगो निभाउने प्रयोगात्मक अभ्यासको समेत तयारी गरिएको छ। यसले वास्तविक आगलागीको समयमा तुरुन्त प्रतिकार गर्न मद्दत पुग्ने विश्वास लिइएको उनले बताए ।
हालको मौसम डढेलोका लागि केही प्रतिकूल (डढेलो नलाग्ने खालको) रहेको भएतापनि जोखिम कायमै रहेकाले कार्यालयले उच्च सतर्कता अपनाएको कार्यालयले जनाएको छ।
नुवाकोटमा ३ सय ७० वटा सामुदायिक वन रहेका छन् ।

प्रतिक्रिया