असोज २१, नुवाकोट । पञ्चकन्या गाउँपालिका–३, लाकुरी भञ्ज्याङमा मातृ तथा बाल स्वास्थ्य, महिनावारी स्वच्छता व्यवस्थापन र खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी पालिकास्तरीय नीति संवाद कार्यक्रम भएको छ।
रूडेक नेपालको आयोजनामा भएको कार्यक्रममा पञ्चकन्या गाउँपालिकाको समन्वय र गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग रहेको थियो ।
गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिमला केसी, प्रमुख प्रशासकीय अधिकृत हिराधन राईसहित विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यार्थी तथा स्वास्थ्य चौकीका प्रमुखहरूको समेत सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीबीच मातृ तथा बाल स्वास्थ्य, महिनावारी स्वच्छता व्यवस्थापन तथा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी विषयमा छलफल भएको थियो।
कार्यक्रममा स्वास्थ्य, सरसफाइ तथा महिनावारी स्वच्छताको क्षेत्रमा स्थानीय तह, विद्यालय र समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो। यस्ता विषयलाई स्थानीय नीति तथा कार्यक्रमसँग जोड्दै सेवा र जनचेतनालाई थप प्रभावकारी बनाउनुपर्नेमा सहभागीहरूले धारणा राखेका थिए।
कार्यक्रममा रुडेक नेपालकी शर्मिला पण्डितले मातृ तथा बाल स्वास्थ्य, महिनावारी स्वच्छता व्यवस्थापन र खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी विभिन्न विषयमा प्रस्तुति राखेका थिए।