+
Search

ताजा अपडेट +

पपुलर +

प्रहरीमा फेसबुक र मेसेन्जर दुरुपयोगका ७ हजार १२३ उजुरी दर्ता

डबली खबर
२३ मिनेट अगाडी

साउन २९, नुवाकोट । नेपाल प्रहरीको साइबर ब्यूरोले प्रविधिको दुरुपयोग गरी हुने चरित्र हत्या, बैंकिङ ठगी तथा अनलाइन स्क्यामिङ जस्ता विद्युतीय अपराध नियन्त्रणमा आफ्नो सक्रियता बढाएको छ।

सीमित स्रोत-साधनका बाबजुद ब्यूरोले प्रविधिको प्रयोग गर्दै फेसबुक, टिकटक, टेलिग्राम र इसेवा जस्ता प्लेटफर्ममार्फत ठगी र अनधिकृत पहुँच पुर्‍याउने अभियुक्तहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याइरहेको छ।

ब्यूरोका अनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा मात्रै साइबर अपराध सम्बन्धी २० हजार ५ सय २६ वटा निवेदन प्रहरीमा दर्ता भएका छन्।

यस अवधिमा १ सय ६१ वटा मुद्दा दर्ता हुनुका साथै १ सय ५५ जना पक्राउ परेका छन्। उजुरीहरूमा सबैभन्दा बढी फेसबुक र मेसेन्जर दुरुपयोगका ७ हजार १२३ र टिकटकका ६ हजार ७७६ रहेका छन्।

पछिल्लो समय डिजिटल वालेट, नक्कली चिठी/पार्सल, अनलाइन रोजगारी, र सामाजिक सञ्जालमा प्रेमको नाटक गरी रकम कुम्ल्याउने प्रवृत्ति ह्वात्तै बढेको छ।

प्रविधिको तीव्र विकाससँगै अनुसन्धान जटिल बन्दै गएपछि सरकारले २०७५ जेठ २७ गते साइबर ब्यूरोको स्थापना गरेको हो। ब्यूरोले प्रहरी कर्मचारीको क्षमता अभिवृद्धि गर्नुका साथै नागरिक सचेतना फैलाउँदै अपराध रोकथाम र अनुसन्धानमा जोड दिँदै आएको छ।

साइबर अपराधमा संलग्नहरूलाई मुख्य रूपमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइने गरिएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ