१३ चैत, नुवाकोट । ग्लोबल मनि विक २०२५ अभियान अन्तर्गत विभिन्न बैंकहरुले सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
यस वर्ष अभियानको नारा ‘थिङ्क बिफोर यु फलो,वाईज मनि टुमरो’ रहेको छ ।
कृषि विकास बैंक लिमिटेड, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलगायतले सात वटै प्रदेशमा रहेका आफ्ना प्रदेश कार्यालयहरु तथा अन्तर्गतका विभिन्न शाखाहरुमार्फत विभिन्न स्कुल तथा कलेजहरुमा विद्यार्थीहरु माझ साताव्यापी वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरिएको बैंकले जनाएको छ ।
एनएमबि बैंकले आफ्नो सामाजिक सञ्जालमार्फत पनि विभिन्न सचेतना तथा अन्य जानकारीमूलक कार्यहरु सञ्चालन गरेका थिए । बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट करीब तीन हजार जना व्यक्तिहरु प्रत्यक्षरुपमा लाभान्वित भएको जनाएको छ ।
माछापुच्छ्रे बैंकले ग्राहक लक्षित गर्दे यसअघि पनि विभिन्न समयमा विभिन्न माध्यमहरूमार्फत वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गरेको थियो ।
यस्तै, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले कोशी प्रदेशमा १२, मधेश प्रदेशमा १२, बागमती प्रदेशका १६, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशमा १४, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा १० गरी बैंकका जम्मा ८३ वटा शाखा कार्यालयहरुले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका थिए ।
बैंकले लुम्बिनी प्रादेशिक कार्यालय, हेटौंडा, धनगढी, हरिवन, सर्लाहीको लालबन्दी र रसुवाको स्याफ्रुबेसीमा वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी गरेको थियो ।

प्रतिक्रिया