+
Search

ताजा अपडेट +

पपुलर +

पञ्चकन्याकै उत्कृष्ट इन्द्रायणी मावि

Indrayani Secondary School Nuwakot
डबली खबर
२१ घण्टा अगाडी

साउन २२, नुवाकोट । पञ्चकन्या गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को विद्यालय सामाजिक परीक्षणको प्राप्ताङ्क विवरण सार्वजनिक गरेको छ।

गाउँ कार्यपालिकाको कार्यालयद्वारा जारी गरिएको विवरण अनुसार पालिकाभित्र सञ्चालित २७ वटा सार्वजनिक विद्यालयहरूको शैक्षिक तथा प्रशासनिक पारदर्शिता, समुदायको सहभागिता र समग्र व्यवस्थापकीय पक्षको मूल्याङ्कन गरी यो प्राप्ताङ्क सार्वजनिक गरिएको हो।

विद्यालयकै सामाजिक परीक्षण समितिले तयार पारेको परीक्षण प्रतिवेदनका आधारमा प्राप्ताङ्क तालिका तयार पारिएको गाउँपालिकाकाले जनाएको छ ।

सार्वजनिक नतिजाअनुसार इन्द्रायणी माध्यमिक विद्यालयले ९९ अङ्क प्राप्त गर्दै पालिकाभरिकै उत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ।

त्यसैगरी नवसन्जीवनी माध्यमिक विद्यालय ८६.५ अङ्क ल्याएर दोस्रो र पञ्चकन्या माध्यमिक विद्यालय ८५.५ अङ्कका साथ तेस्रो स्थानमा रहेका छन्।

यसैगरी राष्ट्रिय माध्यमिक विद्यालयले ८५ अङ्क र कुण्डला माध्यमिक विद्यालयले ८० अङ्क प्राप्त गरी सन्तोषजनक नतिजा निकालेका छन्।

पालिकाभित्रका अधिकांश माध्यमिक विद्यालयहरूले प्राप्ताङ्कमा राम्रो प्रदर्शन गरे तापनि समग्रमा केही आधारभूत विद्यालयहरूको स्थिति भने निकै कमजोर देखिएको छ।

विवरण अनुसार नवज्योति आधारभूत विद्यालयले सबैभन्दा कम अर्थात् २९.५ अङ्क मात्र प्राप्त गरेको छ । जसले उक्त विद्यालयको सामाजिक परीक्षण र व्यवस्थापकीय पक्षमा थप सुधारको खाँचो रहेको देखाउँछ।

त्यस्तै नवविहानी बालविकास केन्द्रले ४२ अङ्क, भुमेस्थान आधारभूत विद्यालयले ५३ अङ्क र सुन्दर कन्या आधारभूत विद्यालयले ५४ अङ्क प्राप्त गरेका छन्।

अन्य विद्यालयहरू बच्छला मा.वि.ले ७६ अङ्क, मंगलादेवी मा.वि.ले ७४ अङ्क, र रामशरण देवी आ.वि.ले ६६.३ अङ्क हात पारेका छन्।

विद्यालयहरूमा पारदर्शिता प्रवर्द्धन गर्ने र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले गरिएको यस सामाजिक परीक्षणले स्थानीय तहमा शिक्षाको वास्तविक अवस्था उजागर गर्न मद्दत पुर्याउने विश्वास लिइएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ