२८ मङ्सिर, नुवाकोट । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफु मकवानपुरको भएतापनि नुवाकोट जिल्लाको विकासलाई विशेष प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बेलकोटगढी नगरपालिका-१३ र लिखु गाउँपालिका-३ जोड्ने सुपारीखोल्ची पुलको उद्घाटन र बेलकोटगढी नगरपालिका-१३ मा ठाडेखोला सडक पुलको शिलान्यासपछि आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले प्रदेशभित्रका जिल्लाबीच विकासमा समानता कायम गर्न आवश्यक रहेको उल्लेख गर्दै नुवाकोटलाई विकासका हिसाबले अझै अघि बढाइने बताए ।
मुख्यमन्त्रीले विकासका कारण पछाडि परेका क्षेत्रका नागरिकलाई सहज बनाउने जिम्मेवारी जनप्रतिनिधिको भएको स्पष्ट पारे । नुवाकोटका जनताले भोगिरहेका समस्या अब उपेक्षा नगरिने र ती समस्यालाई छिटोभन्दा छिटो समाधानतर्फ लैजान प्रदेश सरकार सक्रिय रहने मुख्यमन्त्रीले बताए ।
“हामी एउटै प्रदेशका नागरिक हौँ। आज यहाँ उठाइएका समस्याहरूलाई आगामी दिनमा बेवास्ता गरिने छैन,” मुख्यमन्त्रीले भने, “नुवाकोटका समस्यालाई प्राथमिकताका साथ अघि बढाएर कार्यान्वयनमा लैजान म स्वयं अग्रसर हुनेछु।”
नुवाकोटको समग्र विकासमा प्रदेश सरकारको स्पष्ट योजना रहेको जनाउँदै आवश्यक बजेट, नीति तथा कार्यक्रममार्फत विकासका काम अघि बढाइने मुख्यमन्त्रीले विश्वास दिएका छन् ।

प्रतिक्रिया