+
Search

ताजा अपडेट +

पपुलर +

विदुरमा डेंगीबाट बच्न ‘लामखुट्टेको बासस्थान खोज र लार्भा नष्ट’ अभियान

dengue program bidur municipality nuwakot
डबली खबर
२ साल अगाडी

नुवाकोट – लामखुट्टेको टोकाइबाट हुने डेंगीबाट बच्न विदुर नगरपालिकाले ‘लामखुट्टेको बासस्थान खोज र लार्भा नष्ट’ अभियान सुरु गरेको छ।

मंगलबारदेखि सदरमुकाम विदुरका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान सुरु गरिएको हो।

जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरी, नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, प्रहरी प्रमुख रमेश पण्डितलगायत जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्थानीयबासी अभियानमा सहभागी भएका थिए।

नगर कार्यपालिकाको कार्यालयदेखि लोकतान्त्रिक चौतारासम्म गरिएको पहिलो दिनको अभियानलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले अभियानलाई निरन्तरता दिने जनाउँदै सबै स्वास्थ्यका सवालमा नागरिक सचेत बन्नुपर्ने बताए।

पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन निरन्तर सरसफाइको लागि जनचेतनामूलक अभियान अगाडि बढाइएको उनले जानकारी दिए।

विशेष गरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका ट्याङ्की आदिमा यो लामखुट्टेले फूल पार्छ। विशेष गरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण फैलिने गर्छ।

उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेंगीका लक्षण हुन्। जटिल प्रकृतिको डेंगीको सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट र खुट्टा सुनिनेस्ता लक्षण देखा पर्छन्।

सतर्कता अपनाउन आग्रह

नुवाकोटकै विदुर नगरपालिकाले लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोगको सङ्क्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै सबै नगरबासीमा सतर्कता अपनाउन आग्रह गरेको छ । नगरपालिकाले लामखुट्टेको बासस्थान तथा लार्भा खोजी गरी नष्ट गर्ने अभियानमा सहभागी हुन सबै टोलबासीमा अनुरोध गरेको छ ।

विदुर नगरपालिकाले लामखुट्टेको बासस्थान र लार्भा खोजी गरी नष्ट गर्ने अभियान सुरू गरेको जानकारी दिँदै जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले एडिज जातको लामखुट्टे सफा पानीमा बस्ने, त्यहीँ फुल पार्ने र लार्भा वृद्धि गर्ने भएकाले घरवरपर रहेका टिनका डब्बा, थोत्रा टायर, गमला, फुलदानीलगायतमा पानी जम्न नदिन आग्रह गरेका छन्। उनले १३ वटै वडाका स्वास्थ्यकर्मी, सामुदायिक महिला स्वास्थ्यसेविका एवं टोल विकास समितिका अध्यक्षहरुलाई डेंगी रोगबारे सचेतना फैलाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ