+
Search

ताजा अपडेट +

पपुलर +

६४ जना कर्मचारीले पाए अवकाश

Nuwakot Staff Government Nepal
डबली खबर
१ साल अगाडी

नुवाकोट – विदुर र बेलकोटगढी नगरपालिका र १० गाउँपालिका रहेको पहाडी नुवाकोटमा ५० अतिरिक्त हुलाक कार्यालय रहेकोमा सरकारको निर्णय अनुसार ११ वटा अतिरिक्त र चारवटा इलाका हुलाक कार्यालय खारेजीमा परेका हुन्। यससँगै ६४ जना कर्मचारीले अवकाश पाएका छन्।

सरकारको निर्णयसँगै नुवाकोटका ११ वटा अतिरिक्त र चारवटा इलाका हुलाक खारेज भएका हुन्। स्थानीय तहस्तरमा कार्यालय राखिएको छ।

नुवाकोटका ५० अतिरिक्त हुलाक कार्यालयहरू रहेकोमा नियमअनुसार ५८ वर्ष उमेर पुगेका ६४ जना अनिवार्य अवकाशमा पुगेका हुन्। २० जनाले स्वेच्छिक अवकाश लिएका हुन्।

नेपाल सरकारले अतिरिक्त हुलाक (पाँचौं संशोधन) नियमावली २०८० कार्यान्वयनमा ल्याएसँगै ५० अतिरिक्त हुलाक कार्यालय खारेज भएका हुन्। यसअघि ५० अतिरिक्त हुलाकमार्फत सेवा दिने गरिएकामा नयाँ नियमावलीसँगै १२ स्थानीय तहमा एक÷एकवटा हुलाक कायम गरिएको जिल्ला हुलाक कार्यालयले जनाएको छ।

यससँगै विदुरमा जिल्ला हुलाक कार्यालय, ३९ वटा अतिरिक्त र १२ स्थानीय तहमा हुलाक कार्यालय कायम भएको कार्यालय प्रमुख गोपालप्रसाद अधिकारीले जानकारी दिए। देवीघाट, नुवाकोट, राउतवेशी र पोखरी चापडाँडाका इलाका हुलाक कार्यालय स्थानीय तहमा समायोजन भएसँगै स्वत खारेज भएका हुन्।

अतिरिक्त हुलाकमा रहेका कर्मचारी ५८ वर्ष पूरा भएपछि क्रमशः अवकाश हुँदै जाने र उक्त पद स्वतः खारेज हुने नीति सरकारले ल्याएसँगै अतिरिक्त हुलाकहरू खारेजीमा परेका हुन्। यस्ता हुलाकमा हुलाक प्रतिनिधि, डाँक वाहक र पत्र वितरक गरी तीन प्रकारका कर्मचारी हुन्छन्।

कार्यरत कर्मचारी ५८ वर्ष पुरा भएमा उनीहरूको पद स्वतः खारेज हुने नीतिअनुसार ६४ जना अनिवार्य अवकाशमा गएका हुन्। पहिले उमेर हद नहुँदा आफैं राजीनामा दिएमा, मृत्यु भएमा मात्र अवकाश हुने गरेकोमा नयाँ नियमावलीअनुसार ५८ वर्ष उमेर पार गरेपछि उनीहरू कार्यरत पद नै खारेज हुने नीति रहेको नुवाकोट हुलाक कार्यालयले जनाएको छ।

खारेज भएका अतिरिक्त हुलाक कार्यालयहरूमा कुमरी, रातमाटे, उर्लेनी, शिखरबेंसी, वर्सुनचेत, सानोकिम्ताङ, खोलेगाउँ, पञ्चकन्या, बेलकोट, खानीगाउँसहित ११ वटा रहेको कार्यालय प्रमुख गोपालप्रसाद अधिकारीले बताए। नयाँ नियमावली लागु हुनु भन्दा अगाडि पनि नुवाकोटका रातमाटे, शिखरबेंसी, सानो किम्ताङ, वर्सन्चेत, खोलेगाउँ, कुमरी र उर्लेनीमा रहेका अतिरिक्त हुलाक कार्यालय शून्य अवस्थामा रहेका थिए।

सरकारले स्थानीय तहमा हुलाक स्थापना गर्ने नीति ल्याएपछि हुलाकको सेवा विस्तार भएको छ। अतिरिक्त हुलाकमा कार्यरत पत्र वितरकले चिट्टी पत्र बुझाउने, डाँक वाहकले हुलाक डाँक बोक्ने र हुलाक प्रतिनिधिले कार्यालय खोलेर टिकट बिक्री गर्ने, चिट्टी रजिष्ट्री गर्ने कार्य गर्दथे।
नुवाकोटमा ११ अतिरिक्त र चार इलाका गरि १५ वटा हुलाक खारेज भएका हुन्। अनिवार्य अवकाशमा पुगेका, लामो समय सेवा गरेका १२ जना कर्मचारीले सेवा छाड्दा सतप्रतिशत सुविधा पाएका छन्।

नियमावली जारी भई कार्यान्वयनमा आएपछि नुवाकोटमा अतिरिक्त हुलाकमा कार्यरत ६४ जनाले अनिवार्य अवकाश पाइसकेका छन्। नुवाकोटका विभिन्न स्थानमा हाल ३९ वटा अतिरिक्त हुलाक कार्यालय बाँकी छन्। ‘त्यहाँँ कार्यरत कर्मचारी ५८ वर्ष पूरा भएपछि स्वत अवकाशमा जानेछन्। तर, सोही पदमा नयाँ पदपूर्ति नहुने भएपछि क्रमशः कार्यालयहरू खारेज हुँदै जानेछन्’, कार्यालय प्रमुख गोपाल अधिकारीले भने।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ