९ मङ्सिर, नुवाकोट । विदुर नगरपालिका–५ पिपलटारमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको ज्यान गएको छ।
गल्छी–त्रिशुली सडक खण्ड अन्तर्गत मंगलबार साँझ साढे ५ बजे गल्छीबाट बट्टारतर्फ आउँदै गरेको ग १८ प ६३७० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ८० वर्षीय लिलानाथ कोइराला गम्भीर घाइते भएका थिए ।
घाइते कोइरालालाई तत्काल उद्धार गरी उपचारका लागि त्रिशूली अस्पताल पुर्याइएकोमा उपचारकै क्रममा साँझ सवा ६ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल चालक लमजुङका २६ वर्षीय जीवन तामाङ र पछाडि सवार ३१ वर्षीय विष्णु थापा सामान्य घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नुवाकाटका सूचना अधिकारी हरिबोल के.सी.का अनुसार चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया