१८ असार, नुवाकोट । पञ्चकन्या गाउँपालिकालाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’ घोषणा गरिएको छ ।
बुधबार (आज) गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङको प्रस्तावमा प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, जनप्रतिनिधि, कर्मचारी, शिक्षकहरुको उपस्थितिमा ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’ घोषणा गरेका हुन् ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य तामाङले पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भई घोषणा गरिएसँगै बालश्रम उन्मूलन, बालमैत्री स्थानीय तह, बालविवाहरहित पालिका घोषणा गर्नका लागि धेरै आधारहरु देखिएको उनले बताए ।
कार्यक्रममा गाउँपालिकका अध्यक्ष तामाङले ४ वर्षदेखि १३ वर्षसम्मका विद्यालय उमेर समूहका २५ जना बालबालिकालाई विद्यालयमा भर्ना गराई आफ्नो पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह घोषणा गरिएको स्पष्ट पारे। पालिकाको ५ वटै वडाहरुको संकलकद्वारा घरधुरी सर्वेक्षण गरी २५ जना बालकालिकालाई पुन:विद्यालय ल्याएको उनले जानकारी दिए।
कार्यक्रममा घरधुरी सर्वेक्षणमा अति विपन्न, परिवारका ३५५ जना बालबालिकालाई शैक्षिक सामग्री, विद्यालय पोशाक, झोलालगायतका सामाग्रीहरु वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष बिमला केसीले जानकारी दिईन् ।
प्रतिक्रिया