जेठ ४, विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले चालुआर्थिक वर्षको पछिल्ला चार महिनाको मुख्य प्रशासनिक कार्य सम्पादन विवरण सार्वजनिक गरेको छ ।
तथ्याङ्क अनुसार जिल्लामा नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी सेवा प्रवाहको अवस्थामा माघ, फागुन, चैत र वैशाख महिना अनुसार निकै ठुलो उतारचढाव देखिएको छ ।
वैदेशिक रोजगारी, उच्च शिक्षा तथा विविध भ्रमण र अन्य प्रयोजनका लागि अनिवार्य मानिने राहदानी सिफारिस र वितरणतर्फ पनि उल्लेख्य देखिएको छ । माघ महिनामा ६७६ वटा राहदानीको आवेदन फारम सङ्कलन गरी ९७६ वटा राहदानी वितरण गरिएको थियो । जसबाट चार महिनाकै सबैभन्दा उच्च ४७ लाख २५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । फागुन महिनामा ४२० आवेदन सङ्कलन र ५४६ राहदानी वितरण हुँदा २२ लाख २७ हजार ५०० रुपैयाँ राजस्व उठ्यो । यसैगरी, चैत महिनामा फेरि राहदानीको माग बढेर ६८७ आवेदन सङ्कलन र ८४६ वितरण भयो, जसबाट ३६ लाख ६७ हजार ७५० रुपैयाँ राजस्व प्राप्त भयो ।
वैशाख महिनामा भने ५२० वटा राहदानी आवेदन फारम सङ्कलन हुनुका साथै ६५८ वटा राहदानी नागरिकहरूलाई हस्तान्तरण गरिएको छ, जसबाट प्रशासनले २९ लाख ६५ हजार ७५० रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
यसैगरी, प्रशासनले राहदानीबाट मात्र १ करोड ३५ लाख ८६ हजार रुपैँया राजस्व सङ्कलन गरेको छ ।

कार्यालयमा माघ महिनामा सबैभन्दा धेरै नागरिकता सम्बन्धी कामहरू भएको छ । उक्त अवधिमा वंशजका आधारमा ६६० जनालाई नयाँ नागरिकता र ९६९ जनालाई प्रतिलिपि नागरिकता वितरण गरिएको थियो । फागुन महिनामा भने यो सङ्ख्या ह्वात्तै घटेर २३४ नयाँ नागरिकता र ४८० प्रतिलिपिमा सीमित हुन पुग्यो । चैत महिनामा भने सेवाग्राहीको सङ्ख्या पुनः बढ्न थालेर ३८१ नयाँ नागरिकता र ७७६ प्रतिलिपि नागरिकता वितरण गरिएको थियो ।
यस्तै, गत वैशाख महिनामा वंशजका आधारमा नयाँ नागरिकता लिनेको सङ्ख्या चार महिनाकै उच्च अर्थात् ७२५ पुगेको छ । ८४४ जनाले प्रतिलिपि नागरिकता लिएका छन् ।
सो अवधिमा माघमा गैर-आवासीय नागरिकता वितरणतर्फ चैतमा ३ जना र वैशाखमा २ जनालाई यस्तो नागरिकता प्रदान गरिएको छ ।

राष्ट्रिय परिचयपत्रतर्फ व्यक्तिगत विवरण दर्ता गराउने र परिचय पत्र बुझ्ने बुझाउने कार्य पनि सँगसँगै अगाडि बढिरहेको छ । माघ महिनामा सबैभन्दा धेरै २ हजार २९३ जनाको व्यक्तिगत विवरण सङ्कलन गरिएको थियो भने ४३५ वटा तयारी परिचय पत्र वितरण गरिएको थियो । फागुन महिनामा विवरण सङ्कलन घटेर १ हजार ८७ र वितरण ३०८ मा झरेको छ । यसैगरी, चैत महिनामा पुनः सुधार आउँदै १ हजार ७३८ जनाको व्यक्तिगत विवरण सङ्कलन र ३८८ वटा परिचय पत्र वितरण भएको थियो । वैशाख महिनामा आइपुग्दा १ हजार ३३४ जनाको विवरण सङ्कलन गरिएको छ भने २८१ जनाले आफ्नो तयारी राष्ट्रिय परिचय पत्र प्राप्त गरेका छन् ।
नुवाकोट प्रशासनले सो अवधिका चार महिनामा नागरिकका अति आवश्यक सेवाहरूलाई निरन्तरता दिँदै राजस्व परिचालनमा समेत उत्साहजनक उपलब्धि हासिल गरेको छ ।

प्रतिक्रिया