+
Search

ताजा अपडेट +

पपुलर +

हाकुपटासीमा पञ्चैबाजा

haku patasi newari dress panchebaja women team in Nuwakot Bidur
डबली खबर
१ साल अगाडी

२८ पुस, नुवाकोट । नेपालको मौलिक पञ्चैबाजा विदुर नगरपालिकाको वडा नम्बर २ का सफलता पञ्चैबाजा महिला समूहका महिलाहरुले पनि बजाउन सुरु गरेका छन् ।

पञ्चैबाजा महिला समूहका सदस्यहरुले नेवार समुदायको पराम्परागत पहिरहन हाकुपटासी लगाएर पञ्चैबाजा बजाएको हो । आधुनिक पहिरनको प्रभाव बढेसँगै महिलाहरुले परम्परागत हाकुपटासी (कालो फरिया) मा सजिएर पञ्चैबाजा बजाएका हुन् ।

लोपोन्मुख अवस्थामा रहेको पञ्चैबाजा संरक्षणमा वडाले चासो दिएको विदुर नपा-२ का वडा अध्यक्ष दिपक कायस्थले बताए । बाजा बजाउन आवश्यक सीप तथा तालिम र आवश्यक पोशाक समेत प्रदान गरिएको र आगामी दिनमा पनि वडाका अन्य बाजा संरक्षणका कार्यक्रम सञ्चालन गर्दै लगिने बताए । वडाको बजेटबाट पञ्चैबाजाका सामग्री उपलब्ध गराएको उनले जानकारी दिए । आवश्यक थप सामाग्री विदुर नगरपालिकाकाले उपलब्ध गराउने छ ।

‘पछिल्लो समय विदेशी कला, संस्कृति र रीतिरिवाजको नक्कलका कारण नेपाली कला संस्कृतिमाथि असर गरिरहेको छ’, वडाध्यक्ष कायस्थले भने, ‘हाम्रो कला संस्कृतिको संरक्षण र जगेर्ना गर्नु स्थानीय सरकारको दायित्व र कर्तव्य रहेकोले बाजा संरक्षणमा लागेका हौँ ।’

विवाह, व्रतबन्ध, चौरासी र विभिन्न सभा समारोहमा बाजा बजाउने जनशक्ति नपाएपछि आफैं सिकेर बजाउन थालेको समूहकी संयोजक तथा २ नम्बर वडाका सदस्य सुबु मिजारले बताईन् ।

यसैगरी विदुर नगरपालिका-३ का सिर्खाली महिला पञ्चैबाजा समुहले केही वर्षयता जिल्लामा आयोजना हुने कार्यक्रम, भेला तथा सम्मेलनमा समुहल महिलाले नै पञ्चेबाजा बाजाउँदै आईरहेका छन् ।

एकै पोशाकमा सजिएका महिलाहरुले पञ्चेबाजा बजाउन थालेपछि जिल्लामा आयोजना हुने प्रायः कार्यक्रममा बाजा बजाउनका लागि महिला पञ्चैबाजा समूहलाई नै बोलाउन थालिएको छ । जिल्लामा आउने पाहुनहरुको स्वागतमा पनि महिलाले नै बाजा बजाउँदै आएका छन् ।

शनिबार देवीघाटदेखि भैरवी मन्दिर परिसरमा भएको राष्ट्रिय एकता दिवस तथा ३०३औं पृथ्वी जयन्तीमा महिलाहरुले नै पञ्चैबाजा बजाएर बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको स्वागत तथा कार्यक्रममा रौनकता दिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ