नुवाकोट – स्थानीय स्तरमा स्थापना गरिएका क्वारेन्टाइन र आइसोलेशन केन्द्रलाई गुणस्तरिय, भरपर्दो र विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुकुल बनाउन, क्षमता वृद्धिका साथै नियमित सुधारको लागि नागरिक समाज नुवाकोटले १२ वटै स्थानीय तहलाई २० बुँदे डिजिटल ध्यानाकर्षण पत्र बुझाएको छ ।
लकडाउनको पूर्ण पालना गर्दै शुक्रबार समाजले दुइ नगरपालिका र १० गाउँपालिकालाई इमेल मार्फत् नै ध्यानाकर्षण बुझाईएको उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डितले जानकारी दिए ।
जिल्लास्थित रहेका विभिन्न संघसंस्थाहरुका प्रतिनिधीहरुको समन्वय भएको भर्चुअल बैठकबाट नागरिक समाजले उक्त निर्णय गरी सबै स्थानीय तहमा पत्र बुझाएको सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक दिपेश घिमिरेले जानकारी दिए ।
कोरोना भाइरसको विश्वव्यापी महामारीको नियन्त्रण तथा प्रतिकार्यको लागि स्थानीय तहहरुबाट भईरहेको अवस्थामा स्थानीय स्रोत र साधनको प्रयोग गर्दै आवको बजेट तर्जुमा गर्दा वर्तमान परिस्थितिको आँकलन गरी कृषि, स्वास्थ्य, शिक्षा र विपद् व्यवस्थापनलाई उच्च प्राथमिकताका दिन पत्रमा उल्लेख गरेको छ ।
कोरोनाभाईरसको विरुद्धको अभियानमा नागरिक समाज एवं निजि क्षेत्रको संलग्नता बढाउनको लागि वातावरण सिर्जना गर्न भनिएको छ ।
लकडाउनका कारण गरीब, श्रमिक, विपन्न वर्गका समुदायको नैसर्गिक र मानवअधिकार हनन हुने हुनाले स्थानीय तहले त्यस्ता लक्षित वर्गलाई समेट्नको लागि विशेष प्याकेज सहितको कार्यक्रम ल्याउनु पर्ने उल्लेख गरेको छ ।
लकडाउनका कारण उत्पादनका सबै क्षेत्रहरु ठप्प छन् । जिल्लाको आर्थिकस्थितिलाई मध्यनजर गर्दै उत्पादनका क्षेत्रलाई अनुकुल वातावरण मिलाउन स्थानीय सरकारले पहल गर्न भनिएको छ । यस विषम परिस्थितिमा सम्भावित कालोबजारी पनि तदारुकताकासाथ नियमित वजार अनुगमन त् बजार सुव्यवस्थित गर्नुपर्ने अनुरोध गरेको छ ।
स्थानिय तहहरुले लक्षितवर्ग दलित, महिला, बालबालिका, जनजाति,अपांगता भएका व्यक्तिहरुका लागि निश्चित प्रतिशत बजेट विनियोजनका लागि साझेदारी मञ्च मार्फत निर्णय भइसकेको हुदाँ उक्त निर्णयलाई कार्यान्वयनको लागि नागरिक समाजले माग गरेको छ।